वीरगन्जमा गठबन्धनको असर : मेयर र उपमेयरमा बदर मत अत्याधिक
वीरगन्ज : वीरगन्ज महानगरपालिकामा जारी मतगणनामा बदर मतको संख्या अत्याधिक रहेको छ। आइतबार बिहान ८.३० बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार , ३०७८ वटा मतको गणना हुदा मेयर पदमा ८ सय १८ मत अर्थात २६.५७ प्रतिशत मत बदर भएको छ। उपमेयरमा भने आधाभन्दा बढी मत अर्थात ५३.३७ मत दबर भएको छ। उपमेयरमा १ हजार ६ सय ४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।
वीरगन्ज १४ पिपरा स्थित नृसिंह मावि मतगणनास्थलमा वडा नम्बर १ , २ , ३१ र ३२ को मतगणना जारी छ। आइतबार बिहान ८ बजे सम्म ३०७८ मत गणना गरिदा मेयरमा सदर मत २२६० र उपमेयरमा १४३५ मत मात्रै सदर भएको पौडेलले जानकारी दिए।
महानगरमा दलहरुले मेयर र उपमेयर पदमा गठबन्धन गरेकाले उम्मेदवार नभएकै चुनाव चिन्हमा स्वास्तीक छाप लगाइएका कारण मेयर र उपमेयर पदमा धेरै मत बदर भएको हो।
वीरगन्ज महाननगरमा गठबन्धनबाट मेयरमा जसपाका उम्मेदवार राजेशमान सिंह र उपमेयरमा काँग्रेसका उम्मेदवार इम्तियाज आलम चुनावी प्रतिस्पर्धामा छन्। यस्तै एमाले र लोसपाले पनि दुवै पदमा चुनावी तालमेल गरेर उम्मेदवारी दिएका थिए। मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपाका पुरुषोत्तमलाल झाको उम्मेदवारी परेको थियो।
मेयरमा उम्मेदवार नै नभएको काँग्रेसको रुख छाप र लोसपाको साइकल छाप तथा उपमेयरमा उम्मेदवार नभएको जसपाको छाता छाप र एमालेको सुर्य छापमा अत्याधिक स्वास्तीक छाप लगाइएको भेटिएकोले बदर मतको संख्या धेरै रहेको पौडेलले बताए।
उम्मेदवार नभएको चुनाव चिन्हमा स्वास्तीक छाप लगाइएको मत बदर हुने गरेको उनले बताए।
मेयरमा जसपाको दोब्बर अग्रता
यसैबिच वीरगन्ज महानगरको मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले शुरु देखि नै कायम राखेको अग्रता , दोब्बर भन्दा बढि पुगेको छ।
आइतबार बिहान ८.३० बजे निर्वाचन कार्यालयले उपलब्ध गराएको मतगणनाको विवरण अनुसार , ३०७८ मतको गणना हुदा मेयर पदमा सिंह १५०७ मतका साथ अग्र स्थानमा छन्।
उनलाई एमालेका उम्मेदवार विजयकुमार सरावगीले ६६८ मतका साथ पछ्याइरहेका छन्। मेयरमै राप्रपाका गिरिश गिरीले ४१ मत पाएका छन्।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार इम्तियाज आलमले ११०५ मतका साथ अग्रता कायम राखेका छन्।
लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने १६० मत पाएका छन्। उपमेयरमै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने ९८ मतका साथ तेश्रो स्थानमा छिन्। राप्रपाकी उपमेयर उम्मेदवार विना जयसवालले भने ६० मत पाएकी छन्।