नाम टावर, काम अनेक

नाम टावर, काम अनेक

बुटवल : स्थानीय सरकारले ‘भ्यू–टावर’ बनाएको प्रति धेरै आलोचना भइरहेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगर वनबिहारभित्र ‘बहुउद्देश्यीय भ्यू–टावर’ निर्माण गर्‍यो। २ महिनाअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भ्यू–टावर उद्घाटन गरे। जुन धरहारपछिको दोस्रो अग्लो टावर हो।

तिलोत्तमाको यो भ्यू–टावर टावरमा मात्रै सीमित छैन। यो एक बहुउद्देश्यीय भवन हो। जहाँ लाखौं पर्यटक भिœयाउने सपना बुनिएको छ। शंकरनगर वनबिहारभित्र निर्माण भएकाले व्यावसायिक प्रयोजनमा यो टावर प्रयोग हुनेछ। यसको सञ्चालन गर्न तिलोत्तमा नगरपालिकाले निजी क्षेत्रलाई टेन्डरमार्फत ठेक्कामा दिएको छ।

रूपन्देहीको तिलोत्तमा–२ स्थित शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा निर्मित बहुउद्देश्यीय १० तले भ्यू–टावर १३४ फिट उचाइको छ। तिलोत्तमा र वनबिहारको संयुक्त लगानीमा निर्माण भएको भ्यू–टावर आर्थिक वर्ष २०७३÷७४ मा ठेक्का सम्झौता भएको थियो।

२०७२ को भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको भ्यू–टावरको भुइँ तला ३ हजार ५९५ वर्गफिट क्षेत्रफलमा छ। कुल २५ हजार १२२ वर्गफिट क्षेत्रफलमा रहेको भ्यू–टावरको पहिलोदेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजनका लागि प्रयोग हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ।

तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा भ्यू–टावर तयार भएको बताए। लिफ्टको सुविधासहित बनेको सो टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अफिस रुम, एटेज ट्वाइलेट रुम बास मिल्ने गरी बातानुकुलित कोठा, लाइब्रेरीलगायतका संरचनाहरू बनाइएको छ। 

अहिले भ्यू–टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू पनि बनिरहेका छन्। भ्यू–टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेसन निर्माण भइरहेको छ। त्यस्तै, त्यहाँ चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको छ। गत चैतमा केएच प्रशान्त जेभीसँग साढे ४ करोडको ठेक्कामा बाँकी कामका लागि सम्झौता भएको उनले बताए। बाँकी संरचना निर्माण पनि अबको २ वर्षमा सम्पन्न हुने उनको भनाइ छ।


तिलोत्तमा ‘भ्यू–टावर’ नगरपालिकाको गौरव र गहना भएको छ। यसले थप पर्यटकलाई आकर्षित गर्छ। यो अन्य भ्यू–टावरजस्तो नभई सुविधा सम्पन्न स्तरको भ्यू–टावर रहेकाले यसको प्रयोग गर्दै पर्यटकको आगमनमा समेत वृद्धि हुनेछ।
वासुदेव घिमिरे
पूर्वनगरप्रमुख, तिलोत्तमा नगरपालिका

शंकरनगर विहारमा अहिले दैनिक १५ सय पर्यटक घुम्न आउँछन्। भ्यू–टावरपछि यहाँ आउनेको संख्या बढ्ने अपेक्षा छ। लुम्बिनीमा आउने पर्यटक पनि भ्रमणका लागि यहीँ आउनेछन्।
बेलप्रसाद शर्मा
अध्यक्ष, शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र

कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा भ्यू–टावर तयार भएको हो। थप ४ करोडमा अन्य पार्कका संरचनाहरू निर्माण भइरहेका छन्। यी संरचना २ वर्षभित्र सम्पन्न हुनेछन्। 
प्रदीप वन
इन्जिनियर तिलोत्तमा नगरपालिकाका

भ्यू–टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रले बेहोरेको छ। भ्यू–टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिनेछ भने दूरबिनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिन्छ।


पर्यटन प्रवर्द्धन योजना

तिलोत्तमा नगरपालिकाले पर्यटकीय प्रबद्र्धन योजनासहित भ्यू–टावरको निर्माण गरेको हो। शंकरनगर सामुदायिक वनभित्र निर्माण भइरहेको यो संरचनामा बनका उपभोक्ताको पनि अपनत्व स्थापित गरिएको छ। वनभित्र निर्माण भएको शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्रले ३० प्रतिशत लगानी गरेको छ।

तिलोत्तमा नगरका पूर्वप्रमुख वासुदेव घिमिरेले पर्यटकको आवागमन बढाइ आर्थिक उपार्जन गर्ने योजनासहित बहुउद्देश्यीय टावरसहितको भवन बनाइएको बताउँछन्। ‘यसले आम्दानी दिनेछ, सुन्दर दृश्य अवलोकनका लागि भ्यू–टावर भएपछि पर्यटकको चलायमान हुनेछ,’ उनले भने, ‘भ्यू–टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म देख्न सकिने छ भने दूरबिनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहर देख्न सकिनेछ।’ 

तिलोत्तमा ‘भ्यू–टावर’ नगरपालिकाको गौरव र गहना भएको भन्दै यसले थप पर्यटकलाई आकर्षित गर्ने बताउँछन्। उनले अन्य भ्यू–टावरजस्तो नभई सुविधा सम्पन्न स्तरको भ्यू–टावर रहेकाले यसको प्रयोग गर्दै पर्यटकको आगमनमा समेत वृद्धि हुने बताए। पूर्वप्रमुख घिमिरेले आफ्नो कार्यकालमा यो योजनालाई निकै प्राथमिकतामा राखेर काम गरेका थिए। उनले कार्यकाल सकिँदै गर्दा भ्यू–टावरको पूर्वप्रधानमन्त्री केपी ओलीद्वारा उद्घाटनसमेत गराए। ओलीले सो अवसरमा भ्यू–टावर आर्थिक उपार्जनको माध्यम भएको बताएका थिए।

वार्षिक साढे ३९ लाखमा ठेक्का

तिलोत्तमा भ्यू–टावर सञ्चालनका लागि निजी क्षेत्रलाई दिइएको छ। नगरपालिकाले टेन्डर आह्वान गरेर भवन ठेक्कामा दिएको हो। शंकरनगर वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले निर्माण गरेका व्यवसायी टोपबहादुर रायमाझीले वार्षिक ३९ लाख ५० हजार पाउनेगरी भवन ठेक्कामा लिएको बताए।

वनबिहारले ठेक्काको ३० प्रतिशत आफूले पाउनेछ। तिलोत्तमा नगरपालिकाले ७० प्रतिशत आम्दानी लिनेछ। नगरपालिकाले १० वर्षको ठेक्कामा दिएको हो। भाडा रकम हरेक वर्ष १० प्रतिशतले वृद्धि हुँदै जाने शर्माले बताए।

आकर्षक घुमफिर केन्द्र बनाउने योजना

१० वर्ष सञ्चालनको ठेक्का पाएका निर्माण व्यवसायी रायमाझीले यसलाई आकर्षण घुमफिर पार्कका रूपमा विकास गर्ने योजना बनाएका छन्। ‘हामीले यसलाई आकर्षक बनाएर सञ्चालन गर्छौं, पर्यटक भिœयाउने योजना नै हो,’ उनले भने, ‘आर्किटेकबाट डिजाइन बनाइरहेको छु। त्यसको रिपोर्ट आएपछि काम थालनी हुन्छ।’

अहिले भ्यू–टावर अगाडि चिल्ड्रेन पार्कसमेत निर्माण भइरहेको छ। त्यसको लगानी छुट्टै छ। आकर्षक स्विमिङ पुल बन्दैछ। पानीको फाउन्टेनहरू निर्माण भइरहेका छन्। म्युजिकिकल फाउन्टेनहरूले पर्यटक लोभ्याउने विश्वास व्यवसायीको छ। रुपन्देही गर्मी स्थान भएकाले जंगलको बीचमा बन्ने स्विमिङ पुलमा भारतीय पर्यटकसमेत भिœयाउन सकिने विश्वास लगानीकर्ताहरूले गरेका छन्।

रायमाझी भन्छन् ‘भ्यू–टावर आसपासमा स्विमिङ पुल बन्छ। चिन्ड्रेन पार्क हुनेछन्। आकर्षक गेस्ट हाउस चलाइनेछ। गुणस्तरीय स्वच्छ खानेकुरासहितको क्याफे चलाइनेछ।’ भ्यू–टावर आउने व्यक्तिले दिनभर त्यहीँ बिताउन सक्ने गरी संरचना बनाइने उनले बताए। भ्यू–टावरमै आकर्षक लजिङ संरचना बनिसकेको छ। टावरको पहिलो तलामा सांस्कृतिक पहिचानसहितका उपहारजन्य वस्तुहरू, ढाकाका उत्पादन, हस्तकलाका सामानहरू, करुवा, टोपीलगायतका वस्तुहरूको स्टल राखिनेछ। अर्थात् यो पसलका रूपमा सञ्चालन हुनेछ।  तेस्रो तलामा होटल सञ्चालन हुनेछ। 

चौथो तला भने नगरपालिका आफैंले सञ्चालन गर्नेछ। कार्यालयका सभा, सम्मेलनलगायतका कामका लागि यो संरचना प्रयोग हुने बताइएको छ। भ्यू–टावर पुग्न नागरिकले छुट्टै टिकट काटेर प्रवेश गर्नेछन्। टिकट, व्यापार, क्याफे, होटलबाट आम्दानी हुनेछ। 

दैनिक १५ सय पर्यटक

शंकरनगर वनबिहार रुपन्देहीको घुमफिर गर्ने उत्कृष्ट गन्तव्य हो। यो सरकारले घोषणा गरेको १ सय पर्यटकीय क्षेत्रमध्येमा पर्छ। शंकरनगर सामुदायिक वनभित्र २०६२ सालमा स्थापना गरिएको वनबिहार तथा अनुसन्धान केन्द्र हाल लुम्बिनी प्रदेशकै मुख्य अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ।

सामुदायिक वनको ५७६ हेक्टर वनमध्ये ५१ हेक्टर वन शंकर वनबिहार तथा अनुसन्धान केन्द्रका रूपमा छुट्याइएको छ। वनबिहार तथा अनुसन्धान केन्द्रमा ३० वटा पिकनिक स्पट, सहिद पार्क, बीपी पार्क, म्यांगो पार्क, बाल मोनो रेल, चिडियाखानालगायतका संरचना निर्माण भइसकेका छन्।

चिडियाखानाभित्र लोपोन्मुख सरिसृप अजिंगर र भालु, चितुवा, बँदेल, नीलगाई, मृग, बाँदर, विश्वकै ठूलो पंक्षी अस्ट्रिज, दुर्लभ गिद्ध, चित्तल, मयूर, सुगालगायत घरपालुवा एवं जंगली जनावर र चराचुरुङगी राखिएका छन्। भ्यू–टावर लगायतका संरचना निर्माणपछि इको टुरिजमका रूपमा विकास गर्ने दीर्घकालीन एवं महŒवाकांक्षी योजना शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रले अगाडि सारेको छ। केन्द्रले हालको चिडियाखानाको स्तरोन्नति, बोटानिकल गार्डेन, लुम्बिनीसँग जोड्ने गरी विपश्यना ध्यान केन्द्र, ऐतिहासिक प्राकृतिक कुवा संरक्षणलगायतका संरचना निर्माण गरिरहेको छ।

वनबिहारका अध्यक्ष शर्माका अनुसार वनवाटिकाले वार्षिक १ करोड आम्दानी गर्दै आएको छ। यहाँ औसतमा दैनिक १५ सय नागरिक घुमफिरका लागि पुग्ने गरेका छन्। चाडपर्व र बिदाका दिनमा दैनिक ४ हजारले भ्रमण गरेको रेकर्ड वनबिहारसँग छ। वनबिहारले यहाँ प्रवेशमा ५० रुपैयाँ टिकट राखेको छ।

वनबिहारलाई पिकनिक स्पस्ट, चिल्ड्रेन गार्डेन, जंगली पशु संरक्षणका रूपमा विकास गरिएको अध्यक्ष शर्माले बताए। पिकनिक स्पटका लागि ३० वटा सेड निर्माण गरिएका छन्। जसको भाडा लगाउँदा दैनिक १२ सयदेखि ६ हजारसम्म लिने गरिएको छ।

वनबिहारभित्र २१ प्रजातिका जंगली जनावरहरू छन्। ती जनावरको आहार र स्याहारसुसारमा वनबिहारे मासिक ३ लाख खर्च गर्दै आएको छ। दर्जनौं कर्मचारीले रोजगारी पाएका छन्। रोजगारमा रहेकोको तलबमा साढे ३ लाख खर्च हुँदै आएको अध्यक्ष शर्माले बताए। 

शंकरनगर सामुदायिक वनभित्र निर्माण भएको यो वनबिहारलाई बोटानिकल गार्डेनका रूपमा विकास गर्ने योजना रहेको छ। प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा योजनालाई मूर्त रूप दिने योजना शर्माले सुनाए। साइन्स थ्रिएटर निर्माण गर्ने योजना छन्। सामुदायिक वन नै अध्ययनको केन्द्र भएको शर्मा बताउँछन्। १७ वर्षको अवधिमा वनसम्बन्धी धेरै अध्ययनहरू भएको उनको भनाइ छ। 
वनबिहारले भ्यू–टावर निर्माणपछि प्रवेश शुल्कको आम्दानी बढ्ने अपेक्षा गरेको छ। ‘हामीलाई अब पर्यटकको आवागमन बढ्ने विश्वास छ। शुल्कको आम्दानीमा केही वृद्धि हुनेछ,’ उनले भने।

लुम्बिनीका पर्यटक ल्याउने योजना

बुद्ध जन्मस्थल लुम्बिनीमा वार्षिक १५ लाखभन्दा बढी पर्यटक आउने गरेका छन्। तीमध्ये भारतीयसहित तेस्रो मुलुकका पर्यटकको संख्या आधा छ। तिलोत्तमा भ्यू–टावरमा लुम्बिनी आउने ती पर्यटकलाई भिœयाउने योजना बनाइएको छ।

भारतीय पर्यटकहरू पहाडी क्षेत्रको अवलोकन र स्विमिङ पुलमा रमाउन रुपन्देही हुँदै पोखरासम्म पुग्ने गरेका छन्। भैरहवा क्षेत्रका स्विमिङ पुलहरूमा भारतीय पर्यटकको आवागमन हरेक वर्ष बढ्दै गएको छ। ती पर्यटकलाई वनजंगलको बीचमा हुने मनमोहक क्षेत्रमा भिœयाउने योजना लगानीकर्ताले गरेका छन्।

भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। यसले पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ। ती पर्यटकलाई रुपन्देही क्षेत्रमै बास बसाल्न भ्यू–टावर प्रयोगमा आउने विश्वास व्यवसायीले गरेका छन्।


तथ्यांकमा भ्यू–टावर

निर्माण लागत
११ करोड ५४ लाख ८१ हजार

क्षेत्रफल
२५ हजार १२२ वर्गफिट

तला संख्या
१० ओटा

उचाइ
१३४ फिट

निर्माण सुरु
आव २०७४÷७४

फैलिएको क्षेत्र
२ बिघा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.