टिकट पाउने पुरुष, प्रचारमा महिला

टिकट पाउने पुरुष, प्रचारमा महिला

काठमाडौं : देश यतिबेला स्थानीय चुनावमा होमिएको छ। दलहरू प्रचारप्रसारमा व्यस्त छन्। यसपटक गटबन्धनका कारण महिला उम्मेदवारको संख्या विगतको चुनावमा भन्दा घटेको छ। तर, चुनाव प्रचारमा भने महिलाको संख्या बढी छ। टिकट दिने समयमा महिलालाई पाखा लगाएपनि चुनाव प्रचारमा भने अधिकांश महिला प्रयोग भएका छन्। 

नवलपरासीकी कल्पना चापागाईं चुनावी अभियानमा हरेक दिन खटिन्छिन्। उनले अभियानमा पुरुष भन्दा महिला बढी भएको बताइन्। ‘धेरै महिला नै छौं। छिटो–छिटो घरको काम सकेर प्रचारमा निस्कन्छौं। आफनो उम्मेदवार जिताउन निस्कनेमा धेरै महिलाको सहभागिता छ।’ उनले भनिन्। 

पोखराकी अञ्जु क्षेत्री पनि निरन्तर चुनावी अभियानमा छिन्। पोखरा महानगरपालिका–५ की वडा सदस्य क्षेत्री यसपटक अध्यक्षको दावेरदार थिइन्। उनलाई पार्टीले टिकट दिएन तर पनि उनी निरन्तर चुनावी अभियानमा छन्। उनीसँगै थुप्रै महिलाको टीम अभियानमा खटिएको छ। उनी भन्छिन्, ‘प्रचार प्रसारमा महिला, र्‍यालीमा महिला, आमसभामा महिला अनि पद पाउने पुरुष।’ 

चुनावी अभियानमा पुरुषभन्दा महिला नै बढी रहेको उनले बताइन्। हरेक घरबाट पार्टीलाई सहयोग गर्न चुनावी घरदैलोमा प्रायः महिला नै धेरै हुने गरेको उनको भनाइ छ। 

प्रचारमा महिला सहभागी बढ्नु सुखद् 

नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘महिला भोटरको संख्या बढी छ, त्यसैले महिला सहभागिता बढ्नु स्वाभाविक हो। पछिल्लो समय महिलाहरू सक्षम र राजनीति बुझने हुनुभएको छ।’ उनले पुरुषको सहभागिता पनि राम्रै रहेको बताए। 

जनता समाजवादीका उपेन्द्र यादव भने चुनावमा महिला सहभागिता बढनु भनेको शुभ संकेत भएको बताउँछन्। उनले भने, ‘महिला राजनीतिमा सक्रिय हुनु भनेको खुशीको कुरा हो, यो शुभ संकेत पनि हो। हामीले खोजेकै यही हो।’ महिला उम्मेदवार घटेको विषयमा उनी भन्छन्, ‘महिला उम्मेदवार घटेका छैनन्, एशिया महादेशमा सबैभन्दा बढी नेपालको राजनीतिमा महिला सहभागिता बढेको छ।’ 

माओवादीका प्रमुख सचेतक देव गुरुङ भने पुरुषहरू वैदेशिक रोजगारीमा भएकाले महिलाको सहभागिता बढी भएको हुनसक्ने अनुमान गर्छन्। उनले भने, ‘युवाहरू धेरै विदेशमा हुनुहुन्छ नेपालमा महिला भोटरको सहभागिता पनि बढी छ। पछिल्लो समय राजनीतिमा महिलाले चासो राखेका छन्।’ 

पोखरामा एमालेको चुनावी प्रचारका क्रममा। 

पोखरा महानगरपालिका मेयरका उम्मेदवार कृण्ण थापा महिला उम्मेदवारको संख्या पनि बढी भएका कारण नै महिला सहभागी बढेको अनुमान गर्छन्। उनका अनुसार महिला संख्या बढी भएकै कारण प्रचारमा सहभागिता बढ्यो। अर्को राजनीतिमा महिला सहभागिता बढेकाले पनि यस्तो भएको हुनसक्छ। आफ्नो उम्मेदवार जिताउन महिला आफन्तहरू प्रचारमा निस्किएर पनि हुनसक्छ। अर्को कुरा धेरै महिला घरमै बसिरहने भएकाले केही फ्रिडमका लागि पनि प्रचारप्रसारमा महिला बढी आएको अनुमान छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजन प्रचारमा महिला सहभागिता हुनु भनेको जीतको संकेत भएको बताउँछन्। उनले भने, ‘उम्मेदवार जिताउन जहाँ महिलाको समूह लागिपरेको छ त्यहाँ जीत सुनिश्चित छ। यो जीतको संकेत हो।’ 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली हरेक काममा महिला अगाडि बढनुपर्ने भएपनि नेतृत्व लिने समय हुँदा पछाडि पारिने बताउँछिन्। उनी भन्छिन्, ‘आन्दोलनमा महिला, प्रचारप्रसारमा महिला तर नेतृत्व लिने बेलामा पुरुष। सबैलाइ बाँडेर महिलालाई अन्तिममा खाने बेलामा भाग नपुगे जस्तो।’ अनुगमनको क्रममा सुदुरपश्चिम पुगेकी पराजुलीले चुनावी प्रचारमा व्यापक रुपमा महिला सहभागी देखेको बताइन्। 

पितृसत्ताले महिलाहरूलाई कसरी प्रयोग गरेको छ भन्ने एउटा उदाहारण चुनाव प्रचारमा महिला सहभागिता भएको महिला अधिकारकर्मी डा. रेनुराज भण्डारीको भनाइ छ। उनी भन्छिन्, ‘पितृसत्ताले महिलालाई दोस्रो दर्जाको रुपमा स्वीकार्न लगाएको छ। पावरको नजिक पुग्न कि पुरुष रिझाउनु पर्ने, कि पार्टीलाइ खुशी बनाउनुपर्ने।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.