लिपुलेकको छिमेकतिर

लिपुलेकको छिमेकतिर

कालापानी, लिपुलेक र लिम्पियाधुरा त्यस्ता भूभाग हुन्, जसको उच्चारणले मात्रै पनि नेपालीमा राष्ट्रिय भाव पैदा गर्छ। त्यो हाम्रो भूमि हो, हाम्रो धर्ती हो भन्ने नेपालीलाई थाहा छ। तर त्यहाँ दशकौंदेखि भारतीय कब्जा छ। भारतीय थिचोमिचोले जति नेपालीको मन दुखेको छ, त्योभन्दा धेरै दुःख छ त्यहीं नजिकका बासिन्दालाई। हो, जहाँ नेपालीका गाईबस्तु र भेडाबाख्राको चरन थियो, अचेल भारतीय सेनाको परेड हुने गरेको छ। दार्चुलाको व्यास गाउँपालिकाका बासिन्दा भारतीय अतिक्रमणको पीडाका भुक्तभोगी हुन्। 

आफ्नै भूमि जान विदेशी भूमि प्रयोग गर्न व्यासीहरू बाध्य छन्। ‘नेपालबाटै गाउँसम्म पुग्ने बाटो छैन, विदेशी भूमि भएर आउजाउ गर्नुपर्दा भारतीय नागरिक र सुरक्षाकर्मीबाट हेपिनु परेको छ,’ व्यासकी शोभा तिङकरी भन्छिन्, ‘सरकारले केही गर्न सकेन कालापानी, लिपुलेक र लिम्पियाधुराको कुरालाई ठूलो मुद्दा बनाएर हामीहरूलाई आवत्जावतमा समस्या पु¥याएको छ। कालापानीको विषयमा यी कुराहरू नआउँथे भने हामीहरूले पनि सजिलै आउजाउ गर्न सक्थ्यौँ। अहिले उनीहरूको पनि गाली सुन्नु परेको छ।’ दार्चुलाको व्यास गाउँपालिकाको सीमामा पर्ने कालापानी क्षेत्रको बारेमा खासै वास्ता नगर्दा हेपिनु परेको व्यास गाउँपालिकाकी अर्की स्थानीय भावना बुढाथोकी बताउँछिन्। 

स्थानीय सरकारले बाटोसमेत बनाउन नसक्दा व्यासका बासिन्दा आक्रोशित छन्। व्यासको तिंकरमा  ६५ घरधुरी बसोबास गर्छन् भने छाङरुमा १ सय ५० भन्दा बढी घरधुरी छन्। व्यास गाउँपालिकाको २० लाख आर्थिक सहयोगमा बनाएको बाटो महाकाली नदीले बगाएपछि तिङकरवासीले पशुचौपाया र मानिसका लागि समेत बाटो नभएको नेपाली कांग्रेस दार्चुलाका पार्टी सभापति ललितसिंह बोहरा बताउँछन्। ‘यहाँका बासिन्दाहरूले आफ्नो सातुसामाल जहाँ गए पनि सँगै लैजानुपर्छ। त्यसैले यहाँका स्थानीय कुञ्चा (बसाइँसराइ) गर्दा सम्पूर्ण परिवारको साथै पशुहरू, खाने रासन, कपडा र भाँडाकुँडासहित आउँछन्। मंसिरमा सदरमुकाम झर्ने व्यासीहरू वैशाखमा पुनः खेतीपाती भित्र्याउन व्यास उक्लन्छन्। 

यहाँका नागरिकको मुख्य पेसा व्यापार हो। व्यासको छाङरु र तिंकरमा मात्रै झन्डै एक हजारभन्दा बढी जनसंख्याको बसोबास रहेको व्यासी शौका समाजका अध्यक्ष यशोदा तिंकरी बताउँछिन्। परापूर्वकालदेखि नै व्यासीहरूको दोहोरो बसाइ हुँदै आएको छ। उनीहरूको घरजग्गा जमिन सदरमुकाम खलंगामा समेत छ। उनीहरूले व्यासको छाङ्गरु तिंकर जस्तै खलंगामा तिंकर छाङ्गरुको बसाइ छुट्टाछुट्टै बसालेका छन्। 
५२ सय मिटरको उचाइमा रहेको चीनको १ नम्बर सीमा स्तम्भ नै तिङकर भन्ज्याङ छ। भारतले व्यासको लिपुलेकसम्मै आफ्नोपट्टि पारेर २०७६ कात्तिक १६ गते राजनीतिक नक्सा जारी गरेको थियो। त्यसप्रति असन्तुष्टि जनाउँदै नेपालले कूटनीतिक नोट पठाएको थियो। कालापानीलगायत क्षेत्र करिब ६ दशकदेखि भारतले अतिक्रमण गरेको छ। नेपाली भूमि लिपुलेकमा कैलाश-मानसरोवर जोड्ने सीमा सडकको ट्र्याक बनाइवरी भारतीय रक्षामन्त्री राजनाथ सिंहले गत वैशाख २६ गते उद्घाटन गरेका थिए। 

भारतीय हर्कतको नेपालले विरोध गरेको थियो। सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने आफ्नो प्रस्तावमा भारतले चासो नदिएपछि नेपाल सरकारले लिम्पियाधुरासम्मकै क्षेत्र समेटेर गत जेठ ७ गते राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। त्यसअघि व्यासको छाङ्रुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो। बीओपी भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा करिब १० किमि वर पर्छ। भारतीय एसएसबीले भने नेपाल प्रहरीलाई गस्ती जान दिँदैन। बरु आफ्नै अधीनमा राख्न खोजेको छ। पछिल्लो समय भारतले व्यासका बासिन्दालाई छाङरु नजिकैको सीतापुल हुँदै आउजाउ गर्न अवरोध पु¥याएको थियो। 

सशस्त्र द्वन्द्वकालअघिसम्म तिंकर र सीतापुलमा रहेका छोटी भन्सार सशस्त्र द्वन्द्वकालमा विस्थापित भएका थिए। सीमा क्षेत्रबाट सरकारी संयन्त्र विस्थापित भएपछि भारतीय गिरोहबाट हुने वन्यजन्तुको चोरीसिकार, काठ तथा जडीबुटी तस्करी नियन्त्रणमा पनि सरकारको ध्यान पुग्न सकेको थिएन। दार्चुला–तिंकर घोडेटो महाकालीले कटान र पहिरोले क्षति गरेपछि आउजाउ गर्नै नसकिने अवस्थामा पुगेको थियो। द्वन्द्वकालमै छाङरु र तिंकरका विद्यालय पनि सदरमुकामतिर सरे। त्यसपछि सीमा क्षेत्र ओझेलमा परेको थियो। 

जहिले नि बाटोको पिरलो 

दार्चुलाको व्यास गाउँपालिकामा २०३३/०३४ सालमा बनेको बाटो धेरै ठाउँमा भत्किएर हिँड्न नसकिने अवस्था छ। सबैभन्दा बढी तम्बाकु, कल्जु, दोपखेलगायतको क्षेत्रमा जोखिम भएको व्यासका सौकाहरू बताउँछन्। शौकाव्यासको यस्तो आदिवासी हो, जसको नेपालको अर्काे कुनै भूभागमा बसोबास छैन। पशुपालन र खेतीपाती गर्ने व्यास, छाङरु र तिंकरका स्थानीय चिसो बढेपछि हरेक वर्ष ६ महिना बेंसी तथा सदरमुकाम खलंगा झर्छन्। २०५९ सालसम्म नेपालकै बाटो भएर व्यासीहरू कुञ्चा सार्थे। त्यसपछि व्यास जोड्ने बाटोमा हरेक वर्ष बजेट जाने तर काम नभएरै बाटो बन्न नसकेको स्थानीय बताउँछन्। ‘मान्छे हिँड्न जोखिम रहेको ठाउँमा पशुचौपाया हिँडाउन झन् मुस्किल हुन्छ,’ मोहन तिंकरी भन्छन्, ‘भारतीय बाटो प्रयोग गर्न गुहारेपछि मात्रै उतैको बाटो तल आउन 
सजिलो भएको हो।’ 

दार्चुलाको व्यास गाउँपालिकामा बसोबास गर्ने व्यासी शौका समुदायको आफ्नो अलगै कला, संस्कृति छ। झन्डै २४ सय मिटरको उचाइको व्यास गाउँपालिकामा चिसो बढेपछि ६ महिना सदरमुकाम बस्ने उनीहरू बाँकी ६ महिनाका लागि पुनः लेकतिर लाग्छन्। नेपालको दार्चुलामा मात्रै बसोबास गर्ने एक मात्रै आदिवासी रहेको व्यासीहरू हरेक वर्ष ६/६ महिनाको अन्तरमा कुञ्चा सर्छन्। समुद्री सतहबाट १२ हजार फिट उचाइमा बसोबास रहेका तिंकरवासीले बालबालिका, पशुचौपाया, घोडा खच्चड, चौरी झुपु गाईगोरुसहित खलंगा (सदरमुकाम) झर्छन् स्थानीय पस्ती चस्कोट निवासी जनक धानुक बताउँछन्। 

व्यास गाउँपालिका—१ छाङ्गरु र तिंकरका समुदाय हरेक वर्ष ६ महिना सदरमुकाम खलंगा र ६ महिना व्यासको तिंकर र छाङ्गरु गाउँ कुञ्चा सर्छन्। कुञ्चालाई शौका समुदायको भाषामा बसाइँसराइ गर्नु भनिन्छ। तिंकरमा ६५ घरधुरीको बसोबास छ। तीमध्ये दुई परिवार दलित छन्। दलित परिवार पनि शौका समुदायकै भरमा बसोबास गर्ने गरेका छन्। भौगोलिक अवस्था हेर्ने हो भने छाङरुदेखि तिंकर १२ किलोमिटरको दूरीमा छ भने दार्चुला सदरमुकाम खलंगादेखि ८० किलोमिटरको दूरीमा छ। छाङरुको उचाइ ३३ सय मिटर छ भने तिंकर ३८ सय मिटर छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा न १ मा पर्ने तिंकर गाउँ त्यो माथि कुनै पनि मानव बस्ती छैन। वेदव्यासले यही व्यास भन्ने ठाउँमा चार वेद लेखेको मान्यता छ। 

उनीहरू पहिलेदेखि नै अन्न र ऊनको व्यापार गर्थे। पहिले तिनीहरू गाउँगाउँ गएर नुनले मकै साटेर जीवन निर्वाह गर्थे भने अहिले भारतीय नुन, चिनी, कपडा, गुँड आदिको व्यापार व्यवसाय गर्छन्। आफ्नै हातले बनाएको जाँडरक्सीको व्यापार गर्छन्। सेवा सत्कारको रूपमा बढीभन्दा बढी घरेलु मदिरा नै दिने चलन शौका जातिमा छ। शौका जातिको बिहेबारीमा पनि आमन्त्रण गरेकाहरूलाई पगरीको माध्यमबाट स्वागत सम्मान गर्ने चलन छ। 

गाउँ जान भारतको भर 

कात्तिकमा खेतीपाती लगाएर बेंसी झर्ने व्यासीहरू हरेक वर्ष वैशाख अन्तिम साता खेतीपाती भिœयाउन गाउँ उक्लन्छन्। उनीहरू वर्षको एकपटक उवा, नप्पल, तीते फापर, पल्ती र आलुजस्ता बाली लगाउने गरेको स्थानीय पत्रकार शंकरसिंह धामी बताउँछन्। यस क्षेत्रमा बसोबास गर्ने स्थानीयको मुख्य पेसा कृषि र व्यापार हो। व्यास गाउँपालिका–१ मा मात्रै झन्डै १ सय ७० परिवार शौका समुदायको बसोबास छ,’ उनी भन्छन्। 

विकासको पर्खाइ 

भारत र चीनसित सीमा जोडिएको व्यास गाउँपालिकामा विकासका सामान्य पूर्वाधार पनि निर्माण भएको छैन। भारत र चीनतर्फको सीमावर्ती क्षेत्रमा भने सडक, विद्युत्लगायत पूर्वाधारको विकास द्रुत गतिमा भइरहेको छ। तर, नेपालतर्फ भने विकास निर्माणको अवस्था निकै पछाडि छ। देशका विभिन्न जिल्लामा फोरजी सेवा सञ्चालन भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा अझै फोन सेवा प्रभावकारी हुन सकेको छैन। सरकारले जिल्लाका विभिन्न ठाउँमा टेलिफोन र मोबाइल टावर राखे पनि मौसम अनुकूल भए सञ्चालन हुने र प्रतिकूल हुँदा बन्द हुन्छ। पछिल्लो समय प्रविधिको विकासका कारण सञ्चार अनिवार्य आवश्यकताका रूपमा विकसित भए पनि भरपर्दो नहुँदा यहाँका स्थानीयले मौसम प्रतिकूल हँुदा समस्या भोग्नुपरेको व्यास—२ का रामु धामी बताउँछन्। 

स्थानीय निर्वाचनमा व्यासबाटै भोट 

त्रिदेशीय सीमा क्षेत्र व्यासमा बसोबास रहेका व्यासी शौकाहरू चुनावमा भोट हाल्न बेंसीबाट लेकतिर उक्लेका हुन्। परिवारका अधिकांश मानिस कुञ्चासंँगै व्यासका लागि हिँडेका हुन्। पञ्चायतकालदेखि व्यास गाउँपालिका–१ मा दुई मतदान केन्द्र कायम रहिआएको छ। व्यासको मतदान बेंसी र हिमाली क्षेत्रमा हुँदै आएको छ। स्वदेशबाट व्यास पुग्ने बाटो नहुँदा मतदाता भने भारतीय बाटो प्रयोग गरी गाउँ गएका थिए। 

पञ्चायतकालमा निर्माण भएको बाटो मर्मत नहुँदा व्यासका स्थानीय भारतीय बाटो प्रयोग गर्नु बाध्यता रहेको स्थानीय मोहनसिंह तिंकरीले बताए। व्यासको स्थानीय सरकारले पाँच वर्ष कार्यकाल पूरा गर्दासमेत स्वदेशबाटै गाउँ जाने बाटो मर्मत हुन नसक्दा भारतलाई गुहार्नु परेको स्थानीयको आरोप छ। ‘व्यासको स्थानीय सरकारले प्रत्येक आर्थिक वर्षमा व्यासको घोरेटो बाटो मर्मतमा बजेट खर्चेको छ,’ तिंकरीले भने, ‘हामी बेंसी र हिमाल जानुपर्दा भारतीय बाटो प्रयोग गर्नु परेको छ।’ 

सरकारलाई व्यासको दुई मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउन त्यति सजिलो भने हुँदैन । किनभने बाटो घाटो ठाउँठाउँमा भत्केको हुन्छ। जिल्ला निर्वाचन कार्यालयले भने छाङरु र तिंकरमा मतदान सम्पन्न गराउन हेलिकोप्टरको प्रयोग गरेको थियो। व्यासका दुई मतदान केन्द्रहरूमा भौगोलिक विकटता र असहज बाटोको कारण देखाएर जिल्ला निर्वाचन व्यवस्थापन समितिले मतदान सामग्री र कर्मचारी त्यहाँ पुर्‍याउन हेलिकोप्टरको माग गरी प्रयोगमा ल्याएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए। 

सुरक्षा निगरानी बढाउनुपर्ने 

सामरिक महत्त्व बोकेको यहाँको त्रिदेशीय सीमा क्षेत्र विगतदेखि नै वन्यजन्तुको आखेटोपहार ओसारपसारको मुख्य नाका मानिन्छ। अहिले यो अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने भएका गृह प्रशासन र संरक्षण क्षेत्रको पहलमा यहाँ सुरक्षा व्यवस्था गर्नुपर्ने देखिन्छ। तर व्यासवासीलाई सुरक्षाको अनुभूति कम भएको महसुस भएको छ। अहिले नेपालको तर्फबाट नेपाल सशस्त्र प्रहरीको उपस्थिति रहेको भएको पनि भारतीय पक्षले सो ठाउँमा गस्ती गर्न  दिँदैन। 

शौकाको संस्कृति 

नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने दार्चुला जिल्लाको महाकाली नगरपालिका, व्यास गाउँपालिकाको राप्ला, माल, दुम्लिङ, तिंकर, छाङरु, नाबी कुटी, गुन्जी, कालापानी, बुदी नौगाड गाउँपालिकाको साबिकको धुलिगडा गाविसको शौके बगर, सितोला गाविसको सितोलामा बसोबास गर्ने शौकासमुदायको आफ्नै संस्कृति, भेषभूषा, चालचलन र रहनसहन छ। 

जिल्लामा बसोबास गर्ने शौकासमुदायको महत्त्वपूर्ण चाडपर्वहरू हुन्छन्। शौकाजातिहरूका दुई महत्त्वपूर्ण पर्व छन्। छाङरु, तिंकर, बुदियालहरूको गाब्ला र श्री नमजुङ पूजन महत्त्वपूर्ण छ। श्री नमजुङ पूजन पर्व दसंै तिहारमा मनाइन्छ। शौकासमुदाय प्रायःजसो जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्छन्। 

वडा नं. २ राप्ला दुम्लिङमा बसोबास गर्छन् भने अपि हिमाल गाउँपालिकाको सितोलामा पनि शौकासमुदायको बसोबास भएको व्यास गाउँपालिकाका स्थानीय चक्रसिंह ह्याकी बताउँछन्। उनी भन्छन्, ‘केही वर्षअघि शौकासमुदायहरू नौगाड गाउँपालिकाको सौके बगडमा बसोबास गर्थे। तर अहिले उनीहरूको बसोबास त्यहाँ छैन।’ 

शौका समुदायको मुख्य पेसा गलैंचा, राडीपाखी बुन्ने, पशुपालन र कृषि नै हो। अहिले भने प्रायः त्यो पेसा क्रमशः लोप हुँदै गएको छ। पहिले बूढापाखाहरूले त्यो पेसालाई निकै महत्त्वका साथ चासो दिएर काम गर्ने गरेको स्थानीय प्रवेशप्रताप ऐतवालले बताए। तारा किसन फाउन्डेसन इन्कका सल्लाहकार किसनसिंह धामी शौका समुदायको संस्कृति, रहनसहन र समग्र जीवनशैलीलाई साहित्यमा समेट्नुपर्ने बताउँछन्। अमेरिका बसोबास गर्ने उनी यतिबेला गृह जिल्ला दार्चुला छन्। उनी भन्छन्, ‘यो समुदायभित्र अनेक कथा छन्। यिनका बारेमा कथा, कविता, उपन्यास, नाटक आदि विधामा लेख्न सकिन्छ। अझ चलचित्र निर्माण गर्न सके झनै उत्तम हुनेछ।’ 

भारत र चीनसित सीमा जोडिएको व्यास गाउँपालिकामा विकासका सामान्य पूर्वाधार पनि निर्माण भएको छैन। भारत र चीनतर्फको सीमावर्ती क्षेत्रमा भने सडक, विद्युत्लगायत पूर्वाधारको विकास द्रुत गतिमा भइरहेको छ। शौका जातिहरूका दुई महत्तवपूर्ण पर्व छन्। छाङरु, तिंकर, बुदियालहरूको गाब्ला र श्री नमजुङ पूजन महत्तवपूर्ण छ। श्री नमजुङ पूजन पर्व दसैं तिहारमा मनाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.