कानून व्यवसायीले लगाए दोष, न्यायाधीशले मागे सहयोग

कानून व्यवसायीले लगाए दोष, न्यायाधीशले मागे सहयोग

राजविराज : सप्तरीका न्यायाधीशहरूले निष्पक्ष र छिटो फैसलाका लागि कानुन व्यवसायीहरूसँग सहयोग माग गरेका छन्। सप्तरी जिल्ला अदालत बार एकाईको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदास्थापन समारोहमा शुभकामना व्यक्त गर्दै न्यायाधीशहरूले सहयोग माग गरेका हुन्। अदालतमा विचौलियाहरू सल्बलाएको र मुद्दाको उचित व्यवस्थापन गरी छिटोछरितो न्याय दिन नसकेको गुनासो सम्बोधन गर्दै न्यायाधीशहरूले कानुन व्यवसायीहरूसँग सहयोग मागेका हुन्।

उच्च अदालत जनकपुर राजविराज इजलाश र सप्तरी जिल्ला अदालतका १५ बढी न्यायाधीशको उपस्थिती रहेको कार्यक्रममा उच्च अदालत इजलाशका मुख्य न्यायाधीश हरीप्रसाद भण्डारीले छिटोछरितो र प्रकृयासँगत फैसलाका लागि कानुन व्यवसायीको सहयोग आवश्यक रहेको बताए। न्यायाधीश भण्डारीले न्याय सम्पादनको प्रकृया तथा कानुन व्यवसायको हकहित संरक्षणका साथै छिटो र निष्पक्ष फैसलाका लागि कानुन व्यवसायीहरूले अदालतलाई सहयोग गर्नुपर्ने बताए।

जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीले पक्ष र विपक्षको सहयोग बिना न्यायपालिका एक्लैले मुद्दा टुंगो लगाउन असमर्थ रहेको बताए। कोभिड र न्यायालय शुद्धिकरणको अभियान भन्दै कानुन व्यावसायीहरूद्वारा सञ्चालित आन्दोलनले छिटो फैसलामा केही प्रभाव परेको स्विकार्दै ज्ञवालीले मुलतः कहिले मुद्दाका पझ र कहिले विपक्षले मुद्दा हटाउने गरेकाले फैसला गर्न नसकिएको बाध्यता सुनाए। अदालतभित्र बिचौलिया भएको र घुस खाने गरेको आरोप मञ्च र फोरममा उठाउनु भन्दा सूचना दिन उनले आग्रह गरे। ‘खाने न्यायाधीश हुन भन्न खोजेको हो भने खुवाउने कानुन व्यवसायी वा कर्मचारी होलान्’ उनले अगाडि भने, ‘दोषारोपणमा उत्रिनुभन्दा सूचना आदानप्रदान गर्दै आपसमा मिलेर मात्र अदालतभित्रका विकृती अन्त्य गर्न सकिन्छ।’

अदालतमा २०७१ सालदेखिका मुद्दा थाँती रहेका छन् भने २ वर्षमा साढे १२ सय मुद्दा थन्किएको अदालतले जनाएको छ। अदालतको साधन, स्रोत र जनशक्तिमा पर्याप्त सुधार भएपनि वाञ्छितरूपमा मुद्दाको काम कारवाही छिटो नभएको, भएका फैसला कार्यान्वयन हुन नसकेको र विचौलियाका कारण न्याय प्रभावित हुन थालेको कानुन व्यावसायीहरूले आरोप लगाए।

जवाफमा न्यायाधीशरुले मुद्दाहरूको काम कारवाही ढिलो हुनुमा कानूनी प्रकृया र सलंग्न सरोकारवाला समेत दोषी रहेकोले अदालत एक्लैले सुधार गर्न असमर्थ रहेको भन्दै सुधारको प्रकृयामा एकाकार हुन आग्रह गरे। सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले इमान्दारीपूर्वक पेशा निर्वाहका साथ गलत प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताए।

सानातिना विवादमा मुद्दामामिला गर्न उकास्नुभन्दा स्थानीयस्तरबाटै सरलरूपमा न्यायप्राप्त गर्न अग्रसर भए अदालतमा मुद्दाको चाप कम हुने र सामाजिक सदभाव भएको समाज निर्माण हुने बताए। निवर्तमान अध्यक्ष डोमन साहको अध्यक्षतामा भएको कार्यक्रममा सप्तरी निवासी सर्वोच्च अदालत बार एकाईका सदस्य दिपनारायण साहलाई सम्मान गरिएको थियो।

कार्यक्रममा उच्च अदालत बार एकाइका अध्यक्ष भरत यादव, पूर्व अध्यक्ष श्यामनारायण साह, जिल्ला अदालत बार एकाईका पूर्व अध्यक्षहरू रामकुमार यादव, सुरेन्द्र यादव, केशव दास, वरिष्ठ अधिवक्ताहरू, इन्सेक प्रतिनिधि, पत्रकारहरूले निष्पक्ष र छिटो फैसलासँगै कार्यान्वयनमा जोड दिए।

शनिबार सम्पन्न निर्वाचनमा रामप्रसाद चौधरी नेतृत्वको समावेशी प्रगतिशील समूहका सम्पूर्ण पदाधिकारी, सदस्य र पार्षदलाई निर्वाचन संयोजक कृपानारायण यादवले शपथ ग्रहण गराए। अध्यक्षमा अधिवक्ता रामप्रसाद चौधरी, उपाध्यक्षमा फुलनारायण यादव, सचिवमा प्रमोदकुमार चौधरी र कोषाध्यक्षमा मनु खनाल विजयी भएका छन्।

यसैगरी सदस्यहरूमा वीरबहादुर कडारी, वैद्यनाथ चौधरी, उमेशनारायण शरण, राजनारायण यादव र रहमुल मन्सुरी निर्वाचित भएका छन्। सहसचिवमा किरण साह निर्विरोध निर्वाचित भइन् भने केन्द्रीय पार्षदमा महेन्द्रप्रसाद देव, केशरलाल खंग, बिरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित भए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.