सहिदभूमि र रुपनीमा जेठ २ गते पुनः मतदान
धनकुटा/ राजविराज : मतदान प्रक्रियामा नेकपा एमाले र गठबन्धनका प्रतिनिधिबीच विवादका कारण स्थगित भएको धनकुटाको सहिदभूमि गाउँपालिका ६ को निर्वाचन आगामी जेठ २ गते हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालय सहिदभूमिले ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालयका तीन मतदान केन्द्रमा आगामी २ गते पूनः मतदान गर्ने गरी निर्णय गरेको हो।
विवादका कारण शुक्रबार बिहान साढे ११ बजेदेखि त्यहाँ मतदान प्रक्रिया रोकिएको थियो। अशक्त, असहाय, तथा ज्येष्ठ मतदाताका तर्फबाट एउटै व्यक्तिले पटक–पटक मतदान गरेको विषयमा विवाद भएको थियो। विवाद सुरु भई मतदान कार्य अवरुद्ध भई पटक–पटक सर्वदलीय बैठक राख्दासमेत बेलुकाको ५ बजेसम्म पनि विवादको निरुपण हुन सकेको थिएन। सहिदभूमि निर्वाचन कार्यालयले विवादकाबीच मतदान कार्य सञ्चालन गरे थप भौतिक क्षतिसमेत हुने निष्कर्ष निकाली मतदान प्रक्रिया स्थगित गरेको थियो।
तीन केन्द्रमा २५ सय १३ मतदाता छन्। मतदान प्रक्रिया स्थगित हुनुपूर्व ८ सय १२ मत खसेको थियो। तीनवटै केन्द्रमा पुनः नयाँ प्रक्रियाबाट मतदान हुने निर्वाचन अधिकृत रुद्रमणि गिरीले बताए। उनका अनुसार मतदान भएपछि मात्र एकै पटक सबै वडाको मतगणना हुनेछ। निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँगको समन्वयमा नयाँ मिति तोकिएको उनको भनाइ छ।
मतदानका क्रममा शुक्रबार राति
हवाई फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन सोमबार हुने भएको छ। रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बसेको सर्वदलीय वैठकले स्थगित मतदान सोमबार बिहान ७ बजेदेखि ५ बजेसम्म गर्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए।
मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, निर्वाचन अधिकृत कुमार मास्के, गणपति दुर्गाबहादुर थापा, एसपी अविनारायण काफ्ले, सशस्त्र एसपी प्रदीप खड्का, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक नरेश साहलगायतको उपस्थितिमा बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो।
राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरूको सहमतिपश्चात् सोमबार निर्वाचन हुने तय भएको निर्वाचन अधिकृत मास्केले बताए। शुक्रबार अपराह्न सवा ४ बजे वर्षाले रोकिएको मतदान पुनः सुचारु भएको केहीबेरमा साँझ साढे ६ बजे दुई पक्षबीच झडप भएपछि उत्तेजित भीडलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो। हवाई फायरले मतदाताहरू तितरबितर भएपछि मतदान गर्न पाउने अवस्थाबाट मतदाता वञ्चित भएको भन्दै शुक्रबार मध्यराति निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन स्थगित गरेको सूचना टाँस गरेको थियो।
दलहरूबीच सहमति कायम हुन नसक्दा मतदानलाई व्यवस्थित ढंगले अघि बढाउन नसकिएकोले स्थगित गर्नुपरेको निर्वाचन दलहरूकै सहमतिमा सोमबार गर्न लागिएको मास्केले बताए। यसअघि शुक्रबार दिउँसो स्थगित भएको डाक्नेश्वरी–२ स्थित जनता मावि हरिराहाको निर्वाचन आइतबार हुने भएको छ।
प्रतिक्रिया दिनुहोस !