खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
रामेछाप : जिल्लाको खाँडादेवी गाउँपालिकाले आफ्नो एघारौं गाउँ सभा सम्पन्न गरेको छ। एघारौं गाउँ सभामा पालिका प्रमुख ज्ञानकुमार श्रेष्ठले ३ सय ३५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। खाँडादेवी गाउँपालिका अतिसुख्खा ग्रस्त क्षेत्रमा पर्ने भएकाले खानेपानी र सिंचाइ कार्यक्रममा परेको छ।
पालिका प्रमुख श्रेष्ठद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा पालिका हुँदै बहने भटौली खोलाको मुहानमा ड्याम बाँधेर पालिका भित्रका नाङ्गा डाँडालाई हराभरा बनाउने उल्लेख छ। कमजोर भौतिक संरचना भएका विद्यालायको संरचना सुधारगरी आधुनिक र व्यबहारिक शिक्षा प्रणालीको बिकास गर्ने नीति तथा कार्यक्रम बनाएको छ।
अति सीमान्तकृतको सूचीमा रहेको माझी, थामी, हायु, दशनामी, सुनुवार, भुजेल, राई तथा दलित समुदायका बालबालिका र अनाथ अपांग बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता उपलब्ध गराउने उल्लेख छ। यस आर्थिक वर्षको कार्यक्रममा शिक्षा क्षेत्रको आमूल परिवर्तन गर्दै लाजाने र एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनाउने उल्लेख गरिएको छ। निजी विद्यालयमा नपढाई सामुदायिक एवं सरकारी विद्यालयमा आफ्ना छोराछोरी पढाउने शिक्षकलाई पुरस्कर सहित प्रोत्साहन गर्ने कार्यक्रममा उल्लेख छ।
स्वास्थ क्षेत्रलाई व्यवस्थित गर्दै सुविधा सम्पन्न बनाउने र सुत्केरी गराउन अस्पताल सम्म जाने महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा निरन्तरता दिने भएको छ। कृषिमा आधुनिकीकरण गर्दै बजारीकरणलाई व्यवस्थित बनाउँदै लैजाने र उत्कृष्ट किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम बनाएको छ। कृषिमा अनुदान एवं कृषकलाई आवश्यक तालीम सीप र दक्ष बनाउँदै लैजाने योजना पालिकाले बनाएको छ।
आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि आकर्षक संरचना निर्माण र संभाब्यता अध्ययन गर्ने र आत्मनिर्भरको लागि कार्यक्रम बनाउने कार्यक्रममा उल्लेख छ। सुशासन र पारदर्शितालाई प्रभावकारी बनाउँदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने र पालिका भित्र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।
प्रस्तुत नीति तथा कार्यक्रममा महिला, बालबालिका, जेष्ठ नागरिकलाई महत्त्वका साथ राखिएको छ।