पाल्पामा तीन पूर्वपत्रकार वडाध्यक्षमा निर्वाचित
तानसेन : नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्षसहित एउटै संचारमाध्यममा कार्यरत रहिसकेका तीन जना पूर्वपत्रकार हालै सम्पन्न २०७९ सालको स्थानीय निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका छन्।
पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष एवं सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रबन्धक पदमा कार्यरत रहिसकेका राजेशकुमार अर्याल एमालेबाट तानसेन नगरपालिका वडा नम्बर ९ को वडाध्यक्षमा निर्वाचित भएका छन्। अर्यालले स्वतन्त्रका उम्मेदवार विष्णुप्रसाद भण्डारीलाई ३२२ मतान्तरले पराजित गरी वडा अध्यक्ष निर्वाचित भएका हुन्।
यसैगरी सामुदायिक रेडियो मदन पोखराका संचालक समिति सदस्य सोमनाथ अर्याल पनि एमालेबाट तानसेन नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएका छन्। नेपाल पत्रकार महासंघका साधारण सदस्यसमेत रहिसकेका सोमनाथले गठबन्धनबाट कांग्रेसका उम्मेदवार मोहनलाल कार्कीलाई २२९ मतान्तरले पराजित गरे।
सामुदायिक रेडियो मदनपोखरामा स्थानीय संवाददाताको रुपमा कार्यरत रहिसकेका तथा पत्रकार महासंघ पाल्पाको सदस्य रहेर पत्रकारिता गरिसकेका पूर्वपत्रकार ओमप्रकाश गैरे बगनासकाली गाउँपालिका ५ को वडाध्यक्षमा निर्वाचित भएका छन्।
एमालेबाट चुनाव लडेका गैरेले गठबन्धनका उम्मेदवार काग्रेसका धिरज गाँहालाई १९३ मत अन्तरले पराजित गरी वडाध्यक्षमा निर्वाचित भएका हुन्।
वडाध्यक्षमा निर्वाचित पूर्वपत्रकारहरु राजेश कुमार अर्याल, सोमनाथ अर्याल र ओम गैरे ।
प्रतिक्रिया दिनुहोस !