चुनावका लागि फर्केका हत्याका आरोपित पक्राउ

चुनावका लागि फर्केका हत्याका आरोपित पक्राउ

राजविराज : साथीको हत्या आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ। घरबाट लिएर गएका साथीको हत्या आरोपमा पक्राउ परेका रुपनी गाउँपालिका–१ रुपनी चौक बस्ने ३८ वर्षीय मो नसिर भनिने नाजिर मियाँलाई प्रहरीले सार्वजनिक गरेको हो। अर्का आरोपित भने फरार नै छन्।

स्थानीय तहको निर्वाचन नजिकिएपछि उम्मेदवारलाई सहयोग, संरक्षण र मतदान गर्ने उद्देश्यले नेपाल भित्रिएको सूचना पाएको प्रहरीले नेपाल–भारत सिमा नजिकैबाट मियाँलाई पक्राउ गरेको हो। आरोपीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेको नेतृत्वमा खटिएको प्रहरीले बोदे बर्साइन नगरपालिकाबाट पक्राउ गरेको हो।

मियाँले नै मिलनसार साथी सप्तरीको बिष्णुपुर गाउँपालिका–५ कट्टी टोल बस्ने ५२ वर्षीय रामसुन्दर महतोको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। महतो बिहेको लगनका बेला हुने भोजभतेरमा खाना पकाउने काम गर्थे भने अरु बेला तरकारी बिक्री गर्थे।

असोज ८ गते बिहान मियाँ र डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरका ३० वर्षीय रोशन साह महतोको घर पुगे। मियाँले उनको गाउँटोलमा भोज छ भनी खाना बनाउने कामका लागि महतोलाई लिएर गएको महतोका छोरा जितेन्द्र महतोले बताए। भोजका लागि लैजाने र जाने सम्पर्कविहिन भए। तीन दिनसम्म फर्केर घर नआएपछि घरपरिवारका सदस्यहरु खोजी गर्न थाले।

सप्तरी प्रहरी भने पहिचान नभएको शवको सनाखतका लागि पर्खेर बसेको थियो। सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते शव फेला परेको थियो। शवको पहिचान हुन नसक्दा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा पोष्टमार्टम नगरी राखिएको थियो।

जिल्ला प्रहरीले मातहत कार्यालयमा पत्राचार गर्नुका साथै शवको पहिचानका लागि पत्रकार, अधिकारकर्मीसँग पनि सहयोग माग्यो। महतोको दाजु मधुसुदन महतोको कानमा वेवारिसे शवको बारेमा जानकारी पुग्यो। 

शव गृहमा पुगेका मधुसुदनले भाईले लगाएको कपडा र घाँटीमा लगाएको रुद्राक्षको माला देख्नासाथ रुन थालिहाले। असोज ११ गते मात्र शवको पहिचान खुल्यो र सनाखत भयो। पीडित परिवारले महतोलाई मियाँ र साहले लगेदेखि बेपत्ता रहेको र उनीहरुले नै हत्या गरेको हुन सक्ने बताएपछि प्रहरीले आरोपितहरुको खोजी गर्न थाल्यो। असोज २५ गते परेको उजुरी जिल्ला प्रहरीले कात्तिक ५ गते दर्ता गर्यो।

प्रहरीले उजुरी दर्ता गरी खोजी गरिरहेको थाहा पाएपछि मियाँले एसपीसँग फोनमा हत्या स्विकार्दै आफूलाई पक्राउ गर्न चुनौति दिए। पक्राउका लागि प्रहरी सक्रिय भएपछि उनी फरार भई भारतको विहारमा गई लुकेर बस्न थाले। भारतीय प्रहरीलाई यसबारे जानकारी गराउँदै सप्तरी प्रहरीले सहयोग पनि माग्यो।

आरोपित मियाँ बिष्णुपुर गाउँपालिका–७ बाट एक थान पेस्तोल र गोईत समूहको जनतान्त्रिक तराई मुक्ती मोर्चाको पर्चा पम्प्लेटसहित २०७४ जेठ १३ गते पक्राउ परेका व्यक्ति हुन्। तत्काल पूर्पक्षको लागि कारागार चलान भएका उनी जरिवाना तिरेर ९ महिनापछि रिहा भएको आरोपित स्वंयले बताएका छन्।

उनी जनतान्त्रिक तराई मुक्ती मोर्चा गोईत समूहमा आवद्ध थिए। विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिहरुलाई फोन गरी धम्काई चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। मियाँ अवैध लागू औषध ब्यापार गर्ने, लुकाई छिपाई हतियार बोकी हिड्ने र जनमानसमा डर त्रासको वातावरण सृजना गर्ने अपराधिक समूहका व्यक्ती हुनुका साथै गाँजाका अम्मली पनि रहेको डिएसपी काफ्लेले जानकारी दिए।

गाँजाकै संगतले महतोसँग मियाँको मित्रता बढेको थियो। महतोका घरलाई उनले लुकिछिपी बस्ने आश्रयस्थलका रुपमा प्रयोग गर्थे। मोबाइल फोनको कल डिटेल्स (सिडिआर) रिपोर्टको आधारमा मदिरा पसले, कार्यक्रममा नाचगान गर्ने र महतोकी श्रीमतीलाईसमेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर बयान लिएको थियो। भोज भतेरमा खाना बनाउन बोलाई हत्या गरेको कारणबारे प्रहरीले सोधपुछ सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.