समाज सुधारमा २४ सय किशोरी, आफ्नो अधिकारका लागि आफैं लड्दैं

समाज सुधारमा २४ सय किशोरी, आफ्नो अधिकारका लागि आफैं लड्दैं

भैरहवा : रुपन्देहीको शुद्धोधन गाउँपालिकाकी किशोरी नविनाको १७ वर्ष पुग्दै गर्दा बिहे गर्ने कुरा चल्यो। पढाइमा अब्बल रहेकी उनले बिहे गर्न अस्विकार गरिन। तर उनको अडानले काम गरेन। परिवारका सदस्यले दबाव दिँदै गएपछि उनले किशोरी समूहमा गुनासो सुनाईन्।

पालिकामा रहेको किशोरी समूहका दुई जना नविनाका आमाबुवालाई बालबिवाह गर्नुहुदैन भनेर बुझाउन पुगे। आमाबुवाले मानेनन। त्यसपछि २०/२२ जना किशोरीकै हुल नविनाका घर पुगे। गाउँपालिकामा पनि निवेदन दर्ता गराए। चौतर्फी दबाव भएपछि नविनाको बिवाह रोकियो। अहिले उनी उच्च शिक्षा अध्ययन गर्दैछिन्।

रुपन्देहीमा बालबिवाह रोकिएका यस्तै कैयौ घटना छन। जहाँ किशोरीहरुको समूह बालबिवाहविरुद्ध सक्रिय छन्। अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाको सहयोगमा टोलमा भेला हुँदै आएका किशोरीहरु अहिले जिल्ला तथा प्रदेशमा संगठित छन्।

संगठित किशोरीहरुले किशोरी अधिकार मञ्च नामक संस्था नै बनाएर सचेतना फैलाउदै आएका छन्। ‘लैंगिक हिंसा, गतिशिलतामाथि रोक, उच्च शिक्षामा विमुख, बालबिवाहविरुद्धमा काम गर्दै आएका छौं, किशोरी अधिकार मञ्च रुपन्देहीकी कोषाध्यक्ष शालिनी मिश्राले भनिन्। मधेशी समुदायमा किशोरीहरुमाथि सामाजिक बन्धन अत्याधिक हुँदै आएकाले त्यसको विरुद्धमा सचेतना फैलाउन आफूहरु संगठित भएको उनले बताइन्।

रुपन्देहीको दक्षिणी क्षेत्रका मधेशी समुदायमा बालबिवाह, यौन हिंसाबाट किशोरी पीडित हुँदै आएका छन्। किशोरीहरु उच्च शिक्षाबाटसमेत बञ्चित छन्। विभेदविरुद्ध किशोरीहरु आफैं उभिएर सचेतना फैलाउन लागेका हुन्। बालबिवाह, दाईजो प्रथा, लैंगिक भेदभाव, शिक्षा, नागरिकता तथा जन्मदर्ता जस्ता विषयमा सचेतना अभियान नै किशोरीले चलाएका छन्।

समुदायमा सानोसानो समूहमा रहेको किशोरीहरुले २०७६ मा प्रदेश सरकारमा संस्था नै दर्ता गरेका छन्। रुपन्देही मात्रै नभई सञ्जाललाई प्रदेशभर फैलाउने योजना रहेको छ। रुपन्देही र कपिलवस्तुमा २ हजार ४ सय किशोरीहरु यो अभियानमा सक्रियरुपमा लागेका छन्। अर्घाखाँचीका दुई पालिकामा पनि किशोरी अधिकार मञ्च गठन भई सक्रिय छ।

प्रदेश अध्यक्ष पुष्पा कुमारी हरिजनका अनुसार लुम्बिनी प्रदेशका २५ पालिकामा पालिकास्तरीय सञ्जाल छ। प्रदेशका १२१ वडामा वडास्तरीय सञ्जाल गठन भएको छ। किशोरी अधिकारका लागि सबै पालिका र सबै वडामा सञ्जाल फैलाउने योजना रहेको अध्यक्ष हरिजनले बताइन्।

किशोरी समूहमा आवद्धहरुमा नेतृत्व विकास क्षमता बढेको छ। समाजमा अधिकारको विषयमा खुलेर कुरा गर्न सक्ने भएका छन्। ओमसतिया–६ कि रञ्जु पासी हरेक महिना किशोरी साथीहरुसँग बिताउछिन्। साथीहरुबीच अधिकारका कुरासँगै अभिभावकहरुलाई सचेतना दिने विषयमा छलफल हुन्छ। समूहमा छलफल गर्दागर्दै रुपन्देहीको दक्षिणी क्षेत्रका किशोरीहरु समुदायमा आवाज उठाउन सक्ने भएका छन्।

तराई क्षेत्रमा बालबिवाह र दाइजोप्रथा व्यापक थियो। किशोरीले समूहमार्फत बालबिवाहविरुद्धमा आवाज उठाइरहेका छन्। यसले बालबिवाहमा धेरै नियन्त्रण भएको छ। किशोरी समूहहरु हरेक बैठकमा एकअर्काका विषयमा कुरा गर्छन्। उमेर नपुगी बिहे गर्दा शारीरिक जोखिमका साथै जीवनमा अनेक कठिनाई आउछन भन्ने कुरा एकअर्कामा सुनाउछन्। आफ्नो छिमेकमा भएका गतिबिधिको रिपोटिङदेखि अभिभावक सम्झाई बुझाईमा पनि किशोरी समूह सक्रिय छन्।

‘एउटा साथीलाई उमेर नपुगी बिहे गर्न घरबाट दबाव आयो भने हामी सबै गएर अभिभावकलाई सम्झाउछौं, उहाँहरुले मान्ने गर्नुभएको छ,’ पासीले भनिन्। यस्ता कैयन उदाहरण उनकै क्षेत्रमा छन्।

किशोरीहरु गाउँ भेला मात्रै होइन, ज्ञान आर्जनका लागि विभिन्न तालिममा पनि पुग्छन्। यसले उनीहरुलाई समाजमा सचेतना फैलाउन निकै सहज भएको छ। आत्मनिर्भरता तालिम लिएर प्रतिवाद गर्न सक्ने भएका छन्।

किशोरी समूह रुपन्देहीकी अध्यक्ष सुनिता हरिजन कक्षा ८ पढेपछि छोरी पढाउन हुन्न भने सोच अहिले समुदायबाट हट्दै गएको बताउछिन्। ‘हामीहरुले अभियान थालेपछि धेरै किशोरी साथीहरु उच्च शिक्षा पढ्न जान पाउनुभएको छ, उनले भनिन्।

किशोरीहरु पालिकामा बजेट विनियोजनका लागि माग पत्र पेश गर्छन। बिनियोजन बजेटबाट समुदायमा सचेतना फैलाउन सडक नाटक, अन्र्तक्रिया, तालिम चलाउँछन्। समूहमा आवद्धहरु मासिक बचत संकलन गरेर आयआर्जनमा समेत जोडिएका छन्।

किशोरी अधिकार मञ्च कपिलवस्तुकी अध्यक्ष अक्षिता शुक्ला मञ्चको अहिलेको मुख्य प्राथमिकता बालविवाह रोक्ने र किशोरीको उच्च शिक्षाका लागि वातावरण निर्माण गर्ने रहेको बताउछिन्। उनीहरुको समूहले कपिलवस्तुमा तीन वटा बालबिवाह रोकेको छ। बालबिवाह रोक्न, छोरीलाई पढाउनुपर्छ भन्दै अभिभावकहरुसंग अन्र्तक्रियात्मक कार्यक्रम गर्दै आएको उनले बताइन्। ‘घर बाहिर निस्किन नपाउने किशोरी साथीहरु अहिले जागिर गर्न थालेका छन, समुदायमा काम गर्छन, उच्च शिक्षा पढ्न क्याम्पस जान थालेका छन, शुक्लाले भनिन्। उनीहरु महिनैपिच्छे बैठक बस्दा २० रुपैयादेखि ५० रुपैयासम्म बचत गर्छन।

अहिले उनीहरुले प्रदेश र स्थानीय सरकारसँग बजेट माग गर्दै योजना पेश गरेका छन्। कतिपय पालिकाले बजेट बिनियोजन गरेका छन्। समुदायमा सचेतना फैलाउदै गएपछि बालबिवाहमा कमी आएको छ। २० वर्ष पुगेपछि मात्रै इच्छा बमोजिम बिवाह गर्ने गरेका छन्।

कपिलवस्तु र रुपन्देहीका सबै वडामा समूह गठन भइरहेको प्रदेश अध्यक्ष हरिजनले बताइन्। ५० रुपैयाँ शुल्क तिरेर किशोरीहरु संस्थामा आवद्ध हुन्छन अनि समुदायमा सचेतना फैलाउन सक्रिय हुन्छन्। नागरिकता जन्मदर्ता नभएका किशोरीहरुको नागरिकता बनाउन समूहले सघाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.