घरबाटै लागूऔषध कारोबारी पक्राउ
राजविराज : घरमै भण्डारण गरी लागूऔषध बिक्री गर्दै आएका एक युवालाई शुक्रबार प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी बोदेबर्साइन नगरपालिका–९ देउरीस्थित घरबाट लागूऔषधसहित पक्राउ परेका १९ वर्षीय शंकर यादवलाई सार्वजनिक गरेको छ।
यादवले घरबाट लागूऔषध बिक्री वितरण गर्दै आएको सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय कडरबोना र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले लागूऔषधसहित उनलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार यादवको घरबाट १ हजार २५० ट्याब्लेट नाइट्रोभेट–१० तथा ७५०/७५० एम्पुल डाइजेपाम, फेनारगन र नुफिन बरामद गरिएकोे डीएसपी माधवप्रसाद काफ्लेले बताए।
लागूऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार लागूऔषध दुव्र्यसनीलाई दुई महिनासम्म कैद र दुई हजारसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ। दुव्र्यसनीबाहेक अन्य निषेधित कार्य गर्नेलाई २ वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि २० लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको एसपी अविनारायण काफ्लेले बताए।
आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई ६ महिनादेखि ५ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना हुनेछ। घर, जग्गा वा सवारीधनीले नै अपराध गरेकोमा वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर, जग्गा वा सवारीसमेत जफत हुन सक्ने व्यवस्था छ।
यसैबीच सप्तरी प्रहरीले आर्थिक वर्ष २०७८÷०७९ को हालसम्ममा लागूऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी ९१ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा दर्ता भएका उजुरीका पाँच जना आरोपित फरार छन्।
सप्तरी प्रहरीले आर्थिक वर्ष २०७६/०७७ मा लागूऔषधसम्बन्धी ५१ उजुरी दर्ता गरी ७१ जनालाई पक्राउ गरेको थियो। जसमा ३ जना फरार छन्। यस्तै आर्थिक वर्ष २०७७÷०७८
मा ८८ उजुरी दर्ता गरी १ सय ५३ जनालाई पक्राउ गरेको थियो। जसमा ९ जना फरार छन्।