गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी उडान

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अप्रेसन फ्लाइट (परीक्षण उडान) भएको छ। यो परीक्षण उडान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडीमार्फत गरिएको हो। मुलुकमा यो काठमाडौंपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो।

नयाँ वर्षका दिन वैशाख १ गते परीक्षण उडान हुने भनिए पनि स्थगित गरिएको थियो। अघिल्लो हप्तादेखि आन्तरिक उडानहरू नयाँ धावनमार्गबाट भइरहेका छन्। परीक्षण उडानको विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलगायतको टोली भैरहवा आएको थियो। परीक्षण उडानका यात्रुलाई यस क्षेत्रका उद्योगी, व्यवसायी, पर्यटक व्यवसायी, स्थानीय तथा विभिन्न एयरलाइन्सका प्रतिनिधिले स्वागत गरेका थिए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले झन्डै ७४ वर्षपछि मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए। उनले भने, ‘सबैको अथक प्रयासपछि हामीले सफल परीक्षण उडान गरेका छौं।’ उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न मन्त्रालयले अब बाँकी कामलाई तीव्रता दिने बताए।

यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि पहिलोपटक कुबेतको जजिरा एयरलायन्सले अनुमति पाएको छ। जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुबेतबाट गौतम बुद्ध विमानस्थलमा उडान भर्ने गरी अनुमति लिएको हो। उसले हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ। यहाँबाट नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर र ओमन एयरले पनि उडान भर्ने भनेर चासो देखाएका छन्। 

गौतम बुद्ध विमानस्थलबाट उडान भर्न सरकारले हवाई कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ। विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन्। यद्यपि व्यावसायिक उडानका लागि औपचारिक पत्र भने जजिराबाहेक अन्यले पठाएका छैनन् । यो विमानस्थल २४सैं घण्टा सञ्चालनमा ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए। 
‘आज सिंगो मुलुक खुसी छ’, उनले भने, ‘हामीले जेठ २ मा व्यावसायिक उडान सुरु भएपछि चौबीसै घण्टा यसलाई सञ्चालनमा ल्याउँछौं ।’ तर, विमानस्थलमा केही भौतिक संरचना बनाउन बाँकी रहेकाले फुलफेजमा सञ्चालनमा आउन भने अझै पाँच वर्ष जति लाग्ने अधिकारीले बताए।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

गौतम बुद्ध विमानस्थले बौद्धमार्गी पर्यटकलाई आकर्षित गर्ने बताउँदै अधिकारीले लुम्बिनी क्षेत्र र सिंगो मुलुकको पर्यटन व्यवसायलाई टेवा पुग्ने बताए। कोरोना महामारीका कारण विमानस्थल सञ्चालनमा आउन भने दुई वर्ष ढिलाइ भएको उनको भनाइ छ। यसअघि नेपालकै एक ठाउँबाट अर्को ठाउँमा अहिलेसम्म ठूला जहाज उडान/अवतरण गरिएको थिएन। काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत् रूपमा सञ्चालनमा आइसकेपछि पहिलोपल्ट बिहीबार ठूलो जहाज अवतरण गरिएको हो। अब व्यावसायिक उडान सुरुपछि गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान/अवतरण गर्नेछन्।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ। यो विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अन्य मुलुक अवतरणका लागि लैजानुपर्ने बाध्यतासमेत हटेको छ। ‘विगतमा विविध कारणले काठमाडौं अवतरण हुन नसकेका जहाज भारत, बंगलादेशलगायतका मुलुकमा लगेर अवतरण गर्नुपथ्र्यो, अब भने यो समस्या हटेको छ’, प्राधिकरणका महानिर्देशक अधिकारीले भने। विमानस्थलमा जोडिएको उपकरणका कारण काठमाडौंमा भिजिविलिटी कम हुँदा अवतरण हुन नसक्ने जहाज पनि यहाँ अवतरण हुन सक्नेछन्। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ मा निर्माण सुरु भएको विमानस्थलको काम बीचमा विभिन्न समस्याका कारण धकेलिँदै आएको थियो।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने अधिकारीले बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ। 

अहिले पहिलाको १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गलाई ट्याक्सी–वे (विमान पार्किङस्थल) को रूपमा प्रयोगमा ल्याइएको छ। नयाँ सञ्चालनमा आएको धावनमार्ग ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.