पर्साका २१ वर्षीय युवा पालिका प्रमुखमा निर्वाचित
वीरगन्ज : पर्सामा २१ वर्षीय युवा पालिका प्रमुखमा निर्वाचित भएका छन्। पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का २१ वर्षीय वशीष्टकुमार गुप्ता निर्वाचित भएका हुन्।
निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार कुर्मीलाई ११७ मत अन्तरले पराजित गर्दै जसपाका गुप्ता, गाँउपालिका अध्यक्षमा विजयी भएका हुन्। गुप्ताले ३ हजार ७४३ मत पाएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कुर्मीले ३ हजार ६२६ मात्रै मत पाएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए।
यस्तै कालीकामाई गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी राजमति बरैनी ३९८२ मतका साथ निर्वाचित भएकी छिन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले ३८५९ मत पाएकी छिन्।
५ वटा वडा रहेको कालीकामाई गाँउपालिकामा ३ वटा वडा जसपाले जित्दा कांग्रेस र एमालेले १-१ वडा जितेका छन्।
कालीकामाई गाँउपालिका अध्यक्षमा गुप्ता विजयी भएसँगै पर्सा जिल्लामा जसपाले अहिलेसम्म दुई वटा पालिकाले जीत हासिल गरेको छ। यसअघि जिल्लाको धोविनी गाउँपालिका अध्यक्षमा जसपाका मदन चौहान अध्यक्षमा विजयी भएका छन्। १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा हालसम्म ३ पालिकाको मात्रै नतिजा सार्वजनिक भएको छ।