सहिदभूमि–६ को स्थगित मतदान २ गते हुने
धनकुटा : मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबीच विवादका कारण स्थगित भएको सहिदभूमि गाउँपालिका-६ को निर्वाचन आगामी जेष्ठ २ गते हुने भएको छ।
निर्वाचन अधिकृतको कार्यालय सहिदभूमिले ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालयको तीन मतदान केन्द्रमा आगामी २ गते पूनः मतदान गर्नेगरी निर्णय गरेको हो।
विवादको कारण शुक्रवार विहान साढे ११ बजेदेखि यस केन्द्रमा मतदान प्रक्रिया रोकिएको थियो। अशक्त, असहाय, तथा ज्येष्ठ मतदाताहरुको तर्फबाट एउटै व्यक्तिले पटक–पटक मतदान गरेको विषयमा विवाद भएको थियो। विवाद सुरु भई मतदान कार्य अवरुद्ध भई पटक पटक सर्वदलीय वैठक राख्दा समेत वेलुकाको ५ बजे सम्म पनि विवादको निरुपण हुन सकेको थिएन। सहिदभूमि निर्वाचन कार्यालयले विवादका वीच मतदान कार्य सञ्चालन गरे थप भौतिक क्षतिसमेत हुने निष्कर्ष निकाली मतदान प्रक्रिया स्थगित गरेको थियो।
तीन केन्द्रमा २५ सय १३ मतदाता रहेका छन्। मतदान प्रक्रिया स्थगित हुनुपूर्व ८ सय १२ मत खसेको थियो। तीन वटै केन्द्रमा पूनः नयाँ प्रक्रियाबाट मतदान हुने निर्वाचन अधिकृत रुद्रमणी गिरीले बताए। उनका अनुसार मतदान भएपछि मात्र एकै पटक सबै वटाको मतगणना हुनेछ। निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँगको समन्वयमा नयाँ मिति तोकिएको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस !