पाल्पा रम्भाका २६ हजार जनतालाई निशुल्क दुर्घटना बिमाको घोषणा
तानसेन : रम्भा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद भण्डारीले गाउँपालिकाका सबै जनतालाई नि:शुल्क दुर्घटना बिमा गरिने निर्णय गरेका छन्। पदभार ग्रहणको अवसरमा नवनिर्वाचित अध्यक्ष भण्डारीले पालिकाका जनतालाई एक लाख रुपैयाँको दुर्घटना बिमा गर्ने निर्णय गरेका हुन्।
दुर्घटनामा परी घाइते भएका व्यक्तिले अस्पतालमा उपचार वापतको एक लाख रुपैयाँ वा मृत्यु भएमा घरपरिवार आफन्तलाई एक लाख रुपैयाँ गाउँपालिकाले प्रदान गर्ने गरी रम्भा गाउँपालिकाभित्रका सबै नागरिकहरुको निशुल्क दुर्घटना बिमा गरिने अध्यक्ष भण्डारीले प्रहिलो निर्णय गरेका हुन्। गाउँपालिकाले निकालेको तथ्यांकअनुसार रम्भामा २५ हजार ९९० जनसंख्या रहेको छ।
गाउँपालिकाले २५ हजार ९९० जनाको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो। रम्भा गाउँपालिकाले यसअघि सबै बालबालिकालाई विद्यालयसम्मको पहुँच पुर्याउन, शिक्षकहरुको विद्यालय तथा विद्यार्थीप्रति लगाव बढाउन सबै विधार्थी, शिक्षक तथा कर्मचारीहरुमात्र दुर्घटना बिमा गरेको थियो।
पदभार ग्रहणको क्रममा रम्भा गाउँपालिकाले सबै एकल पुरुषहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने निर्णय गरेको छ। पालिकाले कार्यविधि बनाएर सबै एकल पुरुषहरुलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो। अहिले पालिकामा एकल महिला तथा ७० बर्षमाथिका जेष्ठ नागरिकलेमात्र सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए।
जनताको काम लाई छिटो छरितो गर्न पालिकाको सेवा चुस्त, दुस्त तथा प्रभावकारी बनाउन सूचना प्रविधिको व्यवस्थापन, कर्मचारी खटन पटन, श्रोत साधनको परिचालनलाई व्यवस्थित बनाउने निर्णय भएको पालिका अध्यक्ष भण्डारीले बताए।
५ वटा वडा रहेको पालिकामा अध्यक्ष भण्डारी, उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष खुमकान्त बस्याल र वडा नम्बर ३ का वडा अध्यक्ष थमन बहादुर गाँहा पुन निर्वाचित जनप्रतिनिधि हुन् भने वडा न १ का ईश्वरी काफ्ले, वडा नम्बर २ का वडाध्यक्ष चेतबहादुर सुनारी र वडा नम्बर ४ का वडाध्यक्ष कृष्णबहादुर रायमाझी नयाँ अनुहारका जनप्रतिनिधि हुन्। रम्भामा पालिका अध्यक्ष, उपाध्यक्षसहित ३ वटा वडा अध्यक्ष नेकपा एमाले र २ वटा वडा नेपाली काग्रेसले विजय गरेको छ।
प्रतिक्रिया दिनुहोस !