सप्तरीमा पाँच पार्टीले खोले खाता
राजविराज : सप्तरीको १६ वटा स्थानीय तहमा निर्वाचनको मतगणना भइरहेको छ। सप्तरीमा हालसम्म पाँच पार्टीले खाता खोल्दै वडाहरूमा जित हासिल गरेका छन्।
अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । एमालेका उम्मेदवार सबजुल खलिफाले ६४१ मत ल्याइ वडा अध्यक्षमा विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अछमितलाल चौधरीले ५५० र जसपाका रामनारायण चौधरीले ५१४ मत ल्याएका छन्।
यसैगरी खुला सदस्यमा एमालेका देवकान्त चौधरी र रामगेन सिंह, महिला सदस्यमा वैजनाथ देबी थरुनी र दलित महिला सदस्यमा पार्वतीदेबी राम विजयी भएकी छिन्।
खडक नगरपालिका १ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह ८११ मत ल्याएर विजयी भएका छन्। उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका सिंहेश्वर मण्डलले ६३८ मत ल्याएका छन्। महिला सदस्यमा लोसपाकै अभाना खातुन, लित महिला सदस्यमा ललितादेबी राम तथा सदस्यहरूमा दिलिपकुमार मण्डल र त्रिभुवन मण्डल विजयी भएका छन्।
खडक नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा जसपाका हरेराम मण्डल ९ मत बढी ल्याइ विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मदेब साहले ३५९ र नेकपा (एमाले)का विसुन साहले ३३६ मत ल्याएका छन्।
कुल १ हजार ४७५ मतको गणना पश्चात नेपाली काँग्रेसले महिला वडा सदस्य र दलित महिला सदस्य जितेको छ। यसैगरी एमाले र जसपाले खुल्ला वडा सदस्यमा जित हात पारेको छ।
सप्तकोशी नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा रोहिणीप्रसाद पोखरेलको टिम विजयी भएको छ। कांग्रेसकै खुला सदस्यमा दिपक राई र जनकबहादुर राउत, महिला सदस्यमा सीताकुमारी चौधरी र दलित महिला सदस्यमा भीमकुमारी नेपाल विजयी भएका छन्।
शम्भुनाथ नगरपालिकामा कांग्रेसका जिवछ साहले ४७४ मत ल्याई वडा अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले ३७१ मत ल्याएका छन्। प्यानलसहित जितेको उक्त वडामा कांग्रेसबाट खुला सदस्यमा राधादेबी चौधरी र बिमलाकुमारी चौधरी, महिला सदस्यमा फूलकुमारी चौधरी र दलित महिला सदस्यमा इनरवती देबी राम विजयी भएक छिन्।
कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा प्यानलसहित जसपा नेपालका रव्बान खान विजयी भएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका–१ को वडा अध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल पनि प्यानलसहित निर्वाचित भई खाता खोलेका छन्।
सप्तरीको विभिन्न पालिकाको वडा अध्यक्ष निर्वाचित भएकोमा कांग्रेस र जसपा २-२ वडा अध्यक्ष, एमाले, लोसपा र जनमत पार्टीले १-१ वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
सप्तरीको स्थगित दुई मतदनास्थलमध्ये आइतबार डाक्नेश्वरी नगरपालिका–२ हरीराहामा र सोमबार रूपनी गाउँपालिका–५ बसबिट्टीमा निर्वाचन सम्पन्न भएपछि उक्त पालिकाको समेत मतगणना आरम्भ हुनेछ।