बागमतीमा घटे महिला जनप्रतिनिधि

बागमतीमा घटे महिला जनप्रतिनिधि

हेटौंडा : बागमती प्रदेशको स्थानीय तहमा महिला जनप्रतिनिधिको उपस्थिति कमजोर बन्दै गएको छ। उपत्यकाबाहेक १० जिल्लाको ९८ स्थानीय तहमा ५८ जना पालिका प्रमुख र उपप्रमुख निर्वाचित भएका छन्। तीमध्ये ६ पालिकामा प्रमुख र ५२ पालिकामा महिला उपप्रमुख निर्वाचित भएका छन्। 

२०७४ को स्थानीय निर्वाचनभन्दा यसपटक महिला प्रमुखको संख्या २ जना बढेको छ। तर, महिला उपप्रमुखको संख्या भने ३७ जना घटेको छ। २०७४ को  निर्वाचनमा ४ जना प्रमुख र ८९ जना उपप्रमुख निर्वाचित भएका थिए। 
गठबन्धन दलबीच प्रमुख र उपप्रमुख भागबण्डा हुँदा दुवै पदमा पुरुष उम्मेदवार बढी भएकाले महिलाको संख्या घटेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले बताए। 

संविधानले स्थानीय तहका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा कुनै एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। २०७८ चैत १२ गते निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्न निर्देशन दिएको थियो। 

तर, चैत २९ गते आफ्नो निर्देशन सच्याउँदै आयोगले ‘मनोनयनमा प्राथमिकता दिनुपर्ने’ हुनुपर्नेमा अन्यथा भएको भन्दै सच्याएको हो। उक्त निर्णयपछि एक–एक पदमा मात्रै उम्मेदवारी दिएका गठबन्धन दलले पुरुषलाई प्राथमिकता दिएर उम्मेदवार बनाएका थिए।

पुरुषले प्राथमिकता पाउँदा धेरै महिला आकांक्षीले स्थानीय निर्वाचनमा टिकट पाएनन्। बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामध्ये चितवनमा २ जना, सिन्धुलीमा २ जना, काभ्रे र मकवानपुरमा १÷१ जना महिला पालिका प्रमुख निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। 

चितवनको भरतपुर महानगरमा माओवादी केन्द्रकी रेणु दाहाल र माडी नगरपालिकामा नेकपा एमालेकी ताराकुमारी काजी महतो मेयरमा निर्वाचित भएका छन्। दाहाल पुनः मेयरमा दोहरिएकी हुन्। 
मकवानपुरको हेटौंडा उपमहानगरमा नेकपा (एकीकृत समाजवादी) बाट मेयरमा मीना लामा, सिन्धुलीको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल र फिकल गाउँपालिका अध्यक्षमा एमालेकी पार्वती सुनुवार अध्यक्षमा निर्वाचित भएका छन्। 

लामा यसअघि हेटौंडाको उपमेयरमा एमालेबाट निर्वाचित भएकी थिइन्। काभ्रेको चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी रेणुका चौलागाईं निर्वाचित भएकी छन्। प्रदेशमा सबैभन्दा धेरै सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये ११ जना उपप्रमुख महिला चयन भएका छन्। तीमध्ये ३ जना उपमेयर र ८ जना उपाध्यक्ष हुन्। नुवाकोट र रामेछापमा ८-८ जना, दोलखामा ७ जना, र सुवामा ४ जना उपप्रमुख निर्वाचित भएका छन्। धादिङ, काभ्रे, मकवानपुर र चितवनमा ३-३ र सिन्धुलीमा २ जना महिला उपप्रमुखमा निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्क छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.