मुगुमा कांग्रेसले दुई, माओवादी र एकीकृत समाजवादीले १/१ पालिका जित्दा एमाले निल
मुगु : चार पालिका रहेको मुगुमा दुई पालिका जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक पालिका जित्दा एमाले भने पालिकामा नेतृत्वविहीन बनेको छ। एमालेले एक उपाध्यक्षमा चित्त बुझाउनु परेको छ।
कांग्रेसले एक मेयर र एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक उपमेयरसहित पाँच पदमा विजयी हासिल गरेको छ।
कांग्रेसले छाँयानाथ रारा नगरपालिकामा मेयर र उपमेयर, मुगुम कार्मारोङ गाउँपालिकामा अध्यक्ष तथा सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा उपाध्यक्ष जितेको छ।
माओवादीले खत्याड गाउँपालिका तथा एकीकृत समाजवादीले सोरु गाउँपालिकामा अध्यक्ष जितेको छ।
०७४ को स्थानीय निर्वाचनमा पहिलो दल भएको एमालेले मुगुम कार्मारोङ गाउँपालिकामा उपाध्यक्षमा खुम्चिएको छ।
छाँयानाथ रारा नगरपालिकामा कांग्रेस र एमालेले एकल उम्मेदवारी दिएका थिए भने माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरी निर्वाचनमा उम्मेदवारी दर्ता गराएका थिए।
मेयरमा कांग्रेसका बिष्णुकुमार भामले ४ हजार ५९९ मत प्राप्त गरी विजयी भएका हुन्। प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर रावलले ३ हजार ८६० मत प्राप्त गरे।
उपमेयरमा कांग्रेसकी ऐश्वर्य मल्लले ४ हजार ३२५ मत ल्याई विजयी भइन्। प्रतिद्वन्द्वी एमालेकी टोमा लामाले ३ हजार ७३४ मत प्राप्त गरिन्। यो नगरपालिकामा माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए। मेयरमा माओवादीका सुर बुढाले १ हजार २८० र उपमेयरमा एकीकृत समाजवादीका बलराम साहनीले १ हजार २६४ मत पाएका थिए।
मुगुम कार्मारोङ गाउँपालिकामा पाँच दलीय गठबन्धबाट कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ क्याप्ने लामाले १ हजार ५७१ मत ल्याई विजयी भए। प्रतिद्वन्द्वी एमालेका सोनाम छिरिङ लामाले १ हजार ४८१ मत प्राप्त गरे।
उपाध्यक्षमा एमालेकी छिरिङ्ग फुटिक लामाले माओवादीका गरु स्याग्याप लामालाई पराजित गरिन्। उपाध्यक्षमा एमालेले १ हजार ५१६ र गठबन्धनबाट माओवादीले १ हजार ३८५ मत पाएको छ।
खत्याड गाउँपालिकामा कांग्रेस र माओवादीको संयुक्त गठबन्धनबाट माओवादीका अजबहादुर शाहीले ३ हजार ५२० मत प्राप्त गरी विजयी भए। एमालेका लालबहादुर मल्लले २ हजार ६२१ मत पाए।
उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसकी सरिता रोकायाले ४ हजार ५५७ मत प्राप्त गरी विजयी भइन्। प्रतिद्वन्दवी एमालेकी कविता गिरीले २ हजार ४९९ मत पाइन्।
सोरु गाउँपालिकामा कांग्रेस, एकीकृत समाजवादी, माओवादी गठबन्धनबाट अध्यक्षमा समाजवादीका धर्मबहादुर शाहीले ४ हजार ४७ मत प्राप्त गरी विजयी भए। प्रतिद्वन्द्वी एमालेका डिल्लीप्रसाद भट्टले १ हजार ८८९ मत प्राप्त गरे। उपाध्यक्षमा गठबन्धबाट कांग्रेसका केशरबहादुर शाहीले ४ हजार २०३ मत ल्याई विजयी भए भने प्रतिद्वन्द्वी एमालेकी डिलकला शाहीले ९६८ मत ल्याइन्।