धूमपान मुटु र मस्तिष्कलाई पनि घातक

धूमपान मुटु र मस्तिष्कलाई पनि घातक

 काठमाडौं : चुरोट एवं सुर्तीजन्य पदार्थ सेवन गर्ने बानी छ ? छ भने, आजै÷अहिल्यै छोड्नुहोस्। नत्र तपार्इं क्यान्सरको घरभित्र छिर्दै हुनुहुन्छ।  सुर्तीमा ४३ वटा क्यान्सर लगाउने तत्त्व हुन्छन्। यसको सेवनपछि क्रमशः खानामा रुचि नहुने, पेट गडबडी हुनेदेखि शरीरका विभिन्न अंगमा क्षति पुर्‍याउने चिकित्सकहरू बताउँछन्। धूमपानले आँखाको दृष्टि क्षमतामा असर गर्ने, श्वास गन्हाउने, गिजा बिग्रिने, मुखमा चाउरीपना आउने हुन्छ। पुरुषमा नपुंसकता र महिलामा बाँझोपना पनि हुन्छ। 

त्यस्तै सुर्ती एवं चुरोटको सेवनले ओठ, मुख, भोजननलीको क्यान्सर हुन सक्छ। आमाशय, प्याङ्क्रियाज, श्वासनली, मूत्रथैली, मिर्गौला एवं अन्य मूत्र अंगहरूमा क्यान्सर हुन सक्ने क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। ‘सुर्ती एवं चुरोेटको सेवनले कुनै फाइदा छैन,’ भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेल भन्छन्, ‘शारीरिक, मानसिक, सामाजिक, आर्थिक सबै दृष्टिले हानिकारक छ।’

डा. पौडेलका अनुसार ९० प्रतिशत फोक्सोको क्यान्सर धूमपानका कारण हुने गर्छ। क्यान्सर गराउने मुख्य तत्त्व भनेको टार हो। जुन धूमपान गर्ने व्यक्तिको औंला र दाँतमा दागको रूपमा समेत रहेको हुन्छ। धूमपान एवं सुर्तीजन्य पदार्थको बढ्दो खपतले मुलुकमा नसर्ने रोगहरू बढिरहेका छन्। यसको सेवनबाट श्वासप्रश्वासजन्य रोगहरू बढिरहेको चिकित्सकहरू बताउँछन्। यसको सेवनले क्षयरोग, निमोनिया, दीर्घ खोकी (ब्रोङ्काइटिस) दम, निम्त्याउँछ। वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम भन्छन्, ‘धूमपान गर्नेलाई श्वासप्रश्वासजन्य रोगले सताउँछ। फोक्सो फुल्ने र खुम्चने प्रक्रिया सजिलोसँग हुन पाउँदैन। श्वास लिन र छोड्न स्वाँ–स्वाँ हुन्छ। अप्ठेरो महसुस हुन्छ।’ 

चुरोट र सुर्तीमा ४ हजार ८ सयभन्दा बढी विषालु रासायनिक तत्त्वहरू छन्। चुरोट खाएर निस्केको धुवाँमा ८७ प्रकारका विषालु रासायनिक पदार्थहरू पाइने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ। धूमपानमा मात्रै चार सय किसिमका विषालु पदार्थ हुन्छन्। यी पदार्थले प्रत्यक्ष रूपमा ३५ रोग लगाउँछन्। एक सयभन्दा बढी रोगहरू अप्रत्यक्ष रूपमा लगाउँछ। अकालमा ज्यान लिन्छ। 

वरिष्ठ मुटु सर्जन डा. भगवान कोइरालाका अनुसार मुटुजन्य समस्या निम्त्याउने मुख्य कारकमा सुर्ती एवं धूमपानजन्य पदार्थ मानिन्छ। ‘धूम्रपान एवं सुर्तीजन्य पदार्थको सेवन गर्नु भनेको खराब चिजको सेवन हो। अर्कोले खाएको (सेकेन्ड ह्यान्ड स्मोकिङ) छ भने पनि छेउमा बस्नेलाई असर गर्छ,’ डा. कोइराला भन्छन्, ‘चुरोटमा हुने निकोटिनले इन्डोथेलियम (रक्तनलीको भित्री तहका कोषिकाहरूको तह)लाई क्षति गर्छ। हृदयाघातसमेत गराउँछ।’ 

धूमपान गर्दा मुख्य रूपमा निस्कने ग्याँस कार्बनमोनोअक्साइड हो। यो सजिलैसँगै रगतमा मिसिन्छ। रगतमा भएको हेमोग्लोबिनलाई नष्ट गर्छ। यसले हेमोग्लोबिनलाई नष्ट गर्ने भएकोले अन्य महत्त्वपूर्ण अंग मस्तिष्क, मुटु आदि अंगमा पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन। ‘अक्सिजन नपुग्दा हृदयाघातदेखि मस्तिष्कघातसम्म हुन सक्छ,’ वरिष्ठ नसा रोग विशेषज्ञ डा. जगदीश अग्रवाल भन्छन्, ‘धूमपानबाट क्यान्सरको प्रसार हुने 
गरेको छ। मुटु र मस्तिष्कको लागि पनि उत्तिकै घातक छ।’

गर्भवती महिलाले धूमपान गर्दा गर्भमा रहेको शिशुलाई समेत असर गर्ने डा. बम बताउँछन्। त्यस्तै गर्भावस्थामा धूमपान गर्दा गर्भ तुहिने, कम वजनको शिशु जन्मनेजस्ता समस्या हुन्छन। डा. पौडेलका अनुसार चुरोटमा हुने निकोटिनले लत लगाउँछ। ‘हेरोइनभन्दा निकोटिन दस गुणा बढी खतरनाक छ,’ उनले भने। 

४० अर्बको क्षति

धूमपानका कारण उत्पन्न हुने स्वास्थ्य खर्च ४० अर्बभन्दा बढी हुने गरेको छ। जुन मुलुकको कुल गार्हस्थ्य उत्पादनको एक दशमलव शून्य ४ प्रतिशत हुन्छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सन् २०२० मा गरेको अध्ययनअनुसार, ३२ प्रतिशत नेपालीले सुर्तीजन्य पदार्थको सेवन गर्छन्। यसको सेवनले प्रतिवर्ष ३७ हजार ५ सय २३ जनाको ज्यान जाने गरेको छ। ‘सुर्तीजन्य पदार्थको सेवनकै कारण प्रत्येक एक घण्टामा चार जनाको ज्यान जाने गरेको छ,’ प्रतिष्ठानका वरिष्ठ अनुसन्धानविज्ञ डा. जयकुमार गुरुङ भन्छन, ‘यो जानकारी लक्षित वर्गमा अझैं पुग्न सकेको छैन।’ यो संख्याले नेपालको कुल मृत्युको १९ दशमलव ४ प्रतिशत ओट्छ। 

छिमेकबाट अनुसरण गरौं

छिमेकी मुलुक भुटानले सन् २००४ मा नै सुर्ती निषेधित राष्ट्र घोषणा गर्‍यो। यो अभियानमा भुटान एसियाको पहिलो राष्ट्र बन्यो। भुटानले अन्तर्राष्ट्रिय जगत्मा धूमपानरहित तथा धूमपानमुक्त मुलुकको छवि स्थापित गरिसकेको छ।

भुटानमा सुर्तीजन्य वस्तुको उत्पादन र बेचबिखनमा कानुनी रूपमै प्रतिबन्ध लागिसकेको छ। भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र माल्दिभ्समा पनि चुरोटलगायत अन्य सुर्तीजन्य पदार्थको विज्ञापन, प्रायोजन र प्रवद्र्धनलाई कानुनी रूपमै प्रतिबन्धित गरिएको छ।

  •     धूमपानले लिन्छ ३७ हजारको ज्यान 
  •     धूमपानमा हुन्छन् ८७ विषालु तत्तव 
  •     साइलेन्ट किलर (सुषुप्त हत्यारा) —धूमपान 
  •     चुरोट र सुर्तीमा ४ हजार ८ सयभन्दा बढी विषालु रासायनिक तत्तवहरू छन्। चुरोट खाएर निस्केको धुवाँमा ८७ प्रकारका विषालु रासायनिक पदार्थहरू पाइने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ। 
  •     धूमपानमा रहेको विषालु पदार्थले प्रत्यक्षरूपमा ३५ रोगहरू निम्त्याउँछ। एक सयभन्दा बढी रोगहरू अप्रत्यक्ष रूपमा लगाउँछ। अकालमा ज्यान लिन्छ। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी छिमेकी मुलुकहरूबाट नेपालले पाठ सिक्दै अनुसरण गर्नुपर्ने बताउँछन्। धूमपानबाट निस्कने विषालु धुवाँले वातावरणलाई दूषित पार्छ। जथाभावी चुरोट सेवन गर्दा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक उल्लंघन हुन्छ। संविधान प्रदत्त मौलिक हकको संरक्षण गर्ने प्रमुख दायित्व राज्यको हो। आमनागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको प्रत्याभूति हुने कार्य पनि राज्यले निर्वाह गर्नुपर्दछ,’ पूर्वन्यायाधीश केसी भन्छन्, ‘धूमपानजन्य पदार्थको उत्पादन, ओसारपसार लगायतका विषयहरूलाई नै रोकथाम वा प्रतिबन्धित गर्नेदेखि नियमन गर्ने दायित्व राज्यकै हो। जनतालाई फाइदा नहुने पदार्थमा सरकारले निरोधात्मक र नियन्त्रणात्मक उपायहरू अवलम्बन गर्नुपर्दछ।’ 

कर बढाऔं 

राजस्व परामर्श समिति र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको एक अध्ययनअनुसार चुरोेटको खुद्रा मूल्यमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर तथा स्वास्थ्य जोखिम कर गरी जम्मा ३० प्रतिशत कर छ। छिमेकी भारतमा ५४ प्रतिशत कर छ। बंगलादेशमा ७१ प्रतिशत, श्रीलंकामा ६६ प्रतिशत र थाइल्यान्डमा ७८ प्रतिशत रहेको छ। वरिष्ठ अनुसन्धानविज्ञ डा. गुरुङका अनुसार, यसैको आधारमा राजस्व परामर्श समितिबाट आ.व. २०७८÷०७९ को बजेटमा सुर्तीजन्य पदार्थमा कर समायोजन गरी सिफारिस गरिएको थियो। करमा २५ प्रतिशतले वृद्धि भएको थियो।

हाल मुलुकमा बढी प्रयोग हुने चुरोटको औसत मूल्यमा कर ३८ प्रतिशत पुगेको छ। यो विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सिफारिस गरेको ७५ प्रतिशत सिफारिसभन्दा ज्यादै न्यून हो। ‘अवैध व्यापार हुन्छ भन्ने सोचले पनि कर नबढाएको तर्क आउने गर्छ। जुन वास्तविक होइन’, डा. गुरुङ भन्छन्, ‘गत सालको कर वृद्धिले राजस्व संकलनमा वृद्धि (अनुमानित ५ अर्ब थप) भइसकेको छ। उता उपभोगको संख्यामा ३ प्रतिशतका दरले कमी आएको अनुमानित तथ्यांकले देखाउँछ।’

सुर्तीजन्य पदार्थमा कर बढाउँदा अवैध व्यापार बढ्ने सरकारी अधिकारीहरूको आशंका छ। तर, प्रतिष्ठानले गरेको अध्ययनले भने त्यस्तो अवैध व्यापारको परिमाण नगण्य (०.३३ प्रतिशत) मात्रै रहेको देखाएको छ। ‘अवैध व्यापारसम्बन्धी उत्पादकहरूको तर्क तथ्यपरक छैन,’ डा. गुरुङ भन्छन्, ‘सुर्तीजन्य पदार्थबाट उठ्ने राजस्व र यस उद्योगबाट सिर्जना हुने रोजगारका फाइदा नगण्य छन्। अवैध व्यापार हुन्छ भने कर नबढाउनु सर्वसाधारणको स्वास्थ्यमा खेलवाड हो।’

एक अध्ययनअनुसार दक्षिण एसियाली मुलुकहरूमा चुरोटमा लाग्ने करको प्रतिशत सबैभन्दा न्यून छ। श्रीलंकामा ७७.२, बंगलादेशमा ७३.०, पाकिस्तानमा ६०.८, भारतमा ५७.३ र नेपालमा ३८.० प्रतिशत छ। डा. गुरुङका अनुसार, नेपालको हालको अन्तःशुल्कमा ६० प्रतिशतले वृद्धि गर्दा १३ अर्ब राजस्व संकलन हुन्छ। जसले हालको बजेट घाटाको ५ प्रतिशत शोधभर्ना गर्नेछ। 

धूमपानविरुद्धका अभियन्ता देवीप्रसाद शर्माका अनुसार सुर्तीजन्य पदार्थको उपभोगबाट सिर्जित हुने क्यान्सर र नसर्ने रोगहरूको कारण बर्सेनि ३७ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइरहेको तथ्यलाई मनन गर्नुपर्छ। ‘हानिकारक वस्तुहरूमा अप्रत्यक्ष कर बढाएर महँगो पार्नुपर्छ। सर्वसाधारणले खरिद गर्न हिच्किचाउन पर्ने बनाउनु पर्छ।’ उनी भन्छन्, ‘डब्लूएचओको सिफारिसअनुसार नेपालमा सुर्तीजन्य वस्तुहरूको खुद्रा मूल्यमा अप्रत्यक्ष करको अंश ४० प्रतिशत पनि पुगेको छैन। त्यसैले कर बढाउने प्रशस्त सम्भावनाको कार्यान्वयन गर्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.