वीरगन्जका मेयर सरावगीले गाडी फिर्ता गरे
वीरगन्ज : समाजिक सञ्जालबाट चर्को दबाब परेपछि वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । महानगरपालिकाले खरिद गरेको ना १ ख झ १६६८ नम्बरको पजेरो गाडी , मेयर सरावगीले बुधबार फिर्ता गरेका हुन् ।
सरावगीले बुधबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेलाइ गाडीको साँचो बुझाउँदै गा डी महानगरपालिकालाइ फिर्ता गरेका हुन् । सामाजिक सञ्जालमार्फत गार्डी फिर्ता गर्न चर्को दबाब परेपछि आफूले महानगरपालिकाको सम्पति फिर्ता गरि दिएको मेयर सरावगीले बताए ।
सामाजिक सञ्जालको दबाब अनि त्योसँगै चुनावमा सरकारी गाडीको दुरुपयोग नहोस् भनेर आफूले गाडी फिर्ता गरिदिएको उनले बताए । मेयरमा निर्वाचित भएलगत्तै आफूले महानगरपालिकाबाट कुनै सेवा सुविधा नलिने घोषणा गरेका सरावगीले गरेका थिए ।
तर उक्त घोषणाको एक वर्ष नबित्दै सुरक्षाका कारण भन्दै १ करोड ४४ लाख रुपैयाँमा पजेरो गाडी महानगरपालिकाको बजेटबाट खरिद गरी सरावगीले प्रयोग गर्दै आएका थिए । योसँगै पर्सामा अहिलेसम्म ३ जना पालिका प्रमुखले सरकारी गाडी फिर्ता गरेका छन् ।
मङगलबार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पनि आफूले प्रयोग गर्दै आएको बा २ झ ४२४४ नम्बरको हायलक्स गाडी गाउँपालिकाकालाइ फिर्ता गरेका थिए । त्यसअघि गत सोमबार बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले पनि आफूले प्रयोग गर्दै आएको ना १ झ १६६१ नम्बरको स्कार्पियो गाडी पालिकालाइ फिर्ता थिए ।
१४ वटा पालिका रहेको पर्साका १३ वटा पालिकाका प्रमुखले आफ्नो प्रयोगका लागि पालिकाको बजेटमा चार पाङग्रे गाडी खरिद गरेका थिए । ठोरी गाँउपालिकाका अध्यक्ष पदमललाल श्रेष्ठ मात्रै आफ्नो प्रयोगका लागि पालिकाका तर्फबाट गाडी खरिद नगर्ने पालिका प्रमुख हुन् ।
अब जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी सम्बन्धित पालिकालाइ फिर्ता गर्न बाँकी रहेको छ।