कांग्रेसले तीन दशकपछि भैरहवामा फर्कायो विरासत, मेयरमा खान निर्वाचित
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा तीन दशक पछि नेपाली कांग्रेसले आफ्नो विरासत फर्काएको छ।
कांग्रेसले नगरमा आफ्नो विरासत फर्काउनका लागि राजनीतिक क्षेत्रमा कुनै दाग नलागेको प्रमुख (मेयर) पदमा ‘क्लिन फेस’ इस्तियाक अहमद खानलाई चुनावी मैदानमा उतारेको थियो।
३० वर्ष अघि ०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट मेयरमा बलराम गौतम निर्वाचित भएका थिए। त्यसयताको निर्वाचनमा कांग्रेसले हार व्यहोर्दै आएको थियो। ०७९ को स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवार खानले ९ हजार १३४ मत प्राप्त गरी निर्वाचित भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए। उनले आफ्नो निकटतम प्रतिस्पर्धी राप्रपाका मेयर उम्मेदवार सागर प्रताप राणालाई ९९७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
राणाले ८ हजार १३७ मत प्राप्त गरे। त्यस्तै ०७४ को निर्वाचनमा दुई दशकपछि मेयर र उपमेयर दुवै पदमा विजयी भई नगरमा आफ्नो झण्डा गाड्न सफल भएको एमाले यस पटकको निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएको छ। एमालेका मेयर पदका उम्मेदवार डा. रामप्रसाद बस्यालले ७ हजार ३०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत महराले बताए।
एमालले नगरमा मेयर पद गुमाए पनि उपमेयर पद भने जोगाउन सफल भएको छ। उपमेयरमा एमालेको उम्मेदवार उमा अधिकारीले ८ हजार ८१३ मत ल्याएर विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी राप्रपाको उम्मेदवार विनिता गुप्ताले ६ हजार ५४४ मत प्राप्त गरिन्।

उपमेयर उमा अधिकारी ।
नगरको निर्वाचनमा मेयर र उपमेयर पदमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। मेयरमा कांग्रेसको तर्फबाट खान उम्मेदवार थिए भने उपमेयरमा माओवादी केन्द्रको तर्फबाट कमला थापा उम्मेदवार थिइन्। उपमेयरमा थापाले ४ हजार ५९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत महराले बताए।
१३ वटा वडा रहेको सिद्धार्थनगर नगरपालिकामा वडा नम्बर एकको वडाअध्यक्षमा जसपाका उम्मेदवार उज्जवल पोखरेलले विजयी भएका छन्। त्यस्तै वडा नम्बर २, ३ र ४ को वडाअध्यक्षमा राप्रपाका उम्मेदवार क्रमशः छेदीलाल श्रीवास्तव, नारायण शर्मा उपाध्यय, मुक्तिनाथ यादव विजयी भएका छन्।
यस्तै वडा नम्बर ५, ६, ७, ८ र १३ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार क्रमशः पुरनप्रसाद श्रेष्ठ, विरेन्द्र श्रीवास्तव, दामोदर शर्मा घिमिरे, राजनजंग राणा, सोमबहादुर गुरुङ (सेते) विजयी भएका छन्।
वडा नम्बर ९, १०, ११ र १२ को वडाअध्यक्षमा एमालेका उम्मेदवार क्रमशः शेषकान्त भण्डारी, सुर्जमन अहिर यादव, दिलिप कुमार यादव, कुमार गुरुङ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत महराले बताए।
नगरमा ४४ हजार ६ सय ५२ मतदाता रहेकोमा ३२ हजार ६७ मतदाताले मतदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस !