अस्पतालको फोहोर, हैट!

अस्पतालको फोहोर, हैट!

स‌ंविधानको धारा ३० ले भन्छ, ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ। वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।’ तर, मौलिक हकको यी प्रावधान लागू गर्न स्वास्थ्य संस्थाहरूलाई सकस छ। बिरामीलाई स्वस्थ गराउन प्रयासरत अस्पताल नै स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिक हक कार्यान्वयनमा उदासिन देखिएका छन्। 

मुलुककै जेठो वीर अस्पतालले अझै पनि परम्परागत शैली र प्रविधिबाट फोहोर व्यवस्थापन गर्दै आएको छ। नवीनतम प्रविधि ल्याउने योजना बनाएको २ वर्ष भइसक्यो। तर, खरिद गर्न सकेको छैन। ‘बिरामीको बढ्दो चापसँगै फोहोर पनि बढ्दै गएको छ,’ वीर अस्पतालका प्रमुख  डा. भुपेन्द्र बस्नेत भन्छन्, ‘फोहोर छुट्याउने नवीनतम प्रविधि ल्याउने तयारीमा छौं। यो मेसिनले फोहोरलाई स–साना टुक्रा गरेर धुलो पार्छ। संक्रमणको जोखिम पनि हुँदैन।’  

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. दिनेशकुमार काफ्लेका अनुसार जापानले अनुदानमा दिएको पुरोनो इन्सिनेरेटरको उपयोग गरिएको छ। ‘अहिले इन्सिनेरेटर राम्रो मानिँदैन। तैपनि विशेष खालको व्यवस्था गरेर एउटा इन्सिनेरेटरको उपयोग गरेका छौं। फोहोरलाई  तताउने, फिल्टर गर्ने गरेर व्यवस्थापन गर्न सजिलो भएको छ,’ उनले भने। 

फोहोरको जोखिम

स्वास्थ्य संस्थामा आ–आफ्नै किसिमले संकेत (कलर कोडिङ) गरिएका भाँडो देखिन्छ। हरियो, कालो , नीलो, पहेंलो रङ लगाइएका प्रायजसो बाल्टिनमा फोहोर राखेको पाइन्छ। फोहोरको प्रकारअनुसार फोहोर राख्ने भाँडोको प्रयोग गरिन्छ।

स्वास्थ्यजन्य फोहोरमैलालाई जोखिमपूर्ण र जोखिमरहित गरी २ भागमा विभाजन गरिएको छ। जोखिमरहित फोहोरलाई कुहिने र नकुहिने फोहोरमा बाँडिएको छ।  त्यस्तै, जोखिमपूर्ण फोहोरलाई संक्रमित, प्याथोलोजिकल औषधिजन्य, धारिलो गरी वर्गीकरण गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक तथ्यांकअनुसार उपचाररत एक बिरामीबाट दैनिक २–३ किलोग्राम फोहोर जम्मा हुन्छ। जसमध्ये १५ प्रतिशत अति जोखिम मानिन्छ। अति जोखिम फोहोरको उचित व्यवस्थापन गर्न उपकरणको अभाव छ। प्याथोलोजिकल फोहोर, संक्रमित फोहोर, औषधिजन्य फोहोरलाई लिइन्छ।  

स्वास्थ्य संस्थाहरूमा सामान्य फोहोर मात्र नभई अति जोखिम फोहोरको व्यवस्थापन गर्ने तौरतरिका निकै कमजोर भएको बताउँछन्, परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली। कतिपय अस्पतालमा निर्मलीकरण गर्नुपर्ने फोहोरलाई प्लाष्टिकको झोलामा पोका पारेर राख्ने गरिएको छ। जसबाट दुर्गन्ध आइरहेको हुन्छ। वातावरण विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलका अनुसार कतिपय अस्पतालमा फोहोर जम्मा गर्ने र छुट्याउने स्थान निकै साँघुरो छ। ठाउँको अभावमा पेपर कार्टुनहरू पनि प्रयोग गरिएको छ। सामान्य र हानिकारक फोहोरलाई नजिकै राख्ने गरिन्छ। पौडेल भन्छन्, ‘फोहोर संकलन क्षेत्र पनि अन्त्यन्त सानो छ। सामान्य फोहोरमा हानिकारक फोहोर मिसिएको पनि अनुगमनमा पाइएको छ।’

डा. ज्ञवालीका अनुसार संक्रमणयुक्त फोहोरबाट हेपाइटाइटीस,  एचआईभीलगायतको संक्रमण हुने जोखिम रहेको बताउँछन्। वातावरण मन्त्रालयबाट हरेक वर्ष अस्पतालको फोहोरमैला व्यवस्थापनको अनुगमन  हुन्छ। तर, लापरबाही गर्ने  अस्पताललाई कानुनी कारबाही नहुँदा अनुगमन उपलब्धिमुलक हुन सकेको छैन।  विभागका निरीक्षक पौडेल भन्छन्, ‘अनुगमन जाँदा फोहोर व्यवस्थापनमा लापरबाही गर्ने अस्पताललाई तत्कालै कारबाही गर्न सकिँदैन। कारबाहीको लागि कानुनी व्यवस्था भएन। जसले गर्दा अस्पताल प्रशासनले फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन्।’ 

फोहोरलाई मोहोर

अस्पतालहरूमा निर्मलीकरणपछि बिक्री हुने फोहोर (पानीको बोतल, प्लास्टिक) लाई पुनः छुट्याउने गरिन्छ। निजामती अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलका अनुसार फोहोर छुट्याएर व्यवस्थापन गरिँदै आएको छ। ‘फोहोर पनि बिक्री हुने गरेको छ। बिक्रि भएको फोहोरको केही रकम प्रोत्साहनस्वरूप सफाइकर्मीलाई दिने गरेका छौं,’ उनले भने। फोहोरलाई बिक्री गरेर आम्दानी गर्ने अस्पतालहरूको सूचीमा त्रिवि शिक्षण अस्पताल र वीर अस्पताल पनि पर्छन्। वीरका निर्देशक डा. बस्नेतका अनुसार अस्पतालबाट फोहोर निस्कने स्रोतमै छुट्याइने गरिएको छ।  रोग सार्ने खालका फोहोरलाई पहिल्यै जम्मा गरेर ‘अटोक्लेभ’ विधिद्वारा निर्मलीकरण गरिन्छ । 

वातावरण विभागले काठमाडौं उपत्यकालगायत उपत्यकाबाहिरका विभिन्न अस्पतालको अनुगमन र निरीक्षण गर्दै आएको छ। विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलका अनुसार, अनुगमन र निरीक्षणका क्रममा फोहोर व्यवस्थापनमा अस्पतालहरूले ध्यान दिन नसकेको पाइएको छ। काठमाडौंका चारवटा अस्पतालको फोहोर व्यवस्थापन सम्बन्धमा गठित समितिले विभिन्न सुझावहरू दिएको थियो। तर, ती सुझाव अहिले पनि कार्यान्वयन हुन नसकेको पौडेलले बताए। वातावरण विभागबाट आर्थिक वर्ष २०७३/७४ मा उपत्यकाका ६ वटा अस्पतालमा फोहोरमैला व्यवस्थापनको अध्ययन गरिएको थियो। जसमध्ये दुईवटा अस्पतालमा मात्र फोहोर संकलन गर्न व्यवस्थित स्थान रहेको पाइएको थियो।  ६ मध्ये पाँचवटा अस्पतालमा फोहोर पानी प्रशोधनबिना नै ढल, नदीमा पठाउने गरेको पाइएको थियो। दुईवटा  अस्पतालमा संक्रमित फोहोरको निर्मलीकरण नगरी साधारण फोहोरसरह व्यवस्थापन गरिएको थियो। 

फोहोरलाई हजार्डस मेडिकल वेस्ट (झौला औषधिको सिसा), हजार्डस मेडिकल वेस्ट (टेप, प्लास्टर, अप्रेसनपछि निकालिएका तन्तु र अंगहरू), हानिकारक औषधिजन्य ग्लोभ्स, सुई (निडल्स) र हानिकारकरहित फोहोरको प्रकारमा छुट्टाछुट्टै अभिलेख राख्नुपर्छ। अस्पतालका प्रारम्भिक  वातावरणीय परीक्षण तथा  वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा फोहोरमैलालगायत समग्र वातावरणीय व्यवस्थापनको कार्ययोजना समावेश हुन्छन्। सोही कार्ययोजनाअनुसार फोहोरमैलाको व्यवस्थापन गर्नु सम्बन्धित अस्पतालको जिम्मेवारी रहेको वातावरण निरीक्षक  पोडेल बताउँछन्। 

अटोक्लेभ र इन्सिनेरेटरको प्रयोग

बजेट अभावका कारण फोहोरमैलाको व्यवस्थापन गर्न नवीनतम प्रविधि खरिद गर्न नसकेको अस्पताल प्रशासनले जनाएको छ। नेपालका अधिकांश ठूला अस्पतालमा  फोहोरमैला व्यवस्थापनका लागि अटोक्लेभ, इन्सिनिरेटर, बायोग्यास प्लान्टलगायतको प्रयोग गर्छन्। अटोक्लेभबाट निर्मलीकरण गरिएका फोहोर रिसाइकलमा पठाउन सकिन्छ। 

कतिपय अस्पतालमा अटोक्लेभ बिग्रिएको पाइएको छ। इन्सिनिरेटरमा वातावरणीय मापदण्ड पालना भएको छैन। अस्पतालमा फोहोर व्यवस्थापनको जिम्मा हाउस किपिङ विभागअन्तर्गत दिइएको छ। अधिकांश अस्पतालले कर्मचारीलाई फोहोर व्यवस्थापन सम्बन्धमा तालिम दिने गरेका छैनन्। फोहोर व्यवस्थापनमा संलग्नको सुरक्षामा प्रशासनले ध्यान नदिएको सफाइकर्मीको गुनासो छ। सफाइकर्मी भन्छन्, ‘पातलो पञ्जा लगाई धारिला वस्तुहरू जस्तै सीसा, सिरिन्जहरू फोहोरबाट छुट्याउनुपर्छ।’ केही अस्पतालले मात्र सामान्य सुरक्षाका उपकरणहरू मास्क, ग्लोभ्स, एप्रोन दिने गर्छन्। 

स्वास्थ्यमा असर

धेरैजसो अस्पतालमा फोहोर खुला रूपमै वा  सामान्य भट्टी बनाएर बाल्ने गरेको पाइएको छ। जसका कारण डायक्सिन र फ्युरान निस्कने सम्भावना अधिक रहन्छ। कम तापक्रममा जथाभावी फोहोर जलाउँदा विभिन्न ग्यास निस्कन्छन्। जथाभावी रूपमा  फोहोर व्यवस्थापन गर्दा सरुवा रोग लाग्ने जोखिम भएको बताउँछन्, डा. ज्ञवाली। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.