धनकुटाका सातै तहमा कार्यपालिका निर्वाचन, ४ मा एमाले र ३ मा गठबन्धनको बहुमत
धनकुटा : जिल्लाको सातै स्थानीय तहमा सोमबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा ४ पालिकामा नेकपा एमाले र ३ पालिकामा गठबन्धनको बहुमत आएको छ।
निर्वाचन मत परिणाम अनुसार धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित हुँदा कार्यपालिकामा गठवन्धनको वहुमत आएको छ। त्यस्तै पाख्रिवास नगरपालिका सहित साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका र चौविसे गाउँपालिकामा निर्वाचन मत परिणाम अनुसार नेकपा एमालेको कार्यपालिकामा वहुमत आएको छ।
कार्यपालिका निर्वाचनमा स्थानीय तहको नगरपालिकामा महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकतर्फ ३ जना निवार्चित भएका छन्। यस्तै गाउँपालिकामा महिलातर्फ ४ जना र दलित तथा अल्पसंख्यकतर्फ २ जना निवार्चित भएका छन्। कार्यपालिका निर्वाचनमा बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निवार्चित नगरसभा सदस्यहरुले मतदान गरेका थिए। महिलातर्फ वडा सदस्यमा निवार्चित भएकाहरु मध्येबाट चुनिएका हुन् भने गतनिर्वाचन भन्दा बाहिरबाट दलित तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु चुनिएका मुख्य निर्वाचन अधिकृत फडिन्द्र प्रसाद पराजुलीले बताए।
धनकुटा नगरपालिका कार्यपालिका सदस्य निर्वाचनमा गठवन्धनका उम्मेदवार निर्वाचित भएका छन्। सोमवार सामुदायिक भवनमा सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठवन्धनका उम्मेदवारहरु कृष्णमाया श्रेष्ठ, ज्ञानु राई, मञ्जु कार्की, मनकला लङ्वा (लिम्बू), रेजीना हिङमाङ, दिलकुमार राई, भोगेन्द्रकुमार राई, सुरेन्द्र राई (आठपहरिया) विजयी भएका हुन्। नगर कार्यपालिकामा गठवन्धनको वहुमत देखिएको छ। नगर प्रमुख, उपप्रमुख सहित २० सदस्यीय हुने कार्यपालिकामा गठवन्धन १३ र नेकपा एमालेका ७ सदस्यीय छन्। अघिल्लो निर्वाचनमा नगरपालिका कार्यपालिकामा नेकपा एमालेको एक्लै वहुमत थियो। नगरपालिका १० वडा मध्ये ५ नेकपा एमाले र ५ गठवन्धनले जितेको थियो। नगरसभा सदस्य नेकपा एमाले २५ र गठवन्धन २६ सदस्य रहेको थियो।
यसैगरी सहिदभूमि गाउँ कार्यपालिका निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। विजयी हुनेमा प्रकाश राई, सावित्रा राई, दिवानी राई, मधु भण्डारी, विनिता राई र वालिका विश्वकर्मा छन्।
छथरजोरपाटी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा गठवन्धनको तर्फबाट प्यानल नै विजयी भएका छन्। गठवन्धनको तर्फबाट विजयी हुनेमा रामबहादुर राई, फूर्वा रेन्जि शेर्पा, धनमाया विक, मिना लिम्बू, रामप्यारी विष्ट र मिङ्मा शेर्पा रहेका छन्।
महालक्ष्मी नगर कार्यपालिकामा पनि गठवन्धनको वहुमत आएको छ। गठवन्धनका ५ र नेकपा एमालेका ३ उम्मेदवार विजयी भए। गठवन्धनको तर्फबाट याम लिम्बूखिम, मिना खपाङ्गी, कमला सुन्दास, मनकुमारी वि.क., गोकर्ण तुम्वा निर्वाचित हुँदा नेकपा एमालेबाट अम्विका थापा, प्रिन्सा थापा र कुलवहादुर सुन्दास निर्वाचित भए। १९ सदस्यीय नगर कार्यपालिका गठवन्धन वहुमत देखिएको छ। कार्यपालिकामा गठवन्धनको ११ र नेकपा एमालेको ८ सदस्य छन्।
चौविसे गाउँ कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनेमा देवकुमारी गजमेर, लक्ष्मी माया मगर, वेनु याखा, छलमाया राई, नारायणकुमार परियार र शारदा देवान छन्।
साँगुरीगढी गाउँपालिकामा नेकपा एमालेका प्यानलै उम्मेदवार विजयी भएका छन्। विजयी हुनेमा वालकृष्ण राई, भलकमान राई, उर्मिला राई, वुद्धिकुमारी लिम्बू, ज्योति राई, निर्मला दर्र्जी रहेका छन्। निर्वाचित कार्यपालिका सदस्य मध्ये भलकमान राई गोलाप्रथाबाट निर्वाचित भएका हुन्।
पाख्रिवास नगर कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेको एकल वहुमत आएको छ। आज सम्पन्न कार्य पालिका निर्वाचनमा नेकपा एमालेका प्यानल उम्मेदवार नै विजयी भए। विजयी हुनेमा तारादेवी ढकाल (धमला), विष्णुमाया विश्वकर्मा, गिता परियार, सितादेवी वस्नेत, सरिता कार्की, इन्द्रकुमार राई, नगेन्द्र राई, रुपवहादुर विश्वकर्मा रहेका छन्।
सातै स्थानीय तहको कार्यपालिकामा महिला सदस्य/दलित वा अल्पसङ्ख्यक सदस्य पदको लागि निर्वाचन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !