सल्यानको बागचौर नगरमा कांग्रेसका गौतम विजयी
दाङ : सल्यानको बागचौर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सहसचिव जनकराज गौतम विजयी भएका छन्।सुरुवातीमा पछाडि रहेका गौतम मध्यविन्दुबाट अगाडि बढ्दै माओवादी केन्द्रका जिल्ला संयोजकलाई पराजित गराएका हुन्।
नगरको उपप्रमुखमा भने माओवादी केन्द्र विजयी भएको भएको छ। उपमेयरमा नेकपा माओवादी केन्द्रकी सुम्निमा डिसी ओली निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
गौतमले ६ हजार २७ मत ल्याएर विजय हुँदा निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका कृतीबहादुर पुनले ५ हजार ५ सय ९४ मत प्राप्त गरे। गौतमले पुनलाई ४ सय ३३ मतान्तरले पराजित गरेका छन्।
उपमेयरमा माओवादीकी सुम्निमा डिसी ओलीले ६ हजार ६ सय १४ मत प्राप्त गरिन्। उनले कांग्रेसकी दीपा बस्नेतलाई पराजित गरेकी हुन्।
कांग्रेसकी बस्नेतले ५ हजार २ सय ३४ मत प्राप्त गरीन्। १२ वडा रहेको बागचौर नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा वडा, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले १ वडा जितेको छ।