३७ अर्ब माथिको बजेट ल्याउँदै प्रदेश १ सरकार, कृषि क्षेत्र विशेष प्राथमिकतामा

३७ अर्ब माथिको बजेट ल्याउँदै प्रदेश १ सरकार, कृषि क्षेत्र विशेष प्राथमिकतामा

विराटनगर : कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने भएको छ । 

कृषि उत्पादनको क्षेत्र फराकिलो बनाउने उद्देश्यसहित असार १ गते सरकारले ३७ अर्ब माथिको बजेट प्रस्तुत गर्ने तयारी गरेको हो । 

गैह्र बजेटरी खर्चलाई निरुत्साहित पार्ने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हो । तुलनात्मक रुपमा आगामी आर्थिक वर्षको बजेटको आकार केही ठूलो हुने प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँड यसपटक केही प्रतिशतले बढेर आएको तथा प्रदेशको आफ्नै राजश्व पनि १० प्रतिशतको हाराहारीमा वृद्धि हुने अपेक्षा गरिएकाले स्वभाविक रुपमा यसपटक बजेटको आकार बढ्ने भएको हो । चालु आर्थिक वर्ष २०७८/७९ का लागि भने सरकारले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको थियो । 

आगामी आर्थिक वर्षको बजेट कृषि अनुदानमा व्यापक परिमार्जनसहितको हुने प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए । प्रत्यक्ष उत्पादन वृद्धिका लागि आगामी वर्षदेखि कृषि क्षेत्रको अनुदान व्यक्ति तथा कम्पनीको सट्टा सहकारी तथा कृषि समूह केन्द्रित बनाइने उनले जानकारी दिए । 

‘कृषि सहकारी तथा कृषि समुहलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराएर उत्पादनको दायरा बढाउने हाम्रो लक्ष्य छ,' उनले भने, ‘यसपटक हामीले उद्योग र रोजगारी सिर्जनालाई समेत प्राथमिकतामा राखेका छौं । करको दायरालाई पनि फराकिलो बनाउने सरकारको लक्ष्य छ । करको दर समेत केही प्रतिशतले बढाइएको छ ।’

कृषि क्षेत्रको बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्ने लक्ष्य सहित सरकारले कृषि तथा पशुपन्क्षीजन्य वस्तुको उत्पादन वृद्धि गर्न उन्नत बिउ, बेर्ना र उन्नत पशुनश्लको सहज उपलब्धता सुनिश्चित गर्ने तथा कृषि उत्पादनलाई सहकारी र निजी क्षेत्रको सहकार्यमा प्रशोधन र उद्योगहरुसँग जोड्न नमूना कार्यक्रमहरुको सुरुवात गर्ने योजना समेत बनाएको छ ।

 त्यसका लागि सरकारको पर्याप्त बजेट छुट्याएको छ । रासायनिक मल माथिको परनिर्भरता कम गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने, दीर्घकालीन रूपमा माटो सुधार र प्राङ्गारिक खेती प्रर्वद्धन गर्ने, पशुपन्क्षी, मत्स्यपालन, मह, च्याउ र तरकारी लगायतका बाली उत्पादन प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिने तथा बाली र पशुपन्क्षीको बजारीकरणमा सहकारी, निजी तथा अन्तर सरकार समन्वय, सहयोग र सहकार्य गर्ने सरकारी कार्यक्रम छ । आगामी आर्थिक वर्षमा समग्र कृषि क्षेत्रका लागि करिब ३ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, आगामी आर्थिक वर्षदेखि आयात प्रतिस्थापनको नीति सहित सरकारले केही साझेदारी कार्यक्रमहरु पनि सञ्चालन गर्ने भएको छ । स्वदेशी उत्पादनको प्रशोधन, बजारीकरण र निर्यात प्रर्वद्धनका साथै प्रदेशलाई आत्मनिर्भर बनाउन सरकारले बिशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । केन्द्रिकृत आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका कार्यक्रमहरुलाई सरकारले प्राथमिकतामा राखेको छ ।

 त्यसका निम्ति सरकारले कृषि क्षेत्रलाई बिशेष प्राथमिकता, प्रदेशका घरेलु तथा साना उद्योगलाई प्रर्वद्धन र रोजगारी सिर्जनाको बिषयमा सरकारले जोड दिएको मन्त्री आङ्बोको भनाई छ । ‘प्रदेशका अधिकांश ठुला योजनाहरु आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने सरकारको लक्ष्य छ । त्यसका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ,' उनले भने, 'सडक तथा पूर्वाधार विकास र सिँचाई तथा खानेपानी लगायतको क्षेत्रका योजनाहरु आगामी आर्थिक वर्षमै सम्पन्न गर्दा रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई पनि सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।’

बजेटको आकार र दायित्वको कारण नयाँ योजना थप गर्नसक्ने अवस्था नरहेका कारण क्षेत्राधिकारभित्र बसेर भएकै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउने सरकारको आगामी रणनीति छ । विगतका वर्षहरुमा आएका श्रोत सुनिश्चितता बिनाको बजेटले दायित्व मात्र थपेकोले यसपटकदेखि प्रदेशको बजेट प्रणालीमा सुधारको प्रयास गरिएको प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले बताए । 

विगतका बजेटमा श्रोत सुनिश्चितताको अभाव देखिँदा सरकारले पनि लक्ष्य अनुसारको प्रगति हाँसिल गर्न नसकेको उनले जिकिर गरे । उनले चालु आर्थिक वर्षमा पनि करिब ९० प्रतिशतको हाराहारीमा बजेट खर्च हुने दाबी गरे । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा भने सरकारले ५३.४८ प्रतिशत बजेट खर्च गरेको छ । जेठ १५ सम्म सरकारले कुल १८ अर्ब ४७ करोड २३ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रककोे कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो अवधिमा सरकारले चालुतर्फ २६.७१ र पुँजीगततर्फ २६.७७ प्रतिशत बजेट खर्च गरेको छ ।

विगतका बजेटहरु ठुल्ठुला योजनामा केन्द्रित हुँदा साना योजनाहरु ओझेलमा पर्ने गरेको दृष्टान्त पर्याप्त भएकाले आगामी वर्षदेखि त्यसलाई पनि सुधार गरिने सरकारले जनाएको छ । सरकार अनुसार आगामी आर्थिक वर्षदेखि राजश्वको दायरा समेत फराकिलो बनाईने छ । त्यसका लागि सम्पूर्ण मन्त्रालयका सचिवहरुको नेतृत्वमा निमार्ण गरिएका विभिन्न उप–समितिहरु मार्फत् अध्ययनको कार्य सम्पन्न भइसकेको छ ।

प्रदेश सरकारले हाल संघीय सरकारबाट आउने वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष गरी ४ प्रकारको अनुदान बाहेक आफ्नो आन्तरिक स्रोतबाट करिब ४ अर्बको हाराहारीमा राजश्व सङ्कलन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.