बालविवाह रोक्दै किशोरी समूह

बालविवाह रोक्दै किशोरी समूह

भैरहवा : रुपन्देहीको शुद्धोधन गाउँपालिकाकी किशोरी नविनाको १७ वर्ष पुग्दै गर्दा बिहे गर्ने कुरा चल्यो। पढाइमा अब्बल रहेकी उनले बिहे गर्न अस्विकार गरिन्। तर, उनको अडानले काम गरेन्। परिवारका सदस्यले दबाब दिँदै गएपछि उनले किशोरी समूहमा गुनासो सुनाइन्। 

पालिकामा रहेको किशोरी समूहका दुई जना नवीनाका आमाबुवालाई बालविवाह गर्न हुँदैन भनेर बुझाउन पुगे। आमाबुवाले मानेनन्। त्यसपछि २०÷२२ जना किशोरीकै हुल नवीनाका घर पुगे। गाउँँपालिकामा पनि निवेदन दर्ता गराए। चौतर्फी दबाब भएपछि नवीनाको विवाह रोकियो। अहिले उनी उच्च शिक्षा अध्ययन गर्दैछिन्।

रुपन्देहीमा बालविवाह रोकिएका यस्तै कैयौं घटना छन्, जहाँ किशोरीहरूको समूह बालविवाहविरुद्ध सक्रिय छन्। अधिकारका क्षेत्रमा काम गर्ने संघ–संस्थाको सहयोगमा टोलमा भेला हुँदै आएका किशोरीहरू अहिले जिल्ला तथा प्रदेशमा संगठित छन्। संगठित किशोरीहरूले किशोरी अधिकार मञ्च नै बनाएर सचेतना फैलाउँदै आएका छन्।

‘लैंगिक हिंसा, गतिशीलतामाथि रोक, उच्च शिक्षामा बिमुख, बालविवाह विरुद्धमा काम गर्दै आएका छौं, किशोरी अधिकार मञ्च रूपन्देहीकी कोषाध्यक्ष शालिनी मिश्राले भनिन्। मधेसी समुदायमा किशोरीहरूमाथि सामाजिक बन्धन अत्याधिक हुँदै आएकाले त्यसको विरुद्धमा सचेतना फैलाउन आफूहरू संगठित भएको उनले बताइन्। रुपन्देहीको दक्षिणी क्षेत्रका मधेसी समुदायमा बालविवाह, यौन हिंसाबाट किशोरी पीडित हुँदै आएका छन्। किशोरीहरू उच्च शिक्षाबाट समेत बञ्चित छन्। विभेदविरुद्ध किशोरीहरू आफैं उभिएर सचेतना फैलाउन लागेका हुन्। बालविवाह, दाइजो प्रथा, लैंगिक भेदभाव, शिक्षा, नागरिकता तथा जन्मदर्ता जस्ता विषयमा सचेतना अभियान नै किशोरीले चलाएका छन्।

समुदायमा स–सानो समूहमा रहेको किशोरीहरूले ०७६ मा प्रदेश सरकारमा संस्था नै दर्ता गरेका छन्। रुपन्देही मात्रै नभई सञ्जाललाई प्रदेशभर फैलाउने योजना रहेको छ। रुपन्देही र कपिलवस्तुमा २ हजार ४ सय किशोरीहरू यो अभियानमा सक्रिय रूपमा लागेका छन्। अर्घाखाँचीका दुई पालिकामा पनि किशोरी अधिकार मञ्च गठन भई सक्रिय छ।

प्रदेश अध्यक्ष पुष्पाकुमारी हरिजनका अनुसार लुम्बिनी प्रदेशका २५ पालिकामा पालिकास्तरीय सञ्जाल छ। प्रदेशका १२१ वडामा वडास्तरीय सञ्जाल गठन भएको छ। किशोरी अधिकारका लागि सबै पालिका र सबै वडामा सञ्जाल फैलाउने योजना रहेको अध्यक्ष हरिजनले बताइन्। किशोरी समूहमा आबद्धहरूमा नेतृत्व विकास क्षमता बढेको छ। समाजमा अधिकारको विषयमा खुलेर कुरा गर्न सक्ने भएका छन्। ओमसतिया–६ कि रञ्जु पासी हरेक महिना किशोरी साथीहरूसँग बिताउँछिन्। साथीहरूबीच अधिकारका कुरासँगै अभिभावकहरूलाई सचेतना दिने विषयमा छलफल हुन्छ। समूहमा छलफल गर्दागर्दै रुपन्देहीको दक्षिणी क्षेत्रका किशोरीहरू समुदायमा आवाज उठाउन सक्ने भएका छन्।

तराई क्षेत्रमा बालविवाह र दाइजोप्रथा व्यापक थियो। किशोरीले समूहमार्फत बालविवाह विरुद्धमा आवाज उठाइरहेका छन्। यसले बालविवाहमा धेरै नियन्त्रण भएको छ। किशोरी समूहहरू हरेक बैठकमा एकअर्काका विषयमा कुरा गर्छन्। उमेर नपुगी बिहे गर्दा शारीरिक जोखिमका साथै जीवनमा अनेक कठिनाई आउँछन् भन्ने कुरा एकअर्कामा सुनाउँछन्। आफ्नो छिमेकमा भएका गतिविधिको रिपोर्टिङदेखि अभिभावक सम्झाई बुझाईमा पनि किशोरी समूह सक्रिय छन्। ‘एउटा साथीलाई उमेर नपुगी बिहे गर्न घरबाट दबाब आयो भने हामी सबै गएर अभिभावकलाई सम्झाउँछौं, उहाँहरूले मान्ने गर्नुभएको छ, पासीले भनिन्। यस्ता कैयन उदाहरण उनकै क्षेत्रमा छन्।

किशोरीहरू गाउँ भेला मात्रै होइन, ज्ञान आर्जनका लागि विभिन्न तालिममा पनि पुग्छन्। यसले उनीहरूलाई समाजमा सचेतना फैलाउन निकै सहज भएको छ।  आत्मनिर्भरता तालिम लिएर प्रतिवाद गर्न सक्ने भएका छन्। किशोरी समूह रुपन्देहीकी अध्यक्ष सुनिता हरिजन कक्षा ८ पढेपछि छोरी पढाउन हुन्न भने सोच अहिले समुदायबाट हट्दै गएको बताउछिन्। ‘हामीहरूले अभियान थालेपछि धेरै किशोरी साथीहरू उच्च शिक्षा पढ्न जान पाउनुभएको छ’, उनले भनिन्। किशोरीहरू पालिकामा बजेट विनियोजनका लागि माग पत्र पेस गर्छन्। विनियोजन बजेटबाट समुदायमा सचेतना फैलाउन सडक नाटक, अन्तरक्रिया, तालिम चलाउँछन्। समूहमा आबद्धहरू मासिक बचत संकलन गरेर आयआर्जनमा समेत जोडिएका छन्।

किशोरी अधिकार मञ्च कपिलवस्तुकी अध्यक्ष अक्षिता शुक्ला मञ्चको अहिलेको मुख्य प्राथमिकता बालविवाह रोक्ने र किशोरीको उच्च शिक्षाका लागि वातावरण निर्माण गर्ने रहेको बताउँछिन्। उनीहरूको समूहले कपिलवस्तुमा तीनवटा बालविवाह रोकेको छ। बालविवाह रोक्न, छोरीलाई पढाउनुपर्छ भन्दै अभिभावकहरूसँग अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएको उनले बताइन्। 

‘घर बाहिर निस्किन नपाउने किशोरी साथीहरू अहिले जागिर गर्न थालेका छन, समुदायमा काम गर्छन्’, उच्च शिक्षा पढ्न क्याम्पस जान थालेका छन्, शुक्लाले भनिन्। उनीहरू महिनैपिच्छे बैठक बस्दा २० रुपैयाँदेखि ५० रुपैयाँसम्म बचत गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.