धनकुटाका सातै स्थानीय तहमा गठबन्धन र एमालेको उम्मेदवारी
धनकुटा : आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धन र एमालेबाट अधिकांश पुरानै अनुहारका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेकातर्फबाट धनकुटा नगरपालिकाको मेयरमा पुनः चिन्तन तामाङले उम्मेदवारी दर्ता गराएका छन्। भने उपमेयरमा एमालेको तर्फबाट भीमा खनाल उम्मेदवार छिन्। सत्ता गठवन्धनबाट नेपाली कांग्रेसका दिनेश राई आठपहरियाले मेयरमा र माओवादी केन्द्रका गणेश विष्टले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका चिन्तन तामाङ धनकुटा नगरपालिकाका निवर्तमान मेयर हुन्। त्यस्तै नेपाली कांग्रेस धनकुटाका सभापति समेत रहेका दिनेश राई आठपहरिया २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरका प्रतिस्पर्धी थिए।
चिन्तन तामाङ र दिनेश राई आठपहरियाको चुनावी भीडन्तलाई हेभिवेटको रुपमा हेरिएको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसका राई आठपहरिया एमालेका तामाङसँग १ सय १४ मतको झिनो अन्तरले पराजित भएका थिए। गठबन्धनको तर्फबाट उमेयरका उम्मेदवार गणेश विष्ट अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार थिए।
धनकुटा नगरपालिकामा जनता समाजवादी पार्टीले गोपाल लिम्बूले प्रमुखमा र सारकुमारी राईले उपप्रमुखमा उम्मेदवारी दिएका छन्। राप्रपाबाट सुमिना तामाङले प्रमुखमा, राप्रपा नेपालबाट उपप्रमुखमा सुदिप सिजालीले उम्मेदवारी दिएका छन्। यस्तै नगरपालिकामा स्वतन्त्रबाट सुन्दरबाबु श्रेष्ठले प्रमुखमा र सिताराम श्रेष्ठले उपप्रमुखमा उम्मेदवारी दिएका छन्।
नेकपा एमाले र सत्ता वन्धनले छुट्टाछुट्टै समयमा आआफ्ना समर्थकसहित धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका थिए।
सहिदभूमि गाउँपालिकाको अध्यक्षमा सत्ता गठवन्धनको तर्फबाट माओवादी केन्द्रका भरतसिंह राई र उपाध्यक्षमा नेपाली कांग्रेसका तोर्णबहादुर खड्काले उम्मेदवारी दिएका छन्। सत्तागठबन्धनकै एकिकृत समाजवादीका जेवी राईले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेको तर्फबाट निवर्तमान पालिका अध्यक्ष मनोज राई र उपाध्यक्ष रत्नश्वरी राईले पूनः उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धनबाट चौविसे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट दलवहादुर मगर र उपाध्यक्षमा जसपावाट दिवा चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै नेकपा एमालेबाट अध्यक्षमा राजकुमार चेम्जोङ र उपाध्यक्षमा टंकमाया मगर उम्मेदवार वनेका छन्।
महालक्ष्मी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा दिपक बुढाथोकी र उपमेयरमा निवर्तमान उपमेयर मञ्जुकुमारी अधिकारी कार्कीले उम्मेदवारी दिएका छन्। यता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धुव्र रायाले मेयर र उपमेयरमा नेकपा माओवादीका प्रेम खड्काले उम्मेदवारी दिएका छन्। गठबन्धनकै एकिकृत समाजवादीका जिल्ला सचिव खगेन्द्र सुवेदीले पनि उपमेयरमा उम्मेदवारी दिएका छन्। गठबन्धनकै सहमतिमा आफूले उम्मेदवारी दिएको सुवेदीले दावी गरे।
यता पाख्रिवास नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेसका ज्ञानबहादुर गुरुङ र उपप्रमुखमा माओवादीका ओमप्रकाश निरौलाले उम्मेदवारी दिएका छन्। भने एमालेले भीम राईलाई प्रमुखमा र नम्रता देउजाले उमप्रमुखमा उम्मेदवार बनाएको छ। गठबन्धनमा कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका गोपाल बराईलीले नगरप्रमुखमा तथा सावित्रा घिमिरेले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्।
छथर जोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका छत्र सुब्बा र उपाध्यक्षमा माओवादीकी गीता गुरुङ खेवाले उम्मेदवारी दिएका छन् भने एमालेले निवर्तमान अध्यक्ष शेर बहादुर लिम्बूलाई अध्यक्षमा र गोमा कार्कीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।
साँगुरीगढी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका जितेन्द्र रुम्दाली राई र उपाध्यक्षमा जनता समाजवादी पार्टीले लिलाराज लावतीलाई उपाध्यक्षमा उम्मेदवारी दिएका छन भने एमालेले निवर्तमान अध्यक्ष कुमारजंग याखालाई अध्यक्षमा र उपाध्यक्षमा मुना राईलाई उम्मेदवार बनाएको छ। राप्रपाबाट नगेन्द्र राईले मनोनयन दर्ता गराएका छन्।
प्रतिक्रिया दिनुहोस !