मतदान गर्न डेढ घण्टा पैदल
रसुवा : रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनका ग्याल्बो तामाङले २०४९ सालपछिका निर्वाचनमा मतदान गर्दै आएका छन् । उनले सबैजसो निर्वाचनमा भाग लिएका छन् । उनी एक व्यवसायी पनि हुन् । उनको क्यान्जिनमा होटल छ । निर्वाचनको समयमा उनी होटल बन्द गरेर मतदान गर्न मुण्डुप पुग्छन् । क्यान्जिनबाट मुण्डुप पुग्न डेड घण्टा पैदल हिँड्नुपर्छ । ‘अझैं पहिले पहिले त लाङटाङ जानु पथ्र्यो,' उनले भने, 'अहिले अलि नजिक छ ।'
क्यान्जिनबाट लाङटाङ पुग्न २ घण्टा लाग्छ । क्यान्जिनमा ४५ घरधुरी छन् । त्यहाँका अधिकांशले होटल व्यवसाय गरेका छन् । त्यहाँ करिब ७० जना मतदाता छन् । निर्वाचनको दिन होटल बन्द गरेर मतदान गर्न केन्द्रसम्म उनीहरू पुग्ने गरेका छन् ।
‘अहिले पर्यटकको आगमन पनि कम छ,' उनले भने, 'मतदान गर्ने दिन हामी होटलमा बस्दैनौं।’त्यहाँ पर्यटक पुगेपनि मतदान हुने समयमा घुम्ने भएकाले खासै असर पर्दैन । मुण्डुपस्थित सामुदायिक भवनमा मतदान केन्द्र निर्माण गरिएको छ ।
मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेको छ । आवश्यक कर्मचारी सोमबार राति नै पुगेर काम सुरु गरिसकेका छन् । दुई दिनको पैदलयात्रापछि चारजना कर्मचारी मुण्डुप पुगेका थिए । त्यहाँ ३ सय ६३ मतदाता छन् ।