धनकुटाको महालक्ष्मी र पाख्रिवासमा गठबन्धन, धनकुटा र सहिदभूमिमा एमालेको जीत
धनकुटा : स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम अनुसार महालक्ष्मी नगरपालिका र पाख्रिवास नगरपालिकामा गठबन्धन र धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
जिल्लाको सबै सात स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। जसमा गठबन्धन चार र नेकपा एमाले तीन स्थानीय तहमा विजयी भएका छन्। यसअघि साँगुरीगढी गाउँपालिका र छथरजोरपाटी गाउँपालिकामा गठबन्धन र चौविसे गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको थियो।
पाख्रिवास नगरपालिकाको प्रमुखमा गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ निर्वाचित भएका छन्। उनले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम राईलाई पराजित गरे। मेयरमा विजयी गुरुङले ५ हजार ४९८ मत प्राप्त गर्दा एमालेका भिम राइले ५ हजार ५३ मत प्राप्त गरे। उपप्रमुखमा एमालेकि नम्रता देउजाले बाजी मारिन्। देउजाले ५ हजार ६२ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार माओवादीका ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत प्राप्त गरे। पाख्रिवास नगरपालिकाको वडा नं. २, ३, ७, ९ र १० वडा नेकपा एमाले र वडा नं. १, ४, ५, ६ र ८ नं. वडामा गठबन्धनका उम्मेदवार विजयी भए।
महालक्ष्मी नगरपालिकाको प्रमुखमा गठबन्धनका ध्रुवराज राय निर्चाचित भएका छन्। रायाले नेकपा एमालेबाट उम्मेदवार वनेका दिपक वुढाथोकीलाई १ हजार ३५ मतको फराकिलो अन्तरले पराजित गरेका थिए। विजयी रायले ५ हजार ८ सय ७ र पराजित वुढाथोकीले ४ हजार ७ सय ७२ मत प्राप्त गरे। त्यस्तै उपमेयरमा गठबन्धनको उम्मेदवार प्रेम खड्कालाई ६ सय ७५ मतले पराजित नेकपा एमालेकी मञ्जुकुमारी अधिकारी विजयी भइन्। उनले ५ हजार १ सय ६ मत प्राप्त गरिन्। भने उनका निकटम प्रतिद्वन्द्वी खड्काले ४ हजार ४ सय ३१ मत प्राप्त गरे। त्यस्तै महालक्ष्मी नगरपालिकाको वडा नं. १, ४, ८, ९ वडा नेकपा एमाले र वडा नं. २, ३, ५, ६, ७ वडा गठबन्धनका उम्मेदवार विजयी भए।
नेकपा एमालेका उम्मेदवार चिन्तत तामाङ धनकुटा नगरपालिका प्रमुखमा निर्वाचित भएका छन्। उनले निकटम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दिनेश राईलाई १४ मतको झिनो अन्तरले पराजित गर्दै तामाङ नगरप्रमुखमा निर्वाचित भएका छन्। तामाङले ७ हजार ६ सय ६६ र पराजित राईले ७ हजार ६ सय ५२ मत प्राप्त गरे। त्यस्तै उपमेयरमा नेकपा एमालेकै भीम देवी खनाल निर्वाचित भइन्। उनले गठबन्धनको तर्फबाट उम्मेदवार वनेका नेकपा माओवादी केन्द्रका गणेश बहादुर विष्टलाई ४ सय ८७ मतले पराजित गरिन्। उपमेयरमा निर्वाचित खनालले ७ हजार १ सय ९६ र विष्टले ६ हजार ६ सय २९ मत प्राप्त गरे। धनकुटाको वडा नं. ३, ५, ६, ७ र १० वडा गठबन्धनले र वडा नं. १, २, ५, ८ र ९ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भए।
यस्तै सहिदभूमि गाउँपालिमा पनि नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेको छ। निवर्तमान अध्यक्ष समेत रहेका नेकपा एमालेका मनोज राईले गठबन्धनको तर्फबाट उम्मेदवार वनेका नेकपा एकिकृत समाजवादीका जीतवहादुर राईलाई १ सय ८७ मतान्तरले पराजित गर्दै अध्यक्षमा पूनः निर्वाचित भएका हुन्। विजयी मनोज राईले ४ हजार २ सय १४ र उनका निकटम प्रतिद्वन्द्वी जीतवहादुरले ४ सय २७ ले प्राप्त गरे।
त्यस्तै सोही गाउँपालिकाको पूनः उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष समेत रहेकी नेकपा एमालेकी रत्नेश्वरी राई निर्वाचित भइन्। उनले गठबन्धनको तर्फबाट उम्मेदवार वनेका नेपाली कांग्रेसका तोर्णबहादुर खड्कालाई १ हजार ३ सय १ मतले पराजित गरिन्। उपाध्यक्षमा विजयी राईले ४ हजार ६ सय २२ र उनका निकटम प्रतिद्वन्द्वी खड्काले ३ हजार ३ सय ७१ मत प्राप्त गरे। सो गाउँपालिकाको वडा नं १, ४ र ५ गठबन्धनले र २, ३, ६ र ७ वडा नेकपा एमालेका उम्मेदवार विजयी भए।
प्रतिक्रिया दिनुहोस !