बढाइँदै ब्याज अनुदान
![बढाइँदै ब्याज अनुदान](https://annapurnapost.prixacdn.net/media/albums/budget-bajet-kharcha_20190730034928_okkqEOqw5N.jpg)
काठमाडौं : सरकारले बजेटमार्फत सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानको आकार बढाउने भएको छ। २०७८/०७९ का लागि साढे १३ अर्ब रुपैयाँको ब्याज अनुदान दिएको थियो। आगामी वर्ष १५ अर्ब हाराहारी पुग्ने अर्थ मन्त्रालयले बताएको छ।
आर्थिक पुनरुत्थान, राहत तथा सहुलियतमा ५ प्रतिशत ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने अर्थ मन्त्रालय सचिवालयका प्रेसविज्ञ अजितकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार चालू आवको सहुलियत ब्याज अनुदानबाट ९ अर्ब ५० करोड खर्च भइसकेको छ। नेपाल राष्ट्र बैंकको चैत्र मसान्तसम्मको तथ्यांकअनुसार सहुलियत ब्याजमार्फत १ लाख ४५ हजार ६ सय ९३ जनाले लाभ लिएका छन्।
अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन महाशाखाले सो शीर्षकमा २० अर्ब आवश्यक रहने बजेट महाशाखालाई सुझाव दिएको थियो। ‘तर पनि कम्तीमा १५ अर्ब रुपैयाँबराबर सहुलियत ब्याज अनुदान दिने भनिएको छ। यद्यपि यो नै अन्तिम निर्णय होइन। संशोधन हुन सक्छ,’ अधिकारीले भने। सरकारले विनियोजन गरेको ब्याज अनुदान राष्ट्र बैंकको नेतृत्वमा बैंकहरूमार्फत विभिन्न १० शीर्षकमा सहुलियतपूर्ण कर्जा लिने ऋणीलाई दिइन्छ। व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि तालिम र युवा वर्ग स्वरोजगार कर्जालाई सहुलियत ब्याजमा उपलब्ध गराइँदै अएको छ। उक्त कर्जाको विवरण बैंकले नेपाल राष्ट्र बैंकलाई पठाउँछन्। राष्ट्र बैंकले सो तथ्यांक अर्थ मन्त्रालयलाई पठाउँछ। यसपछि पाँच प्रतिशत ब्याज अनुदानबापतको रकम अर्थले केन्द्रीय बैंकलाई पठाउँछ। अनि बैंक हुँदै ऋणीले पाउने गरेका छन्। सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा दुई प्रतिशत थपेर ब्याज निर्धारण गर्नु पर्छ।
सरकारले महिला उद्यमशील कर्जामा ६ र अन्य सबै कर्जामा पाँच प्रतिशत ब्याज अनुदान दिन्छ। जस्तैः बैंकले करिब ११ प्रतिशत ब्याज लिने गर्छ भने उक्त शीर्षकको कर्जामा ब्याज सरकारले व्यहोर्छ र बाँकी ६ प्रतिशत ब्याज मात्रै ऋणीले तिर्नु पर्छ। यसले ऋणीलाई राहत पुग्छ। सबैभन्दा बढी महिला उद्यमीले लाभ लिएका छन्। चैत्र महिनासम्म महिला उद्यमशीलता कर्जा लिनेको संख्या ८२ हजार ९ सय २६ छ। उनीहरूका लागि ८७ अर्ब ६४ करोड १८ लाख ८५ हजार रुपैयाँ कर्जा स्विकृत भएको राष्ट्र बैंकको तथ्यांक छ।
महिला उद्यमशीलतामा बिनाधितो ६ प्रतिशत ब्याज अनुदानमा प्रतिव्यक्ति १५ लाखसम्म कर्जा लिन पाइन्छ। यसपछि व्यावसायिक कृषि तथा पशुपंक्षी व्यवसायमा कर्जा उपयोग गर्ने ऋणीको संख्या बढी छ। राष्ट्र बैंकको तथ्यांकअनुसार चैत्रसम्म कुल ५९ हजार ९ सय ३१ जनाले १ खर्ब ६२ अर्ब १९ करोडबराबरको कर्जा लिएका छन्। व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसायका लागि प्रतिव्यक्ति ५ करोडसम्म ५ प्रतिशत ब्याज अनुदान पाउन सकिन्छ। साथै, यसभन्दा बढीको कर्जा २ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ।
सबैभन्दा कम भने सीटीभीटीबाट अनुमति लिएका संस्थाबाट तालिम लिनेहरू छन्। यस्तो तालिम लिने दुई जनाले मात्रै ऋण लिएका छन्। उनीहरूलाई चार लाखको ऋण स्विकृत भएको छ। कर्जा युवा स्वरोजगार कर्जा २७ जनाले लिएका छन्। यसैगरी ‘शिक्षित युवा स्वरोजगार कर्जा’ मा १ सय ५० जना ऋणीले ७ करोड ८१ लाख ऋण लिएको तथ्यांकले देखाउँछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)