बालेन बिम्ब

बालेन बिम्ब

माहाभारतमा अर्जुनका धेरै नाम थिए, जस्तो धनञ्जय, विजय, कीर्ति, कौन्तिय आदि। काम, परिवेश र सन्दर्भअनुसार कृष्णले अर्जुनलाई विभिन्न नामले सम्बोधन गर्थे। ती विविध नामहरूको अर्थ अर्जुनका कामसँग हुन्थ्यो। ती नामहरू विशेषण बन्थे। काम र नामसँगै उनका विविध पहिचान बन्थे। आज बालेन चर्चामा आइरहँदा, उनका बहुआयमिक पहिचानका परिचर्चा भइरहेका छन्। हिजोको र्‍यापर बालेन, आज मेयर बालेन बनेका छन । उनका पक्षमा जनताको अपार मत खस्यो । यस्तो लाग्छ काठमाडौंवासीको मत र जनताको समर्थनले बालेनलाई एउटा ‘सुपरन्याचुरल फोर्स’ बनाएको छ।

को हुन् बालेन ?

२०४७ सालमा पिता डा. रामनारायण साह (जो आयुर्वेदिक चिकित्सक थिए) र आमा ध्रुवदेवी (शान्ति) साहले बालेन अर्थात् बालेन्द्र साहलाई जन्म दिए। बालेन मधेसको तेली समुदायका युवा हुन्। उनका हजुरबुवा अजोधी साहले २००७ सालको जनक्रान्तिका बेला जनकपुर क्षेत्रमा ठूलो योगदान पुर्‍याएको मानिन्छ। यसरी उनका बाबुबाजे मधेसी मूलका भए पनि बालेन चैं काठमाडांैवासी हुन्। 

काठमाडौंमै जन्मे–हुर्केका उनी नेवारी भाषा बोल्न जान्दछन्। यहाँको संस्कार र संस्कृतिसँग परिचित छन्। बालेनले भनेका छन्, ‘म पनि नेवाः हुँ। नेवाः भनेको जात हैन समुदाय हो। काठमाडौं उपत्यकामा बसेर, यहाँको कला संस्कृतिलाई अपनाएर, यहाँको जात्रामा रमाएर, यहाँको पर्वचाड मनाएर, यहाँको भावनालाई बुझेर यहाँको संस्कृति बुझ्ने जति पनि उपत्यकावासी छन्, ती सबै नेवा हुन्।’

काठमाडौंको गौरीगाउँ तीनकुनेमा जन्मिएका बालेनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र कर्नाटक विश्वेश्वरैया राष्ट्रिय औद्योगिक संस्थानबाट स्ट्रकचरल इन्जिनियरिङमा स्नातकोत्तर गरे। पेसागत हिसाबमा उनले धेरैवटा पहिचान बोकेका छन्। उनलाई झट्ट चिन्नेले र्‍यापरको रूपमा चिन्छन्। तर उनी इन्जिनियर, भिडियो डाइरेक्टर, स्क्रिप्ट राइटर, संगीत निर्माता, गीत लेखक, निर्देशक र सामाजिक अभियन्ता हुन्। तर अब उनको छवि र पहिचान त्योभन्दा पनि बढी काठमाडौं महानगरपालिकाको मेयरमा उठेका एक युवाको रूपमा भएको छ।

उनले पाँच वर्ष पहिल्यै काठमाडौं महानगरपालिकाको मेयरको पदमा चुनाव लड्ने घोषणा गरेका थिए। उनले पोस्टमा भनेका थिए ‘यसपालि मैले भोट दिइनँ। किनभने, म उम्मेदवार होइन। अर्कोपालि भोट दिनेछु, आफैंलाई। मलाई अरू कसैको भर लाग्दैन।’ आखिर उनले त्यो काम फत्ते गरेरै छोडे– आफैं उम्मेदवार भएर उठे अनि आफैंलाई भोट हाले। उनले आफूलाई बोलीको पक्का भएको देखाए। आफ्नो मेयरको उम्मेदवारीलाई उनले भनेका छन्, ‘म राजनीतिमा छिरेको भन्दा पनि काठमाडौंको विकास गर्न आएको हुँ।’

किने उठे बालेन मेयरमा ?

बालेनलाई नजिकबाट चिन्नेहरू भन्छन्, बालेन नाकाबन्दीका बेलादेखि नै राजनीतिक गतिविधिमा संलग्न हुन थालेका थिए। नाकाबन्दीताका फेसबुकको ‘एमआरआर’ समूहले आयोजना गरेको सडकभोजमा होस् वा त्यस्तै अर्को समूह ‘दाह्री ग्याङ’ले गर्ने विभिन्न सामाजिक कार्यक्रममा, बालेन सहभागी हुन्थे। उनले काठमाडौंको मेयर पदलाई अरु राजनीतिक नेताभन्दा फरक किसिमले हेरेका छन्। उनी भन्छन्, ‘काठमाडौंको मेयर पद भनेको कुनै कम्पनीको सीईओजस्तो हो। मेयरको पद राम्रो ज्ञान भएको मान्छेले लिनुपर्छ। राजनीतिसँग तुलना गर्न मिल्दैन।’

बालेनका एजेन्डा 

बालेनले सरकारलाई डिजिटल बनाउनेदेखि आइडिया बैंकसम्मको अवधारणालाई अघि सारेका छन्। सर्वसाधारणलाई कुनै दुःख नदिने हिसाबले उनले विभिन्न विषयमा प्रतिबद्धता नै जनाएका छन्। जस्तो व्यक्तिगत घटना दर्ता, वृद्धभत्ता वितरण घरघरमै पुगेर गर्ने। सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता गर्ने र त्यसका लागि डिजिटल माध्यम प्रयोग गर्ने। जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरूको होम डेलिभरि गर्ने बालेनको एजेन्डामा छन्। उनका एजेन्डामा युवालाई व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले करियर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने पनि छ। 

कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षा दिनेसमेत उल्लेख छ। भन्छन्, आफू इन्जिनियरिङको विद्यार्थी भएकाले काठमाडौंलाई एउटा सबल इन्जिनियरको खाँचो छ।

बालेन माथिको आरोप

चुनावको समयमा केशव स्थापितले उनलाई ‘अन्तर्राष्ट्रिय ठग’समेत भन्न भ्याए। बालेनले कलिलो उमेरमा गरेका र्‍याप भिडियोहरू सार्वजनिक गर्दै त्यहाँ प्रयोग भएका केही अश्लीलतालाई महिलामाथिको दुव्र्यवहारको रूपमा पनि हेरे र प्रश्न उठाए। कालो चस्मा लाउनेले कसरी जनताका आँखामा सिधा हेरेर राजनीति गर्न सक्छ भनेर पनि होच्याउन र गल्ती देखाउन खोजे। कतिले भने, ‘अहो, बालेनले ट्विटरमा एक जनालाई पनि फलो गरेको छैन। यो घमण्डको अर्थ के हो ?’ बालेन साह देशको झन्डा काँधमा राखेर हिँडिरहेका तस्बिरहरू जताततै आउन थालेपछि अर्काथरीले भने, ‘देशको झन्डालाई यसरी प्रयोग गर्नु भएन।’ तर अहिलेको मत संख्याको नतिजा हेर्दा ती कुनैले बालेनलाई टसको मस पारेन।

बालेनको आत्मविश्वास

‘म ९० हजारभन्दा बढी मत ल्याउँछु’ भनेरै पूर्ण विश्वासका साथ बालेन लागिपरे। हरेक अन्तर्वार्तामा उनले त्यो कुरा दोहोर्‍याइरहे। उनले भनेका थिए, ‘हामीले सबै तथ्यांकको अध्ययन गरेका छौं, काठमाडौंका ३२ वटै वडाबाट।’ यसरी तोकेरै भन्नुमा उनको अध्ययन र अनुसन्धान झल्किन्छ। जब बालेन मैदानमा उत्रिए तब युवालगायत धेरै सेलिब्रेटीले उनलाई समर्थन गरे। उनलाई सामाजिक सञ्जालमा उनको तस्बिर र चुनाव चिन्न लौरो राखेरै प्रचार गर्न भ्याए।

अन्त्यमा, बालेन बिम्ब 

बालेन अहिले एउटा बिम्ब बनेको छ, नाम मात्र होइन। बालेन शब्द होइन, सम्भावना बनेको छ। बालेन अक्षर होइन, एजेन्डा भएको छ। बालेन नेताका कार्यक्षमताका लागि चुनौती भएको छ। युवा पिँढीका लागि मार्गनिर्देशन भएर उभिएको छ। उनले भनेका छन्, ‘कुनै राजनीतिक दल, व्यक्ति र पार्टीलाई गाली गर्ने होइन, हामीले कसरी हुन्छ राम्रो काम गर्ने हो।’ जुन सायदै कुनै नेताले भनेको होस्।

यदि भोलि बालेनले मेयर पदमा जिते भने बालेन विध्वंसको बल बन्नु हुँदैन। सुसंस्कृत राजनीतिक व्यक्तित्व बन्नुपर्छ जुन देश विकाससँग जोडियोस्। बालेनलाई यो पहिचान दिएको जनताले हो। स्वतन्त्रबाट उठ्दा उनका पछाडि थुप्रै चुनौती छन्। ‘खासै चुनौती छैन, सजिलो छ’, बालेन भन्छन्, ‘किनकि मलाई समस्या के हो थाहा छ। मात्र कडा परिश्रम चाहिन्छ।’ बालेनको व्यवहार हेर्दा यस्तो लाग्छ भोलि उनी मेयर भए भने खराब काम गर्ने छैनन्। किनभने बालेनले सधैं बोल्दा ‘हामी’ भन्छन्, जबकि कि उनी एक्लो उठेका छन्। ‘हामी’ सम्भवतः जनता हुन्।
आचार्य, लेखक तथा अनुसन्धानकर्ता हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.