तालिमपछि मतदान अधिकृतसहितको निर्वाचन टोली मतदानस्थमा खटिदैँ
तानसेन : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ को लागि पाल्पामा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु आवश्यक तालिमसहित नमुना मतदानमा सहभागी भएका छन्।
जिल्ला निर्वाचन कार्यालय पाल्पाले दुई दिनसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई मतदान अघि, मतदानको दिन र मतदान पछि गर्नुपर्ने सबै किसिमका कामको बारेमा जानकारी गराएको छ।
पाल्पामा ११८ मतदानस्थल र २४७ वटा मतदान केन्द्रको लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने सबै किसिमका कामहरुको बारेमा जिल्लाका १० वटै पालिकामा रहेका निर्वाचन अधिकृतहरुले प्रशिक्षण दिएका छन्। प्रशिक्षण पाएका मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मीहरु बैशाख २५ गते देखि मतपत्रसहित आवश्यक सरसमान बुझेर सम्बन्धित स्थानमा लाग्ने छन्।
खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरु नमुना मतदान पक्रियामा सहभागी भएका छन्। त्रिभुवन बहुमुखि क्याम्पस तानसेनमा गरिएको नमुना मतदानमा मतदानस्थलमा ३ सय मिटर वरीपरीको घेरावार, मतदानमा महिला, पुरुष, अपाङ्ग, जेष्ठ नागरिकहरुको छुट्टाछुट्टै लाईन बनाउने, मतदान क्षेत्र भित्र प्रवेश गरिसकेपछि मतदाता परिचयपत्रको आधारमा दलका प्रतिनिधिबाट नाम रुजु गर्ने, दोस्रो चरणमा सरकारी कर्मचारीबाट पुन नाम रुजु गर्ने, तेस्रो पक्रियामा हातमा रङ लगाउने, चौथो पक्रियामा सहायक मतदान अधिकृतले मतदान अधिकृतबाट हस्ताक्षर भएको मतपत्र मतदातालाई दिई मत संकेतको लागि पठाउने, मतदाताले मतपत्रमा स्विस्तिक छाप लगाई सकेपछि मतपत्र बक्स खसाली मतदाता बाहिरिएको नमुना मतदान प्रर्दशन गरिएको थियो।
तालिममा सहभागी मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई यो सबै नेपाली नागरिकहरुको बडापर्व भएकोले नागरिकबाट चुन्न र चुनिन पाउने अधिकारको स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले ठुलो जिम्मेवारी सुम्पेको प्रमुख निर्वाचन अधिकृत खड्गबहादुर केसीले बताए।
पाल्पाका १ लाख ९९ हजार ६ सय ९० मतदातालाई चाहिने २४७ वटा मतदान केन्द्रका लागि मतपत्रसहित सबै सरसमान तयारी अवस्थामा राखिएको छ। पाल्पामा स्थानीय निर्वाचनको लागी १०८० जना म्यादी प्रहरी, नेपाल प्रहरी ७०४, शसस्त्र प्रहरी २१८, नेपाली सेना ४१६ जना र १९७१ जना कर्मचारीहरु खटिने छन्। पाल्पामा ११८ मतदानस्थलमध्ये ५७ वटा सामान्य, ४५ वटा संवेदनशिल र १६ वटा अति संवेदनशिल रहेका छन्।
प्रतिक्रिया दिनुहोस !