आङ खस्ने पीडामा मलम

आङ खस्ने पीडामा मलम

००६ सालमा जन्मेकी भोजपुरकी जितमाया राई (नाम परिवर्तन) को १५ वर्षको उमेरमै विवाह भयो। अन्दाजी १७–१८ वर्षको हुँदा पहिलो सन्तानका रूपमा छोरा जन्माइन्। पहिलो सन्तानका रूपमा जन्मेका छोरा र चौथो सन्तानका रूपमा जन्मेकी छोरी जीवित रहेनन्। उनका अहिले पनि ६ सन्तान जीवित छन्। २ वर्ष अनि बढीमा ३ वर्षको अन्तरालमा ८ सन्तानलाई घरमै जन्म दिएकी जितमायाले विगतमा लामो समयसम्म धूमपान सेवन गरिन्। हाल उनी धूमपान गर्दिनन्। लामो समयदेखि आङ खसेर पीडित रहेकी जितमाया जस्तै दुई छोरी हर्किमाया र चेलिमायाको पनि आङ खस्ने समस्या देखियो। ५ सन्तानलाई घरमै जन्म दिएकी ४५ वर्षीया दिदी हर्किमाया र ६ सन्तानलाई घरैमा जन्म दिएकी ४४ वर्षीया बहिनी चेलिमायाको पनि ६८ वर्षीया आमा जितमायासँगै पाठेघरको शल्यक्रिया गरियो।

महिलाको महत्त्वपूर्ण प्रजनन अंग हो, पाठेघर। भित्र खाली अनि बाहिरबाट हेर्दा नासपति आकारमा रहेको मासुको डल्लोजस्तो देखिन्छ, पाठेघर। तल्लो पेटमा पिसाब थैली र मलासयको बीचतिर रहेको हुन्छ यो। निषेचित अण्डा (फर्टिलाइज्ड ओभम) पाठेघरमा आएर विकसित हुने र भ्रुण हुँदै बच्चा भएर जन्मिने हुन्छ। पाठेघर नभएको महिला आमा बन्न सक्दैनन् र हरेक मानिसको जन्म पाठेघरबाटै हुन्छ। हरेक महिना हुने महिनावारीमा पाठेघरको भित्रीतह टुक्रिएर नै रक्तश्राव हुने हुन्छ। पाठेघरले केही हर्मनको उत्पादन गर्ने तथा प्रजनन हर्मोनहरूको सन्तुलनमा पनि यसले मद्दत गर्ने गरेको हुन्छ।

स्त्रीप्रजनन प्रणालीको महत्त्वपूर्ण अंग पाठेघर तल्लो पेट (पेल्भिक क्याभिटी)मा हुन्छ। यसलाई मांसपेशी तथा लिगामेन्टहरूले अड्याएको हुन्छ। विभिन्न कारणले यो आफ्नो स्थान अर्थात् तल्लो पेटबाट योनीमार्ग भएर बाहिर निस्किएको अवस्थालाई आङ खसेको भनिन्छ। यस्तो हुँदा शारीरिक समस्या सुरु हुन्छन्। लामो समयसम्म तल झरेमा पाठेघरमा घाउ (डिकुबिट्स अल्सर) हुन सक्छ। आङ खसेपछि ढाड दुख्ने, पिसाबको संक्रमण भइरहने, पिसाब गर्न समस्या हुने तथा हिँड्डुल गर्न गाह्रो हुने र संक्रमण हुनेजस्ता समस्या हुन्छन्। तल झरेकै कारण पाठेघरमा घाउ हुने, रगत जाने र दैनिक जीवन निकै कष्टकर बनेको हुन्छ। तर, वृद्धावस्थामा आएको यो पीडा कसलाई कसरी सुनाउनु ? वृद्ध महिलाहरू धेरै लाज मान्ने अनि धेरै सहेर बस्न खोज्ने भएको कारणले आङ खसेका आमाहरू समस्या लुकाउँछन्। समस्या राखे पनि आर्थिक वा अन्य कारणले परिवारले वास्ता नगरेको तथा परीक्षण नगराएको पनि भेटिन्छ। शल्यक्रियाबाट डराउने र परीक्षण गराए अप्रेसन गरिहाल्छन् भन्ने डरले पनि समस्या लुकाएको पाइन्छ।

आङ खस्ने समस्या नेपालमा मात्र नभई संसारभर छ। करिब २ देखि २० प्रतिशत महिलाहरू आङ खस्ने समस्याबाट पीडित रहेको विभिन्न तथ्यांकले देखाएको छ। नेपालमा अझै पनि १० लाख महिलाहरू यो समस्या हुन सक्ने अनुमान गरिए पनि यथार्थ तथ्यांक छैन। हालै गण्डकी मेडिकल कलेज, कलेज अफ नर्सिङ साइन्सका मुना सिलवालको टिमले जुलाई ७, २०१६ देखि अगष्ट ७, २०१७ सम्ममा गरेको अध्ययनले १३ प्रतिशत महिलामा आङ खस्ने समस्या देखाएको छ। जबकि यो इटालीमा संख्या ५.५, अमेरिकामा ११.४ अनि क्यालिफोर्नियामा १.९ प्रतिशत छ।

आङ खास्नुको पछाडि गर्भको सन्दर्भ जोडिएको देखिन्छ। कम उमेरमा विवाह गर्नु अनि बच्चा पाउनु, धेरै बच्चा जन्माउनु, लामो समयसम्म ब्यथा लाग्नु तथा प्रसव गार्‍हो हुनु, जन्मान्तर कम गर्नु अनि सुत्केरी अवधिमा गार्‍हो काम गर्नु, भारी बोक्नु आङ खस्नुका प्रमुख कारण हुन्। कुपोषण, कब्जियत, धूमपानको सेवन, दमखोकी, बच्चा पाएलगत्तै यौनसम्पर्क, मोटोपनजस्ता समस्याले पनि आङ खस्न मद्दत गर्ने गरेको अध्ययनहरूले देखाएका छन्। मैले शल्यक्रिया गरेका आङ खसेका वृद्धासँग सोधपुछ गर्दा अधिकाशंले ३ भन्दा बढी सन्तान पाएको, घरमै प्रसव गराएको र जन्मान्तर ३ वर्षभन्दा कम रहने गरेको पाएको छु।

आङ खस्ने सबैलाई शल्यक्रिया गर्नुपर्छ भन्ने छैन। अलिकति पनि आङ खसेको छ भने औषधि खाएर पुरानो ठाउँमा पाठेघर फर्किंदैन। पाठेघर थोरै तल आएको छ भने केही अभ्यास गर्नुपर्ने हुन्छ। जसले गर्दा पाठेघरलाई आफ्नो स्थानमा रहन मद्दत गर्ने माशंपेसीहरू बलियो हुन्छ। त्यसैले पाठेघर थप तल झर्नेबाट रोकिन्छ। यसो गर्दा पाठेघर तल आएकाको ढाड दुखाइ तथा पटक–पटक हुने पिसाबको संक्रमणमा कमी आउने हुन्छ। तर, पाठेघर योनीमार्ग बाहिर आएको अवस्थामा रिङ (चुरा) लगाउने वा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ। यसो गर्दा पाठेघरभित्र अडिने हुन्छ। तर, यो ३–३ महिनामा फेर्नु पर्ने हुन्छ। दीर्घकालीन र भपर्दो उपाय भनेकै शल्यक्रिया हो। यो शल्यक्रिया पेट चिरेर गरिँदैन। यसरी आङ खसेको अवस्थामा गरिने शल्यक्रिया योनीमार्गबाट नै गरिन्छ। पुनः योनीमार्ग बनाउन सकिने भएकाले यौनजीवनमा धेरै असर गर्दैन।

हुनत आङ खस्ने काम पूर्णरूपमा रोकिन्छ भन्नै छैन। केही सजग भए वा सावधानी अपनाए सम्भावना घट्छ। २० वर्ष नपुगी विवाह नगर्ने र विवाह गरिहाले पनि सन्तानको चाहना २० वर्ष नपुगी गर्दै नगर्नु राम्रो विकल्प हुन सक्छ। गर्भावस्थामा स्वास्थ्यको राम्रो ध्यान पुर्‍याउने, नियमित परीक्षण गर्ने, गाह्रो काम नगर्ने र भारी नबोक्ने। प्रसव पीडा सुरु हुनेबित्तिकै स्वास्थ्य संस्था जानुपर्छ। घरमा प्रसव गराउनु वा लामो समय ब्यथा लगाएर बस्नुले कालान्तरमा आङ खस्ने समस्यालाई निम्त्याउने सम्भावना बढी रहन्छ। प्रसवपछिको ४२ दिन अत्यन्त महत्त्वपूर्ण समय हो। यस समयमा पटुका बाँध्ने, गाह्रो काम नगर्ने र भारी नबोक्ने, यौनसम्पर्क नगर्ने तथा खानपान र सरसफाइमा राम्रो ध्यान पुर्‍याउनु पर्छ। धूमपानको सेवन नगर्ने तथा उच्च रक्तचाप, कब्जियत, दीर्घखोकी, दम आदि रोगको समयमा उपचार गर्नुपर्छ। मोटोपन नियन्त्रण गर्ने तथा नियमित व्यायाम गर्नाले अन्य दीर्घरोगबाट बचाउनुसँगै आङ खस्नबाट पनि जोगाउँछ।

पाठेघर फालिसकेपछि स्वास्थ्यमा समस्या आउँछन् कि भन्ने धेरै महिलाले चिन्ता लिएको पाइन्छ। कति आमाहरूलाई त पाठेघर फालेपछि क्यान्सर नै हुन्छ कि भन्ने डर रहेको पाइन्छ। तर, वास्तविकता त्यस्तो होइन। कम उमेरमै आङ खसेकाले शल्यक्रिया गरी पाठेघर फाल्नु परेको अवस्थामा शल्यक्रिया भएको केही वर्षपछि पुनः भल्ट प्रोलाप्स अर्थात् योनीमार्ग नै खस्ने सम्भावना हुन्छ। हुनत यो सम्भावना सबैमा रहन्छ। आङ खसेको शल्यक्रिया गर्दा राम्ररी ध्यान पुर्‍याएर गरेको अवस्थामा भल्ट प्रोलाप्स हुने सम्भावना कम हुन्छ। यसबाहेक भजाइनल हिस्टेरेक्टोमी (भीएच) ले महिलामा कुनै नराम्रो असर समान्यता देखिँदैन। यसले कुनै किसिमको क्यान्सर गर्दैन।

- डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.