काठमाडौंमा धर्ना बसेका नवलपरासीका ऋणीलाई साहुले भने : साँवा बुझाउनुहोस्, ब्याज लिंदैनौं

काठमाडौंमा धर्ना बसेका नवलपरासीका ऋणीलाई साहुले भने : साँवा बुझाउनुहोस्, ब्याज लिंदैनौं

परासी : मिटरब्याजी साहुविरुद्ध भन्दै चार दिनदेखि काठमाडौंमा धर्नामा बसेका नवलपरासीका ऋणीहरुलाई सम्बन्धित साहुहरुले साँवा बुझाए ब्याज रकम मिनाहा गर्ने बताएका छन् । दृष्टिबन्धकबाट ऋण लिएका जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट पुगेका ४० बढी ऋणीहरुले ऋण तिर्न नसक्दा लिलाम भएको जग्गा र चर्को रुपमा बुझाएको रकम फिर्ता हुनुपर्ने माग राखेर काठमाडौंमा दिनहुँ धर्ना दिंदै आएका छन् । 

गाउँका सुनिल बानियाँ र जगदिश बानियाँ साहुबाट मालपोत कार्यालयमा दृष्टिबन्धक गरेर ऋण लिएका ऋणीहरुले कानुनी कारबाही गरी न्याय पाउन भन्दै धर्नामा बसेका हुन् । धर्नापछि बानियाँद्वयले आइतबार परासीमा पत्रकार सम्मेलन गरेर साँवा मात्र बुझाए पनि आफूहरुले ऋण मिनाहा गर्ने बताए। आफूहरुविरुद्ध प्रशासनमा केही महिनाअघि उजुरी दिएको र प्रशासनमा छलफलमा बोलाउँदा ऋणीहरु नआएको उनीहरुको दाबी छ । ‘आरोप मात्र लगाएका छन् । प्रमाण छैन । अनि कसरी प्रशासनमा आउँछन् ? काठमाडौंमा बसेर आरोप लगाउँदैमा हुँदैन । जिल्लामा आएर छलफलमा बसौं । साँवा बुझाउन मञ्जुर हुनुहुन्छ भने ब्याज मिनाहा गरिदिन्छौं’, बाँनियाद्वयले भने।

‘मिटरब्याज र ठगीविरुद्ध संघर्ष समिति’ गठन गरेर काठमाडौंमा धर्ना दिएका ऋणीहरुले डेढ लाख ऋणको पटक पटक गरी १४ लाख बुझाउँदा पनि अझै बाँकी छ भन्दै थप कागज बनाउन दबाब दिएको आरोप लगाउँदै आएका छन् । तर बानियाँद्वयले भने केही व्यक्तिसँग लिएको ब्याजबापतको रकम भर्पाइ गरिदिएको र अधिकांशले ब्याजसमेत नबुझाएको बताएका छन् । ‘डेढ लाख ऋण बुझाउन नसक्नेले कसरी १४ लाख बुझाउँछ । कानुनभन्दा बढी रकम लिएको प्रमाण पेश गरेमा ऋणीहरुले लगाएको आरोपको रकमभन्दा दोब्बर दिन तयार छौं’, उनीहरुले भने । 

आफ्नो सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउन केही व्यक्तिले उचालेर आन्दोलन गराएको पनि उनीहरुको आरोप छ । ऋण नबुझाएपछि उनीहरुले अदालतमा मुद्दा हालेर केही ऋणीहरुको जग्गा आफ्नो बनाएका छन् । दृष्टिबन्धक कागजको समय १० वर्षको हुने र त्यो अवधिसम्म पनि रकम नबुझाएपछि म्यादको ५ दिनअघि मात्र अदालतमा मुद्दा हालेको उनीहरुले बताए। ‘मुद्दा जिते पनि रकम बुझाएर जग्गा लैजानुस् भनेर पटक पटक ताकेता गरें । तर उनीहरु सम्पर्कमा आएका छैनन् । अहिले पनि जग्गा फिर्ता दिन तयार छु’, उनीहरुले भने । 

आफूसँग सम्बन्धित नरहेका व्यक्तिहरु पनि आन्दोलनमा सहभागी भएको बाँनियाद्वयको आरोप छ । सात वर्षअघि नै आफूले दृष्टिबन्धकबाट ऋण दिने कार्य बन्द गरेको उनीहरुको भनाइ छ । ‘१० वर्षअघि लिएको ऋणको अधिकांश ऋणीहरुले ब्याजसमेत बुझाएका छैनन् । तिर्न नसके मिनाहा गरिदिन्छु भनेर प्रतिनिधि सभा सदस्य माननीय हृदयेश त्रिपाठी र संविधान सभा सदस्य माननीय देवकरण कलवारको घरमै बोलाएर भनेका हौं ।  त्यति गर्दा पनि नमानेपछि के गर्नु ? ’, उनीहरुले भने । 

२०-५० हजार ऋण लिएका निम्न वर्गका व्यक्तिहरुको ऋण मिनाहा गरिदिनका लागि मालपोत कार्यालयमा बोलाए पनि उनीहरु नआएको उनीहरुको भनाइ छ । अहिले पनि उनीहरुको ऋण मिनाहा गर्न आफूहरु तयार रहेको  बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.