नारायण नगरमा एमालेबाट उम्मेदवारी दर्ता
दैलेख : नारायण नगरपालिका दैलेखको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला सदरमुकामसमेत रहेको नगरमा एमालेबाट मेयरमा लोमन शर्मा र उपमेयरमा तप्ता कुमारी थापाको उम्मेदवारी दर्ता भएको हो। सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरिएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए।
मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका शर्मा र थापा नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुन्। सोमबार नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्मालगायतका नेता तथा कार्यकर्ताहरुसमेत उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।
उम्मेदवारी दर्तासँगै एमालेका मेयरका उम्मेदवार लोमन शर्माले समृद्ध नगरका लागि विभिन्न एजेण्डासहित चुनावी अभियानमा होमिएको बताए। उनले नगरबासीलाई नि:शुल्क खानेपानी तथा बिजुली बत्ती दिने मुख्य प्राथमिकतामा राखेका छन्।
नारायण नगरपालिका–१ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका मनोज कुमार थापाले विकासलाई व्यवस्थित गर्ने आफ्नो प्रमुख एजेण्डा भएको बताए। ‘विकास त स्वभाविक प्रक्रिया भएकाले विकासका गतिविधि सञ्चालन भईरहेको छ,’ उनले भने अब व्यवस्थापनको खाँचो छ।’
प्रतिक्रिया दिनुहोस !