रसुवाको चार वटा गाउँपालिकाको मतगणना हुँदै
रसुवा : रसुवाको पाँचवटा गाउँपालिकामध्ये चारवटाको मध्यरातिबाट मतगणना सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार उत्तरगया, कालिका, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको मतगणना सुरु गरिएको हो।
गोसाइँकुण्ड गाउँपालिकाको भने शनिबार बिहान हेलिकप्टरबाट मतपेटिका ल्याएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए। शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा रसुवामा ७७ प्रतिशत मत खसेको थियो।
जिल्लाको उत्तरगयामा ८ हजार ४ सय २, कालिकामा ८ हजार ६ सय ५६, गोसाइँकुण्डमा ५ हजार ८ सय ९०, नौकुण्डमा १० हजार ५ सय ३७ र आमाछोदिङ्मो गाउँपालिकामा ५ हजार ६० मतदाता रहेका छन्। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन्।