भद्रकाली–भैरवनाथ रथ जुधाइको अन्तर्य

भद्रकाली–भैरवनाथ रथ जुधाइको अन्तर्य

बर्सेनि झैं यसपालि पनि वसन्त बहार बोकी भक्तपुरेका घरदैलोमा एकपटक फेरि बिस्केट जात्राले यात्रा हाँकेको छ। जात्रा र यात्रा एकै अर्थ बोध गर्ने शब्दका दुई उच्चारण हुन् भन्न मन लाग्छ। संंस्कृतका यात्रा शब्द नेपाली र त्यस्तै अर्का भाषासम्म टहल्दै आउँदा जात्रा हुन पुगेछ। त्यसैले बिस्केट जात्रा बर्सेनि फेर्दै बदल्दै आउने यात्राकै एउटा निरन्तर क्रम बनेको छ।

बिस्केट जात्राका अनेक आयाम छन्। यसका आख्यान छन्, उपाख्यान छन्। बिस्केटका अनेक पक्ष छन्। कुनै पक्षले पौराणिक भए अर्कोले तान्त्रिक पक्षलाई बोकेका छन्। कतिपय मिथक मिथ्या झैं लागेर पनि अर्थपूर्ण छन्। कति त सरल भनिएर पनि सहज बन्दैनन्। कति सहज देखिएर पनि असहज भेटिन्छन्। बिस्केट जात्रा बर्सेनि ओहोरदोहोर गर्ने भएर पनि निश्चल यथास्थितिपूर्ण देखिन्छ।

जेहोस्, बिस्केट बिस्केटै हो। चैत्र मसान्तमा ठड्याइने लिंगो जात्राको चार दिनअगावै भैरव–भद्रकाली प्रतिमाहरू आआफ्ना रथमा राखेर तानिन्छन्। एक प्रकारको मौसमी गीतका धुन गुञ्जिन्छ।

‘थथेनेगु रसरंग गबले दइव, राम... हँ।’ अर्थात्
‘यस प्रकारको रसरंग कहिले पाइँदो हो, राम... हँ।’

वासन्ती धुनमा गुञ्जिने यस लयलाई धातू राग भनिन्छ। धातुले निरन्तरता बोधक आलस्यका राग अलाप्छ। सांकेतिक छ पनि निरन्तरतासितको आलस्यपूर्ण आलाप बिस्केटको मौसमी धुन बन्छ। सबै आलस्य छाएकै हुन्छ। तथापि सबैमा अविरण वसन्त बोधका अनुभूति छाड्नु बिस्केटको आफ्नै स्वभाव बन्छ।

चैत्र मसान्तमा लिंगो ठड्याइन्छ। वैशाख संक्रान्तिको साँझ लिंगो ढालिन्छ। मानो ठड्याउनु र ढालिनु नै लिंगो महोत्सवको बिस्केटजात्रा बने जस्तो लाग्छ।
वैशाख संक्रान्ति। साँझ लिंगो ढालिन्छ ढ्याम्मै। लिंगो जात्रा भैरव र भद्रकाली दुवैले अवलोकन गरेकै हुन्छ। लिंगो ढालिन्छ। लगत्तै रसिकहरू भैरव र भद्रकालीको रथ तान्न थाल्छन्। बीचबीचमा मगन मस्त रसिकहरू उही आलाप राग मच्चाउँछन्... राम... हँ... !
भैरव र भद्रकाली रथ जब गाःहिती टोलमा पुर्‍याइन्छ। झमक्क अँध्यारो परिसकेको हुन्छ। रसिकहरू घरघर पुग्छन्। मगनमस्त भोज–भटेर खान्छन्। मानौं, मीठो भोजन र मस्त पिवन एक झर्को जीवन हो। भनौं खाई सार कि लगाई सार ! चाड पर्व अपरम्पार !

भोजन पछि। फेरि पनि रसिकहरू गाःहिती टोल पुुग्छन्। रथ तान्ने रहर गर्छन्। भैरवको रथ बरालेमा अड्याइराखेको हुन्छ। बेताल भैरव उँभो मुख पारी उत्तानो परेको हुन्छ। रथको अवस्थितिले यिनै विम्बबोध 
गराएको हुन्छ। गाःहिती टोल झन्दै अर्ध आकारको बटुको जस्तै रहेको छ।
बरालो मुनितिर उत्तानो परेको भैरव रथमाथि भद्रकालीको रथ गर्रर् गुड्दै अभिसार भर्छिन्। भद्रकाली रथले भैरव रथमाथि एवं प्रकारले तीन पटकसम्म ड्याम्म अभिसार भर्छन्। यो प्रक्रियागत कार्यक्रमलाई भक्तपुरवासी समाज ‘खःल्वाकेगु’ अर्थात् रथ जुधाउने भन्ने गर्छन्।

प्रक्रियागत रूपमा यसरी रथ जुधाउने रीतिलाई बिस्केट जात्राको एक प्रमुख अंग वा पक्षको रूपमा लिइन्छ। जात्राभित्रको प्रतीक र विम्बात्मक अभिसारको अर्थ बोध होस् नहोस्। जात्रामय बिस्केट परम्परागत रिवाज भने पक्कै बनेको छ।
अर्थ खुलाउन सके रीतिरिवाज पूर्ण जात्राको मर्म पनि खुल्न थाल्छ। यसको लागि सांस्कृतिक सचेतनाको क्षितिज भने खुल्नुपर्ने हुन्छ। जात्राभित्रका रिवाजले इंगित गरिरहेका संगममय अर्थ बिन्यास खुलेको चाड 
झन् प्रिय र गेय बन्छ।

सबैले मान्ने चेष्टा गरुन् नगरुन् त्यो अर्कै सन्दर्भ बन्छ। परन्तु, भद्रकालीको रथले भैरव रथमाथि ड्याम्मै अभिसारपूर्ण जुझाइ र ठोकाइ क्रियाले वसन्त बहारको संगमकै गायन भरिरहेको हुन्छ। यस अभिसारले जीवन, जोवन र संगमको ऋचा गायन गरेकै हुन्छ।

भद्रकाली र भैरवआपसमा स्पर्श गर्छन्। मस्किन्छन् तिनीहरू। आलिंगन गर्छन्। मचिन्छन् दुवै। मानौं यतिञ्जेल भद्रकाली मदोन्मत्त छिन्। भद्रकाली उन्म(ादित भएर भैरवमाथि बुइँ चढ्न पुग्छिन्। मानौं, बिस्केटको यावत् महिमा वसन्त बहारबाट स्वयं स्फुर्त हुने चरित्र मोहमाथि आधारित छ।
कति रोेमाञ्चकारी लाग्छ यो रथ जुधाइको दृश्य। कति स्वाभाविक लाग्छ, यो भद्रकालीले शिवलिंगको जलहरी रूप धारण गरेको मूर्त कथाका स्पष्ट आख्यान खुलेको। जलहरी बीचबाट ठिंग उठेको शिवलिंगको तादात्म्य यस्तै रथ जुधाइ क्रियाको सम्मोहक चित्रमय विम्ब बन्छ।

इमान नै धर्म र धर्म नै इमान बनून् ! एक फेरा छातीमा हात हालेर भनौं, कसले मात्र यो धर्म भाकेको नहोस्। कुन आत्माले मात्र त्यो चर्तिकला व्यहोरेको नहोस्। यो त स्त्री–पुरुषबीचको शाश्वत धर्म संगम रहेको छ। यो त धु्रवीय लिंगो बसका नांगो सत्य हो। यो त छोपिएको यथार्थको अव्यक्त कथाको 
पारदर्शी पहिचान हो।

अब भन्नुस् तपाईं नै कि कति रसमय लाग्छ यो बिस्केटको भद्रकालीद्वारा अभिसार गरिने रथ जुधाउने मध्यरातको क्रियाजन्य संस्कार। त्यसैले भन्न मन लाग्छ भद्रकाली र भैरव रथ जुधाइ युद्धजनक जुधाइ होइन। न त यी रथ जुधाइका मूर्त दृश्य मात्र दुई रथ बीचका ढ्याक ढ्याकमै सीमित छ। यो त जीवनका वास्तविक पहलुसित सटेको छ।
छातीमा हात हालेर भन्नु पर्दा मलाई भने यस्तै भन्न मन लाग्छ। प्रत्येक वसन्त बहारमा भद्रकाली रथले भैरव रथमाथि ढ्याक ढ्याक गरिरहन्छ र गरिनै रहनेछ। भैरवभद्रकाली रथ जुधाइ केबल प्रतीकात्मक स्वरूप ! अन्तर्य यसको जीवन्त कथासार मानव जीवनका पारिवारिक, सामाजिक, सांस्कृतिक पहल र पक्षधर मर्म बोक्छ।

अन्तर मनका चिन्तनले यथार्थ बोध गराउँछ। कुनै पनि जात्रा महोत्सव र पर्वले अनेक अमूर्त पक्षलाई मूर्तमान पार्न सघाइरहन्छ। मात्र जिज्ञासा उर्लिरहनु पर्दो हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.