बालेनले बदले इतिहास

बालेनले बदले इतिहास

काठमाडौं : पेसाले इन्जिनियर। एक र्‍यापर। शुक्रबारबाट अर्को पनि परिचय थपियो-महानगर पिता। अर्थात् संघीय राजधानी काठमाडौंको मेयर।३२ वर्षकै उमेरमा ‘चमत्कार’ गरेर बालेन साहले नयाँ इतिहास रचे।वर्षौंदेखि ‘किलो गाढेको’ राजनीतिलाई झापड हाने।र, महानगर बनाउने जिम्मेवारी काँधमा लिए।

बालेनले चुनाव जित्नेमा मूलधारका दललाई विश्वासै थिएन।व्यक्ति–व्यक्ति सदस्य र घर–घरमा पार्टीका संगठन भएको स्थानमा ‘स्वतन्त्र’ले चुनाव जित्ने त कल्पना बाहिरकै विषय थियो।उनीहरूले बालेनलाई ‘प्रतिस्पर्धीसम्म’ ठानेनन्।एमाले उम्मेदवार केशव स्थापितले त आफूले प्रतिस्पर्धी नै नपाएकोसम्म भाषण गर्न भ्याए।बालेनको जातीय पृष्ठभूमिबारे टिप्पणी नै गरे।तर, बालेन शान्त बसे।उल्टै, स्थापितलाई ‘बा’ र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई ‘आमा’ बाट सम्बोधन गरिरहे।न त कुनै शक्तिशाली पार्टीको धाप, न त मतदाताको ‘बानी परेको’ चुनाव छाप।तैपनि, प्रतिस्पर्धी कसैको आलोचनातिर समय खेर फालेनन।युवाको साथमा पाकाको सहारा (लौरो) लिएर गल्ली–गल्ली चहारे।राजधानीवासीको मन जिते, मत पाए।अप्रत्याशित नतिजा दिएर छक्क बनाए।बालेन बने–मेयर।

को थियो सामाजिक इन्जिनियर 

‘क्रान्ति (क) बाट होइन।(ज्ञ) बाट सुरु हुन्छ।त्यो (ज्ञ) ज्ञान हो ।’ नेपाली वर्णमालाको अन्तिम अक्षरबाट क्रान्तिको कुरा गर्ने युवा जमात हो– बालेन साहको समर्थक।सेतो टिर्सटधारी युवा जमात ‘ज्ञान’ बाट मात्रै सामाजिक परिवर्तन र विकास सम्भव हुने विश्वास गर्छ।त्यसै कारण, इन्जिनियर बालेन साहलाई काठमाडौं बनाउने जिम्मेवारी सुम्पिनुपर्ने भन्दै चुनाव अवधिभर सक्रिय भयो।रातदिन खट्यो।र, दलले नपत्याउँदा–नपत्याउँदै बालेनलाई विजयी गराउन सफल भयो।सामाजिक सञ्जालभरि बालेनको प्रचारमा जुट्यो।स्वदेशमा मात्र होइन, विदेशमा रहेको युवा जमातलाई पनि स्थानीय चुनावको रन्कोले ततायो ।

काठमाडौंमा रहेका बुवाआमा, दाजुभाइलाई ‘एक भोट बालेन’लाई दिनु भन्दै चुनावी अभियानमा सक्रिय बन्यो।परम्परागत पार्टीहरूले देश बिगारेकै कारण युवाशक्ति बिदेसिएको भन्दै पाका पुस्तालाई ‘कन्भिस’ गर्‍यो।विदेशमा रहेका छोराछोरीको आग्रहमा पाका पुस्ताले पनि बालेनको ‘अन्तर्वार्ता हेर्ने र चुनावी एजेन्डा सुन्यो।बालेनले राजनीतिका सिद्धान्त र दर्शनका पट्यारलाग्दा भाषण गरेका थिएनन्।देश बिग्रेको र बनाउनुपर्ने कुरा मात्रै गरेका थिए।युवा जमातको आग्रह र अनुुरोधपछि प्रौढ समुदाय पनि बालेनलाई भोट हाल्न पुग्यो।‘युवाको साथ र पाकाको हात’ पाएपछि बालेनले कांग्रेस र एमाले उम्मेदवारलाई निकै पछि पारे।किनकि, विदेशमा रहेका छोराछोरीको आग्रहमा आफूले बालेनलाई मत दिएको भन्नेको संख्या ठूलो छ।

समर्थकहरूका अनुसार बालेनले नरसिंह व्यञ्जनकारलाई राजनीतिक गुरु मान्छन्।ललितपुर वडा नम्बर १० बाट १० पटक स्वतन्त्र रूपमा चुनाव जितेका व्यञ्जनकारका छोरा कुमार वेन बालेनका मिल्ने साथी हुन।जनताको पक्षमा काम गर्दा कुनै पनि राजनीतिक दलको बर्को ओढ्नु नपर्ने र स्वतन्त्र रूपमै चुनाव जित्न सकिने कुरा नरसिंह बताउने गर्थे।र्‍याप गाउँदै परिवर्तन र विकासको कुरा गर्ने बालेन नरसिंहबाट प्रभावित भएर मैदानमा उत्रिएको उनी निकटहरू बताउँछन्।सामाजिक सञ्जालमा सक्रिय युवा, केही ब्लगर, विभिन्न संघसंस्थामा क्रियाशील युवाहरू बालेनलाई हौस्याउँथे।बालेनको पक्षमा केही स्रष्टा र अभियन्ता पनि जोडिए।सामाजिक सञ्जालमार्फत कलाकार पनि बालेनको पक्षमा उत्रिए।सबै क्षेत्रका युवा र अभियन्ताहरू जोडिँदै गएपछि सामाजिक सञ्जालमा बालेनको चुनावी प्रचार सशक्त बन्यो।चुनावका बेला ‘स्वस्फुर्त’ रूपमा बालेनको पक्षमा लाग्नेको संख्या पनि ठूलै थियो। 

एक र्‍यापर
बलिदानको गीतमा मेरो शब्दको सलामी
गाउँ–गाउँबाट उठ युवा कलम थामी 
गाई त बाध्यौं ढुंग्रोमा मही छैन, मही छैन
गरिबको चमेली बोल्दिने कोही छैन

बालेनले बलिदान सिनेमाको गीतलाई र्‍यापमा ढाले।युवालाई परिवर्तनका पक्षमा उभिन आह्वान गरे।गीतसंगीतबाटै युवालाई संगठित गरे।युवाको मन जिते।सबैले केही न केही गर्न बालेनलाई सुझाव दिइरहे।सानैदेखि गीतसंगीतमा रुचि राख्ने बालेनका र्‍याप ‘उरण्ठेउला र अश्लील’ छैनन्।उनले समाज परिवर्तन र विकासको कुरा र्‍यापमार्फत सशक्त ढंगले उठाएका छन्।सन् २०१३ मा ‘र्‍याप ब्याटल’ मा जितेपछि बालेन युवामाझ लोकप्रिय बनेका थिए।गीतसंगीतसँगै उनले राजनीतितिर हाम फाल्ने सोच बनाएका थिए।बालेनले आफूसँगै फ्यानहरूलाई पनि राजनीतिमा डोर्‍याए।उनका पक्षमा खुलेर लागे।

‘टक टु घरबेटी’

युवा जमात त ‘कन्भिन्स’ थियो नै।तर घरमै बस्ने ‘घरबेटी’लाई कसरी कन्भिन्स गर्ने भन्नेमा बालेनका समर्थकहरू चिन्तित थिए।सल्लाह गर्दै जाँदा काठमाडौंका घरबेटीहरूलाई सम्झाउने अर्थात् (टक टु घरबेटी) अभियान सञ्चालन गरियो।त्यसअनुसार बालेनलाई किन मत दिने ? किन परम्परागत पार्टीले केही गर्न सकेनन् भन्ने लगायतका सामग्री बनाएर ‘टक टु घरबेटी’ कार्यक्रम सञ्चालन गरिएको उनका समर्थकहरू बताउँछन्।बालेनका समर्थकहरूले यस्तो अभियान सञ्चालन गरेका बेला कांग्रेस र एमाले उम्मेदवारहरू भने कोणसभा र पार्टी प्यालेसका सभामा व्यस्त थिए।

सेयर बजारको समर्थन 

बालेनलाई चुनाव जिताउन सेयर बजारका अभियन्ता पनि सक्रिय भएर लागेका थिए।पुराना पार्टी र नेताका कारण सेयर बजार ध्वस्त भएको र सेयर बजारप्रति उनीहरू ‘नकारात्मक’ रहेको भन्दै नो भोटको अभियान सुरु गरिएको थियो।मतपत्रमा ‘नो भोट’ को व्यवस्था नभएका कारण त्यो मत बालेनलाई दिनुपर्ने अभियान सुरु गरिएको थियो।बालेनले चुनाव जिते सेयर बजार सप्रिने र परम्रागत पार्टीहरूलाई सन्देश दिनुपर्ने भन्दै बालेनका पक्षमा अभियान नै सुरु गरिएको थियो।

परिवर्तनको चाहना 

युवा पुस्तामा परम्परागत राजनीतिप्रति वितृष्णा बढ्दो छ।आकर्षण गर्ने नारा र नीति बोक्न छोडेका छन्, दलहरूले।छिमेकी देशहरूले विकासको कोल्टे फेरिसक्दा पनि मुलुक उस्तै रहेकोमा युवा जमात असन्तुष्ट छ।छिटोछिटो परिवर्तन र नयाँ अनुहारको खोजीमा छ।त्यसैकारण युवा जमातको रोजाइमा बालेन परेको राजनीतिकर्मीहरू नै बताउँछन्।पूर्वसचिव एवं पूर्वाधारविज्ञ डा. किशोर थापा नेपाली जनताले राजनीतिक परिवर्तन चाहेको बताउँछन्।‘पुराना प्रवृत्ति, पात्र र पार्टीप्रति जनता दिक्क छन्,’ थापाले भने,‘जनताले फे्रस अनुहार र फ्रेस आइडिया चाहन्छन् ।’ आफूलाई ठूला शक्ति ठान्ने र जे गरे पनि हुन्छ भन्ने दलहरूबाट काठमाडौंले मुक्तिको सन्देश दिएको थापाको भनाइ छ।२०४९ मा भएको स्थानीय निकाय चुनावमा कांग्रेसका पीएल सिंह मेयर भएका थिए।२०५४ मा एमालेका केशव स्थापित  र  २०७४ मा एमालेकै विद्यासुन्दर शाक्य मेयर बनेका थिए।

कांग्रेस नेता ढकाल पनि जेल, नेल, त्याग र तपस्याले मात्र राजनीति अघि बढ्न नसक्ने भन्दै समयसापेक्ष राजनीति गर्नु पर्ने बताउँछन्।‘समयसापेक्ष, सूचना र प्रविधिमा धेरै अगाडि रहेको युवाबीच लोकप्रिय उम्मेदवार बनाउनु पर्छ भन्ने सन्देश पनि दिएको छ,’ ढकालले भने।

चुनौतीका चाङ

बालेन डा.रामनारायण साह र धु्रवदेवी साहका छोरा हुन््।बुवा रामनारायण आयुर्वेदिक चिकित्सक हुन्।काठमाडौंको नरदेवीमा जन्मिएका ३२ वर्षीय बालेन पेसाले इन्जिनियर हुन्।बालेन र्‍याप गायकका रूपमा पनि परिचित छन्।संगीत निर्माता, गीत लेखक, निर्देशक पनि हुन्।उनका गीतहरू प्रेम र मायामा मात्रै केवन्द्रत छैन्न।राजनीति, समाजिक परिवर्तनसँग पनि सम्बन्धित छन्। 

२०७२ सालको भूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए।काठमाडौंका जनताको अपेक्षा पहिचान गर्नु र काम गरेर देखाउनु बालेनको मुख्य चुनौती हो।जितपछि उनले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन पहल गर्ने त बताएका छन्।तर, चुनौती भने उत्तिकै छन्।चुनावमा भोट पाउनु र राज्य संयन्त्र सञ्चालन गर्नु नितान्त फरक विषय हुन्।‘केही गर्ने आशा लिइएका नेताहरू त्यसै बिलाउने र आशै नगरिएकाहरूले जनताको पक्षमा काम गरेका’ थुप्रै उदाहरण छन।

तर, काठमाडौं बदल्न असम्भव भने छैन।बालेनले म नभनी ‘हामी’ भन्ने गरेका छन्।‘हामी’ भित्र उनलाई सहयोग गर्ने विज्ञ र जानकारको ठूलो टिम छ भन्ने अनुमान गरिँदैछ।अर्कोतिर, उपमेयरदेखि वडाध्यक्ष दलका प्रतिनिधि छन्।उनीहरूलाई विश्वास र साथमा लिएर काम गर्नुपर्ने स्थिति बालेन सामु छ।पूर्वधारविज्ञ डा. थापा पार्टीबाट आएका जनप्रतिनिधिलाई विश्वास लिएर काम गर्नुपर्ने चुनौती बालेनसँग रहेको बताउँछन्।‘पार्टीबाट जितेका वडाध्यक्ष, वडासदस्य छन्,’ थापाले भने, ‘उनीहरूसँग  समन्वय, सहकार्य गर्नुपर्छ।तर पार्टीबाट निर्वाचित प्रतिनिधिहरूले नोक्सानी पुर्‍याउने,  पार्टीगत स्वार्थपूर्ण काम गराउन खोजेमा, आफूले गर्न खोजेका राम्राका अवरोध गर्न खोजेमा भने अनावश्यक सम्झौता गर्नुहुन्न।मतदाता गुहार्नुपर्छ ।’ पूर्वाधार विज्ञ डा. थापा अस्तव्यस्त, भद्रगोल काठमाडौंलाई ट्र्याकमा ल्याउन कामको प्राथमिकीरणको आधारमा काम गर्नुपर्ने बताउँछन्।


मतदाताले नरुचाएका पार्टीका उम्मेदवार 

एमाले उम्मेदवार केशव स्थापित ‘बोलीकै’ कारण सुरुदेखि नै विवादमा परे। उनीमाथि महिलालाई अपमान गरेको ‘मीटू’ को आरोप लाग्यो।विपक्षीमाथि व्यक्त भएका शब्दका कारण पनि स्थापित विवादमा परिरहे।चुनावी एजेन्डा अघि सार्ने र आफ्ना पक्षमा माहोल बनाउनतिर लागेनन्।२०७४ को निर्वाचनमा एमालेले पाएको मतको ‘घमण्ड’ गरिरहे।अघिल्लो निर्वाचनमा एमालेले झन्डै २० हजारको फरकमा चुनाव जितेको थियो।त, पाँच वर्षको अवधिमा धेरै नयाँ मतदाता थपिएको र बाग्मतीमा धेरै पानी बगिसकेको’ यथार्थ स्थापितले बिर्से।उनको उम्मेदवारीमाथि एमालेभित्रको असन्तुष्टि सतहमै प्रकट भएको थियो।

स्थापितलाई टिकट दिँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलको समेत असहमति थियो।तर, अध्यक्ष केपी ओलीलाई कन्भिस गरेका कारण स्थापितले टिकट पाएका थिए।वरिष्ठ उपाध्यक्ष पोखरेल र महासचिव पोखरेल निवर्तमान मेयर विद्यासुन्दर शाक्यलाई दोहोर्‍याउन चाहेका थिए।तर, शाक्यको कार्यकाल राम्रो नभएको भन्दै अध्यक्ष ओली उनका पक्षमा थिएनन्।शाक्यको कामकारबाहीप्रति काठमाडौंवासी मात्र होइन, पार्टीभित्र पनि चर्को असन्तुष्टि थियो।तर, स्थापित पनि निर्विवाद उम्मेदवार थिएनन्।एमाले सांसद रामवीर मानन्धरले त सार्वजनिक रूपमै स्थापितको आलोचना गरेका थिए।एमालेभित्रको असन्तुष्टि भित्रभित्रै निकै फैलिसकेको कुरा स्थापितले बिर्से।पार्टीले सही व्यक्ति नउठाएका कारण काठमाडौंको चुनाव हारिएको भन्ने एमालेभित्र ठूलो पंक्ति छ।कांग्रेसमा पनि सिर्जना सिंहको उम्मेदवारीले नेता÷कार्यकर्तामा तीव्र असन्तुष्टि थियो।पारिवारिक विरासतकै आधारमा सिर्जनाले टिकट पाएको भन्दै कांग्रेसका तीर्थराम डंगोल, भीमसेनदास प्रधानलगायतका नेताहरू सन्तुष्ट थिएनन्।कांग्रेस प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनमा लगाएको गुन तिर्न पार्टी सभापति शेरबहादुर देउवाले सिर्जनालाई टिकट दिएको भन्दै तीव्र असन्तुष्टि थियो।

प्रमुख दलप्रति ‘वितृष्णा’ बढ्दै गएका बेला उम्मेदवार पनि ‘ढंगिलो’ दिन नसकेको फाइदा बालेनलाई पुगेको थियो।कांग्रेस नेता लोकेश ढकाल पछिल्लो समयका राजनीतिक दलका क्रियाकलापका कारण स्वतन्त्र उम्मेदवारले जित्ने स्थिति आएको बताउँछन्।काठमाडौंले विचित्र परिणाम दिने गरेको ढकाल बताउँछन्।नानीमैयाँ दाहालदेखि गोल्छे सार्कीसम्मलाई जिताएको काठमाडौंले बालेनलाई जिताउनु अनौठो नभएको ढकालको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.