मेलम्चीमा अझै ठुल्ठूला पहिरोको जोखिम

मेलम्चीमा अझै ठुल्ठूला पहिरोको जोखिम

काठमाडौं : २०७८ असार १ गते आएको बाढीले ९ महिनासम्म मेलम्ची खानेपानी आयोजना पूर्ण बन्द भयो। ठूलै क्षति पुग्यो। त्यहीँ बाढीका कारण हेलम्बु र मेलम्ची क्षेत्रका हजारौं स्थानीय विस्थापित भए। मेलम्चीको मुहानमा बाढी आउँदा यो सबै बितन्डा मच्चाएको अनुमान भयो। तर, मेलम्ची नदीमा भन्दा पनि सहायक नदी पेमदानमा आएको बाढीले क्षति पुर्‍याएको एक अध्ययनले देखाएको छ। मेलम्ची आयोजनाको मुख्य ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले यहाँ अध्ययन गरेको हो। सोही अध्ययनको मस्यौदा प्रतिवेदनमा सहायक नदी पेमदानमा बाढी आउनुलाई मुख्य कारण मानिएको छ। बाढी जानुको मुख्य कारण भने त्यहाँको कमजोर भू–बनोटलाई देखाइएको छ। ‘भू–बनोट कमजोर हुनु र २०७२ सालमा गएको भूकम्पले थप कमजोर बनाउनुनै बाढीको कारण हो,’ उक्त प्रतिवेदनमा भनिएको छ। 

मेलम्ची नदी जलग्रहण (क्याचमेन्ट), आंशिक रूपमा सक्रिय हिमनदीहरूले ढाकेको छ। प्रतिवेदनमा भनिएको छ, ‘यसको माथिल्लो चट्टानहरूमा क्षीण उपत्यका र पुराना हिमनदीहरू पाइन्छ। माथि उल्लेखितअनुसार पेमदान नामक सहायक नदीमा पहिला नै बनेको हिमताल फुट्न गई आएको बाढीले पानी र अन्य सबै लेदोहरू (सेडिसन) भेमाथानमा पुर्‍यायो। जसले निकपोइन्ट (एउटा नदी वा च्यानलको भाग जहाँ ढलानमा तीव्र परिवर्तन हुन्छ, जस्तै झरना वा ताल) को पतन भयो। यसले बाढीलाई थप आक्रमक बनाउन पुग्यो।’ मेलम्चीमा असार १ गते आएको बाढी एउटा कारणले भन्दा पनि धेरै कारणले आएको खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गत खानेपानी महाशाखाका प्रमुख टिरेश खत्री बताउँछन्। 

मेलम्चीको मुख्यबाँध हेडवर्कसबाट १६ किलोमिटर माथि भेमाथाङ पर्छ। भेम्राथाङभन्दा करिब ८ देखि ९ किलोमिटर माथि मेलम्चीको मुहानसँगको सहायक नदीमा केही समय अघिदेखि हिमताल बनेको प्रमुख खत्री बताउँछन्। तर, अहिले त्यो हिमताल देख्न नसकिने र त्यही हिमताल फुट्दा मेलम्चीमा बाढी आएको अध्ययनले देखाएको उनको भनाइ छ। भेम्राथानको माथिल्लो भागमा आएको हिमनदी तालबाट आएको संयुक्त बाढी, भेम्राथान तालबाटै आएको बाढी र मेलम्चीको पहिरोको बाँध भत्किएर आएको बाढीले भेम्राथान र बीचको नदीमा २ हजार ७ सय मिटर/सेकेन्डमा ठूलो कटान गरेको प्रतिवेदनमा भनिएको छ।

यसले हेडवर्क क्षेत्रको माथिल्लो भागको लगभग २० मिलियन क्युबिक मिटरको क्षरण देखाइएको थियो (अधिकांश भेमाथानको थियो), र लगभग १७ मिलियन क्युबिक मिटर लेदो संकलन भएको थियो। यसै कारण हेडवर्क १५–२५ मिटर फोहोरले तल पुरिएको छ। ‘धन्न पानी पठाउने सुरुङ मार्ग घटना अघि बन्द गरिएको थियो र यसले सुरुङ मार्गमा लेदो पस्न नदिएको भनिएको छ। यस अध्ययनको चरण २ मा थप विशिष्ट क्षतिहरूको अनुसन्धान गरिनेछ,’ प्रतिवेदनमा भनिएको छ। 

स्थानीय रूपमा, भेम्राथान र हेडवर्कसबीचको मेलम्ची नदीको किनारमा व्यापक खरानी र किनाराको कटान देखिएको थियो। यसले निकपोइन्टनजिक १५ देखि ३५ मिटर, हेडवर्कको माथिको मेलम्ची ग्याङ, नकोटे, सरकथलीनजिक १० मिटरसम्म कटान, पहिरो बाँध भएको ठाउँमा (मेलम्ची ग्याङमा) र अन्यथा मुख्यतया हेडवर्कस क्षेत्र (१५–२५ मिटर) र डाउनस्ट्रीम (५–१० मिटर) मा जम्मा भएको देखियो। 

मेलम्ची क्याचमेन्टबाट उपलब्ध ५ वटा मौसमविज्ञान केन्द्रमा जुनदेखि अगस्ट २०२१ सम्मको वर्षाको तथ्यांक विश्लेषण गरिएको छ। क्रमशः १५ जुन र १ अगस्ट वरपरका दुई घटनाहरूमा वर्षा अत्यधिक नभएको देखिएको छ। यस्तै, असार १० गतेदेखि लगातार परेको वर्षाले माटोको उच्च मात्रामा संतृप्ति सिर्जना गरेको छ। यो समयमा दैनिक वर्षाको मात्रा ७७.५ मिमीभन्दा बढी छैन। यस कारण वर्षाको कारणभन्दा पनि पहिलादेखिका कारणहरूले नै बाढी गएको अध्ययनको बुझाइ छ। 

भविष्यको जोखिमहरूः

जलग्रहणको माथिल्लो भागमा ग्लेसियर तालहरू अवस्थित छन्। १० हिमनदी ताल र २ सक्रिय हिमनदीहरू छन्। तिनीहरू मेलम्ची नदीको पानी डाइभर्सन उपयोजनाका लागि खतरा हुन सक्छन्। भेम्राथान तलछट (फोहोर) निक्षेपहरू क्षय जारी रहनेछ। र, धेरै वर्षसम्म तलछटको स्रोत हुनेछ। क्याचमेन्ट क्षेत्रमा पहिरो जानु सामान्य भएको र यसलाई नक्सान गर्ने काम भएको छ।

भविष्यमा पहिरोको संवेदनशीलता कस्तो छ भनेर हेर्नेका लागि विभिन्न विधिहरूद्वारा अनुसन्धान गरिएको छ। ती अनुसन्धानले भविष्यमा पहिरोको संवेदनशीलता सामान्यतया धेरै उच्च रहेको देखाएको छ। १५ महत्वपूर्ण पहिरो स्थल पहिचान गरिएको छ, जसमध्ये दुई पहिरोलाई बढी प्राथमिकतामा राखिएको छ। किनभने हेडवर्कस नजिकै हुनु र त्यसको क्षेत्र तथा आकारले बढी जोखिमयुक्त पहिरोको रूपमा हेरिएको छ। ती हुन्ः हेडवर्कस क्षेत्रको बायाँ किनारमा पहिरो र मेलम्ची ग्याङमा पहिरो।

  •  भू–बनोट कमजोर हुनु र २०७२ सालमा गएको भूकम्पले थप कमजोर बनाउनुनै बाढीको मुख्य कारण हो। 
  •     माथिल्लो भागमा १० हिमनदी ताल र २ सक्रिय हिमनदी छन्। तिनीहरू मेलम्ची नदीको पानी डाइभर्सन उपयोजनाका लागि खतरा हुन सक्छन्। 

स्लोप स्टेबिलिटी मोडलिङका आधारमा आगामी मनसुनमा हेडवर्कस बायाँ किनारमा पहिरोे थप जोखिम उच्च छ। बाढी आउन सक्ने खतरा प्रारम्भिक मस्यौदाले देखाए पनि हेडवर्कस सार्ने वा नसार्ने भन्ने बारेमा दोस्रो अध्ययनले मात्र निक्र्योल गर्ने खानेपानी महाशाखाका प्रमुख खत्री बताउँछन्। ‘उनीहरूको अध्ययन २ फेजमा बाडिएको छ। एउटा बाढी जानुका कारण त्यसको ड्राफ्ट बुझाएका छन्। फाइनल कपी अझै आएको छैन। त्यसपछि फेज २ मा त्यसको आधारमा हेडवर्कसलाई कसरी रियुज गर्न सकिन्छ, रिडिजाइन गर्न सकिन्छ, वा सुधार गर्न सकिन्छ भन्ने हो,’ उनको भनाइ छ। 

एडीबीको नेतृत्वमा सुरु भएको उक्त अध्ययन चरण १ मूल्यांकन १८ नोभेम्बर २०२१ मा सुरु भएको हो। र, यस चरणका लागि दृष्टिकोण र कार्य योजनाको विवरण दिने एक प्रारम्भिक प्रतिवेदन डिसेम्बर २०२१ मा पेस गरिएको थियो। पछि सञ्चालन गरिएका विभिन्न क्षेत्र सर्वेक्षण र अध्ययनहरूको नतिजाको आधारमा, हालको प्रतिवेदनले बिपत्तिका कारणहरूको निदान गरेको छ। उक्त मस्यौदा प्रतिवेदन अप्रिल २०२२ मा बुझाइएको थियो। दोस्रो चरण अन्तर्गतको रिपोर्ट आगामी अगस्टमा सक्ने भनिएको छ। 

गत वर्षको बाढीपछि बन्द भएको मेलम्ची खानेपानी आयोजनाको अस्थायी संरचनाबाट पानी पथान्तर यही वैशाख ११ गतेबाट सुरु गरिएको थियो। मनसुन सुरु भएका कारण जेठ २० गतेबाट पानी पठाउन बन्द भइसकेको छ भने बाढीले थप क्षति नपुर्‍याए आगामी कात्तिकबाट पुनः पानी वितरण गरिने अनुमान महाशाखाको छ।  

सन् १९९० मा नै सम्भाव्यता अध्ययन भएको यस आयोजनामा सुरुमा विश्व बैंकले लगानी गर्न इच्छुक देखाए पनि २०५७ बाट एडीबीले यसलाई अघि बढाएको छ। २०५७ को मूल्यमा ३७ अर्ब लागतमा सक्ने गरी २०५८ बाट थालिएको आयोजना सन् २००६ मा सक्ने लक्ष्य थियो। बल्लबल्ल २०७७ चैत २० गतेदेखि दुई महिना अस्थायी रूपमा काठमाडौंमा पानी झर्‍यो। तर, बाढीले पानी पिउने सपना पुनः बगायो। बाढी आउनुपूर्व अम्बाथानमा रहेको हेडवर्कसको काम ९७ प्रतिशत सक्किसकेको थियो। हेडबर्कसको लागत १ अर्ब रुपैयाँ छ। 

बाढीले १ अर्ब ८८ करोडबराबरको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान थियो। बाढीले आयोजनाको मुख्य प्रवेश मार्गको करिब ८ किलोमिटर सडकखण्ड पूर्ण ध्वस्त भएको थियो। मेलम्ची बजारदेखि हेडवर्कस रहेको स्थान अम्बाथानसम्म २२ किलोमिटर सडक प्रवेश मार्ग हो। उक्त प्रवेश मार्गको चनौटेसम्म आंशिक क्षति भएको थियो। त्योभन्दा उता अम्बाथानसम्मको करिब ८ किलोमिटर सडक र पुलको संरचना बाढीकै कारण क्षति भएका थिए। यस्तै, आयोजनाको मुख्य संरचना हेडवर्कस र वरपरका संरचना बाढीले बगाएर ल्याएको नदीजन्य पदार्थले पुरिएका छन्। नदीको सतहमा दुई किलोमिटरसम्म ढुंगा, गिट्टी, बालुवालगायतका पदार्थ जम्मा भएका छन्। स्थायी संरचना बन्न समय लाग्ने मेलम्ची आयोजनाको हेडवर्कस भएको अम्बाथानभन्दा माथि जोखिम अझै कायमै छ। माथिल्लो भागमा भइरहेको परिवर्तन र मनसुनमा आउने बाढीको जोखिमको मापन नगरेसम्म स्थायी संरचना बनाउन नसकिने आयोजनाले जनाएको छ।

अध्ययन टोली सदस्य डा. महेश भट्टराई  सम्बन्धित निकायहरूलाई अध्ययन गर्न दिएर अहिले प्रतिक्रियासहित रायसुुझाव आएको बताउँछन्। भन्छन्, ‘ती सबै प्रतिक्रियाहरूलाई लिइसकेपछि फाइनल प्रतिवेदन बन्ने हो। अनि फाइनल प्रतिवेदन सार्वजनिक भइसकेपछि मात्र यसको विषयमा छलफल गर्न सकिन्छ। दोस्रो चरणको अध्ययन सुरु हुने क्रममा छ। यसले मेलम्चीको हडवक्र्सलाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ, 
यदि माथि जोखिम कायम नै छ भने पनि आवश्यकता अनुसारका परिवर्तनहरू के गर्न सकिन्छ जस्ता पक्षहरू हेर्ने हो। यो अबको ३ देखि ४ महिनामा पूरा हुन्छ।’

बाढी आउनुका कारणहरू 
  • २०७२ को भूकम्प,
  • २०७२ जेठ ७ मा परेको भारी हिमपात र त्यसका कारण बढेको तापमान,
  • असार १ गतेको अविरल 
  • वर्षापछि पेमदानमा जमेको हिमताल फुट्नु
  • यसले बाढी र त्यहाँ भएको ढुंगा, गिटीलगायतका वस्तुहरूको लेदो बगाउनु,
  • यसले भेमाथानमा गएको पुरानो पहिरोलाई थप सपोर्ट गर्‍यो र त्यहाँको बाँधको कटान गर्‍योे,
  • यसले पहिरोलाई बिस्फोट गर्दै अघि लग्यो,
  • नदी किनारको कटान र नदीको किनाराको क्षय
  • यसले पहिरो जानलाई बाटो प्रशस्त गर्‍यो,
  • पहिरो बाँधको माथिको तालको गठन
  • पहिरो बाँधको कटान
  • यसले मुख्यबाँध(हेडवर्कस) भएको ठाउँमा भेल/बाढी पस्यो
  • यसले नदी किनाराको कटान र नदी किरानाको क्षय हुँदै गयो
  • यसले सबै अवशेषलाई बगाउँदै लग्यो
  • यी सबै कारणले गर्दा मेलम्चीमा बाढी आयो र बितन्ड मच्चायो

 भौगोलिक बनावटको अध्ययन नभइकन यत्रो ठूलो आयोजनाको काम अघि बढ्ने भन्ने पनि हुँदैन र विदेशीले लगानी पनि गर्दैन। बाढी–पहिरो भनेको भइपरी आउने हो। त्यसो त जुगल हिमाल पग्लिएर पनि मेलम्चीमा बाढी आउन सक्ला। त्यसकारण मेलम्ची आयोजना निर्माणपूर्व अध्ययन भएको थिएन भन्न मिल्दैन। आयोजना स्थलबाट ५–६ किलोमिटर वरपरको भू–बनावट अध्ययन भएको छ। कहाँसम्मको अध्ययन गर्ने भन्ने पनि एउटा सीमा हुन्छ। – सुमन शर्मा, पूर्वसचिव

कुनै पनि पूर्वाधार बनाउँदा हाम्रो जस्तो विशेष किसिमको भू–बनोटमा भौगर्भिक इन्जिनियङि गर्नुपर्ने हुन्छ। पूर्वाधार विकासको तयारीको क्रममा भौगोलिक विशेषताअनुसार अध्ययन, अनुसन्धान गर्नुपर्छ। तर, हाम्रो देशमा कुनै पनि आयोजना बनाउनेभन्दा विदेशी परामर्शदाता ल्याउनेबित्तिकै हाइफाई भन्ने ठान्छौं। ती परामर्शदाताले यहाँ के थप अनुसन्धान गर्नुपर्ने हो नहेरी इन्जिनियरिङको पाठ्यपुस्तकका आधारमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्छन्। प्रतिवेदन बनेपछि त्यसको प्रभावकारिता वा सत्यताको चेकजाँच पनि हामी गर्दैनौं।   
सूर्यराज आचार्य, पूर्वाधारविज्ञ 

जुनसुकै नदीमा यति ठूलो योजना सञ्चालन गर्नु अगाडि त्यो नदीको माथिल्लो तटीय क्षेत्र, तल्लो तटीय क्षेत्र, नदीको पूरै लम्बाइ लगायतको राम्रो अध्ययन/अनुसन्धान हुनै पर्ने विज्ञान र प्रविधिले भन्छन्। अध्ययनका क्रममा त्यहाँ सम्भावित विपद्को स्थिति देखियो भने त्यसलाई समाधान गर्ने उपायहरू सोचेर मात्र काम गरिन्छ। तर, मेलम्चीको केसमा त्यो दस्तावेज भेट्न सकिएन। मेलम्ची खानेपानी आयोजना सुरुवाता हुनु अगाडि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने क्रममा माथिल्लो तटीय क्षेत्रमा अध्ययन भएको वा नभएको वा के थियो भन्ने सार्वजनिक ठाउँमा त्यो दस्तावेज कत्तै भेटाउन सकिएन।  – प्रा.डा. तारानिधि भट्टराई, भूगर्भविद्


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.