लमही नगरपालिकामा कांग्रेस विजयी
दाङ : दाङको लमही नगरपालिकामा कांग्रेस विजयी भएको छ। नगरपालिकाको मेयर उपमेयरसहित ८ वडामा बहुमतले जितेको हो।
वडा नम्बर ५ को वडा अध्यक्ष मात्रै माओवादी केन्द्रले जितेको छ। उक्त वडामा ४ सदस्यमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्। २०७४ मा मेयर जितेको एमाले यसपटक लमहीमा शून्य भएको छ।
मेयरमा कांग्रेसका जोगराज चौधरी ९ हजार ३ सय १७ मतका साथ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गरेका छन्। एमालेका दण्डीराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गरेका छन्।
उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मत प्राप्त गरी विजयी भएकी छन्। उनकी निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरेकी छन्।