रसुवामा निर्वाचनका लागि ८ सय सुरक्षाकर्मी परिचालन
रसुवा : भोलि हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ८ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा यसपटक ८ सय १ जना सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरी खटिएका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।
जिल्लामा २ सय ९४ जना नेपाल प्रहरी, २ सय ८८ जना म्यादी प्रहरी र २ सय १९ जना शसस्त्र प्रहरी परिचालन गरिएको उनको भनाइ छ । सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्ने छन् । जिल्लामा निर्वाचनको लागि २ सय ५५ कर्मचारी खटिएका छन् ।
यस्तै, ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र रहेको छ । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् ।