शव सनाखतमा सकस

शव सनाखतमा सकस

काठमाडौं : सामान्यतः मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ। तर, दुर्घटनाग्रस्त तारा एयरमा सवार व्यक्तिको शव पोस्टमार्टम गर्नुको कारण फरक छ। चिकित्सकहरू भन्छन्, ‘मृत्युको कारण पत्ता लगाउन होइन। शवको पहिचान गर्न मंगलबारदेखि पोस्टमार्टम गर्दैछौं।’

तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेका यात्रुको शव सग्लो छैन। टुक्रा–टुक्रा शव संकलन गरी काठमाडौं ल्याउन धौधौ भइरहेको छ। मुस्ताङको थासाङ–२ स्थित कोवाङबाट पोखरा हुँदै १० वटा शव मात्र काठमाडौं ल्याइएको छ। स्थानीयवासीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीको सहयोगमा दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको हो।

‘शवको पोष्टमार्टमका लागि हाम्रो चिकित्सकीय टिम तयारी अवस्थामा छ’, त्रिभुवन विश्वविद्यालय, फरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा. गोपालकुमार चौधरी भन्छन्, ‘मंगलबार बिहानबाट पोस्टमार्टम सुरु हुन्छ।’ 

त्रिभुवन विश्वविद्यालय, फरेन्सिक मेडिसिन विभागका चिकित्सकहरू पोष्टमार्टमका लागि तयार छन्। उनीहरूलाई रेजिडेन्ट चिकित्सक पनि सघाउँदै छन्। ९ जनाको चिकित्सकीय टिम पोष्टमार्टममा जुटेका छन्।  
शवगृहमा सोमबार साँझसम्म १० वटा शव ल्याइएको छ। शव पोको पारेर ल्याइएको हो। शव ल्याउन संलग्न एक प्रहरी भन्छन्, ‘टुक्रा–टुक्रा अवस्थाका शव छन्। ९ जनाको पनि हुन सक्छ। १० जनाको पनि हुन सक्छ।’ 

तस्बिर : सरोज बैजु

२२ जनामध्ये २१ शव फेला परेको छ।फेला परेका शव कसको हो ? त्यो पत्ता लगाउनुपर्ने चुनौती चिकित्सकलाई छ। तर, फरेन्सिक मेडिसिन विभाग प्रमुख प्राडा तुलसी कँडेलको नेतृत्वमा ९ जनाको चिकित्सकीय टिमको काँधमा शव पहिचानको जिम्मेवारी छ।

फरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा. चौधरीका अनुसार, डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) अर्थात् दुर्घटनामा परेकाहरूको शवको पहिचान गर्न पूर्वतयारी सहितको योजना बनाइसकिएको छ। ‘मंगलबार बिहानदेखि तपाईंले हामीलाई भेट्न पाउनु हुन्छ,’ सोमबार साँझ डा. चौधरीले भने,‘ शव आइसकेको छ। अब शव पहिचानका लागि अपनाइने विभिन्न प्रक्रिया अघि बढ्छ। ’

फरेन्सिक विभागमा आइसकेका शवको मंगलबार पोष्टमार्टम एक्जामिनेसन सुरु हुनेछ । डा. चौधरीका अनुसार पोस्टमार्टम एक्जामिनेसनमा शवको पहिचान गर्न सकिने संकेत, चिह्नहरूको गहन अध्ययन हुन्छ। औंठी, माला, गरगहना, लुगा कपडालगायत पहिचान खुल्ने अन्य विवरण पोस्टमार्टममा संकलन गरिन्छ।  चश्मा लगाउने गरेको/नगरेको लगायत विवरणको सूक्ष्म अध्ययन गरिन्छ। शव सग्लो छ भने फिंगर प्रिन्ट पनि लिइन्छ। दाँतको संरचना तथा वनावटको विवरण पनि पोष्टमार्टम एक्जामिनेसनमा संकलन गरिने चिकित्सक बताउँछन्। 

‘कसको शव हो ? त्यसको पहिचान गर्न सजिलो होस् भनेर पोष्टमार्टम एक्जामिनेसन गरिन्छ,’ डा. चौधरी भन्छन्, ‘पोष्टमार्टम एक्जामिनेसन लगत्तै एन्टिमोटम एक्जामिनेसन हुन्छ। यसमा मृतकको परिवारबाट विवरण संकलन गरिन्छ।’ मृतकको उचाइ, कपाल, आँखा, चश्मा लगाउने गरेको छ÷छैन। दाँतको अवस्था  (टम्म मिलेको वा छिद्र)कस्तो छ ? त्यस सम्बन्धमा पनि विवरण संकलन गरिन्छ। 

पोष्टमार्टम गर्दा फेला पारेका विवरण (पोष्टमार्टम डाटा) र आफन्तबाट प्राप्त विवरण (एन्टिमोटम डाटा) आपसमा भिडाइन्छ। ‘जीवित छँदा पहिचान हुने विवरण के के हुन सक्छन् ? जस्तै शरीरको कुनै स्थानमा कुनै चिह्न, कोठी, चोटपटकको खत, ट्याटुलगायतका विवरण (एन्टिमोटम डाटा)को अध्ययन गरिन्छ,’ डा. चौधरी भन्छन्,‘ पोष्टमार्टम र एन्टिमोटम डाटा प्राप्त भएपछि आपसमा मिल्ने (म्याच) हुन्छ/हुँदैन हेरिन्छ। मिलेको छ भने सम्बन्धित परिवारलाई शव हस्तान्तरणको प्रक्रिया सुरु गर्छांै।’

शव हस्तान्तरण गर्दासम्मको सबै प्रक्रिया पूरा गर्नका लागि चारवटा चिकित्सकीय टिम बनाइएको छ।  डा. कँडेलको नेतृत्वमा  डा. गोपालकुमार चौधरी,  डा. युगेन डोल्मा वालुङ, डा. मणिराज महर्जन र डा. समरिका दाहाल छन्। फरेन्सिक विभागमा कार्यरत पाँच जनाको टिमलाई एमडी रेसिडेन्ट चिकित्सकले सघाउने छन्। सघाउने चिकित्सकहरूमा  डा. सवनम श्रेष्ठ, डा. सुशीला गुरुङ, डा. विशाल सहनी र डा. आयुष पौडेल उपाध्याय छन्। 

शव हस्तान्तरण कहिले ? 

तारा एयरमा २२ जना सवार थिए। सवार सबैको शव टुक्रा–टुक्रा अवस्थामा फेला परेको छ। सवारमध्ये कसैको शरीरका भित्री अंग (कलेजो, पित्त थैली, मिर्गौला, एपेन्डिक्स)को अप्रेसन गरेको रहेछ भने पहिचान गर्न सहज हुने चिकित्सकको भनाइ छ। ‘चार दिनसम्ममा पहिचान गर्न सकिन्छ कि भन्ने लागेको छ,’ प्राडा कँडेल भन्छन्, ‘आफन्तलाई कहिले शव हस्तान्तरण हुन्छ भनी यकिनका साथ भनी हाल्न  गाह्रो छ।

शव कस्तो प्रकृतिको छ ? त्यसमा भर पर्छ।’ यद्यपि पोष्टमार्टमा संलग्न चिकित्सकहरू एक सातामा शव हस्तान्तरण गर्न सकिने अनुमान गर्छन्। डा. चौधरीका अनुसार परिवारजनले आफ्नो रितिरिवाज एवं परम्परामा आधारित रहेर दाहसंस्कार गर्न पावस भन्ने उद्देश्यले नै पोष्टमार्टम गर्नु परेको हो। 


‘परिवारलाई दिन एक साता लाग्न सक्छ’

प्रा. डा. तुलसी कँडेल,  प्रमुख, फरेन्सिक मेडिसिन विभाग, त्रिवि

पोष्टमार्टम कहिले सकिन्छ ?

शवको प्रकृतिमा भर पर्छ। त्यसका साथै सबै शव कहिले प्राप्त हुन्छ ? त्यसमा पनि भर पर्छ। कस्तो शव प्राप्त हुन्छ त्यहीँअनुसार पोष्टमार्टछ छिटो/ढिलो सम्पन्न हुने हुन्छ। 

अहिलेसम्म कतिवटा शव प्राप्त भएको छ ?
२२ वटा शव प्राप्त हुनुपर्ने हो। ९–१० वटा शव प्राप्त भएको छ। 

शोकाकूल परिवारजनलाई शव कहिले दिन सकिएला ?
हामी चाँडै नै पोष्टमार्टम गरी परिवारजनलाई दिनुपर्छ भन्ने मान्यतामा छौं। त्यसका लागि सबै शव समयमा प्राप्त हुँदा पहिचानको कार्य पनि चाँडै सकिन्छ। शव प्राप्त भएको मितिले परिवारजनलाई शव दिन सामान्यतया चार दिनदेखि एक सातासम्म लाग्न सक्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.