के औषधिको मूल्य बढ्न लागेको हो ?
काठमाडौं : अहिले बजारमा १८ हजार ब्राण्डका औषधि बिक्री भइरहेका छन् ।
तीमध्ये ११७ प्रकृतिका औषधिको मात्रै मूल्य निर्धारण गरिएको छ । अधिकांश औषधिको मूल्य नतोकिँदा बिरामी अफ्ठेरोमा परेका छन् ।
मूल्य निर्धारण नहुँदा ब्राण्ड पिच्छे फरकफरक मूल्यमा औषधि बिक्री हुने गरेको विभाग स्वीकार्छ । कुनै एउटा कम्पनीको औषधिको मूल्य एक सय रुपैयाँ छ भने सोहि ब्राण्डको सोहि औषधिको मूल्य एक सय ५० रुपैयाँ पनि दर्ता भएको विभागले जनाएको छ।
विभागका महानिर्देशक भरत भट्टराइले भने, 'औषधिको मूल्य समायोजन हुँदा ८० प्रतिशत औषधिको मूल्य घढ्छ । २० प्रतिशतको मात्रै बढ्ने हो । अन्तर्राष्ट्रिय बजारमा केहि औषधिको मूल्य घटेको छ । क्यान्सरको औषधिको मूल्य त धेरै नै घट्छ ।’
औषधिको मूल्यका विषयमा पटकपटक प्रश्न उठिरहेको छ। औषधिको मूल्य समयोजनसम्बन्धी औषधि व्यवस्था विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको प्रस्ताव अगाडि बढ्न सकेको छैन । कारण होः प्रस्तावमा जीवनजल, पारासिटामोल, लार्जभोलुम पारेन्टेरल्सलगायत केहि औषधिको मूल्य बढ्ने भएको छ। अहिले आम नागरिकदेखि संसदमा समेत औषधिको मूल्य नबढाउन विभागलाई दबाब परिरहेको छ । त्यहिभएर पनि स्वास्थ्य मन्त्री र राज्यमन्त्री औषधिको मूल्य समायोजन प्रस्तावमाथिय थप अगाडि बढ्न सकेका छैनन् ।
तर, विभागले भने औषधिको मूल्य समायोजन प्रस्ताव स्वीकृत भए ८० प्रतिशत औषधिको मूल्य घट्ने र २० प्रतिशतको मात्रै बढ्ने बताउँछ ।
विभागका महानिर्देशक भरत भट्टराइले भने, 'औषधिको मूल्य समायोजन हुँदा ८० प्रतिशत औषधिको मूल्य घढ्छ । २० प्रतिशतको मात्रै बढ्ने हो । अन्तर्राष्ट्रिय बजारमा केहि औषधिको मूल्य घटेको छ । क्यान्सरको औषधिको मूल्य त धेरै नै घट्छ ।’
आयातकर्ता र उत्पादककर्ता औषधिको मूल्य बढाउन सहमत छन् । दुवै ‘कन्ट्री अफ ओरिजीन’मान्न तयार छन् ।
विभागका महानिर्देशक भरत भट्टराईले औषधिको मूल्य समायोजनको प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश भएको बताए । उनले भने, 'बजारमा कुनै एउटा औषधिको मूल्य एक सय रुपैयाँ छ । कसैको १२० रुपैयाँ छ । कसैको त्यहि औषधिको १५० रुपैयाँ छ । मानौं एभरेज लिँदा १३५ आयो । त्यसको बढीमा १५ प्रतिशत रुपैयाँ भयो । १५० रुपैयाँ पनि घट्ने भयो ।'
यसो गर्दा बजारमा औषधिको मूल्यमा एकरुपता आउने भट्टराईको भनाइ छ । विभागले मूल्य तोकिएको ११७ प्रकृतिका औषधिको पनि मूल्य समायोजन गर्ने तयारी थालेको छ ।
औषधि व्यवस्था विभागका अनुसार आयात हुने औषधिको मूल्य निर्धारण आधार कन्ट्री अफ ओरिजीन पनि एक हो । यस्तै, विदेशबाट आयात हुने औषधिको सम्बन्धित देशको खुद्रा मूल्यभन्दा बढी नहुने र बाहिरबाट आयात हुने औषधिलाई अन्तर्राष्ट्रिय सन्दर्भ मूल्यका रुपमा लिने मूल्य निर्धारणको आधार हो । विभागले सरकारको अत्यावश्यक सूचीमा रहेका औषधिहरुको मूल्य तोक्ने गरेको छ ।
विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने, 'भारतमा सेडुल्ड ड्रग्स र नन सेडुल्ड ड्रग्स भन्ने छ । सेडुल्ड ड्रग्सको मूल्यनै तोकेको हून्छ । ६/६ महिना वर्ष दिनमा रिभाइज पनि गरेको हुन्छ । नन सेडुल्ड ड्रग्समा १० प्रतिशतसम्म मूल्य वृद्धि हुने भो भने एउटा फर्म डीजाइन गरेको छ । त्यो फर्ममा गत वर्षको मूल्य यस्तो थियो, अहिले यति भयो भनेर अधिकतम १० प्रतिशतसम्म वृद्धि गर्यो भने नोटीफिकेसन गरेर मात्रै मूल्य कायम हुन्छ । जुन मूल्य निर्धारण नगरिएका औषधिहरुको कुरा हो, नेपालको सन्दर्भमा भारतमा जति औषधिको मूल्य छ । त्यो भन्दा बढाउने कुरा त भएन । ’
जीवनजल,पारासिटामोलसहितको मूल्य बढ्ने
विभागले मन्त्रालयमा पेश गरेको मूल्य समायोजनसम्बन्धी प्रस्ताव स्वीकृत भए अत्यावश्यक मानिएको पारासीटामोल र जीवनजलको मूल्य बढ्ने बताएको छ । यस्तै,सलानी, लार्जभोलुम पारेन्टेरल्स लगायत केहि औषधिको मूल्य बढ्नेछ ।
२०६४ सालमा पारासिटामोलको मूल्य समायोजन भएको थियो । विभागका अनुसार भारतमा पारासिटामोलको मूल्य प्रति ट्याब्लेट १ रुपैयाँ ८० पैंसा पर्छ । यस्तै, जीवनजलको मूल्य भारतमा प्रति प्याकेट नेपाली करिब २७ रुपैयाँ रहेको विभागले जनाएको छ । नेपालमा प्रति प्याकेट जीवनजल १० रुपैयाँ पर्छ ।
महानिर्देशक भट्टराइले भने,'उत्पादकहरुले पनि उत्पादन गर्न सक्दैनौं भनेका छन् । पैठारीकर्ताहरुले पनि सबैतिर मूल्य बढेको छ । पुरानो मूल्यमा औषधि ल्याउन सक्दैनौं भनेको अवस्था छ । विभागको पहिलो दायित्व गुणस्तरीय औषधि जनताले सर्वसुलभमा पाउन भन्ने हो ।'
वरिष्ठ औषधि व्यवस्थापक केसीले भने, ‘पारासिटामोल र जीवनजलको मूल्य नबढाऔं । जति उत्पादनमा शोधानान्तर हुन्छ, घाटा हुन्छ । त्यसलाई सहुलीयत दिऔं । सरकारले दिने विभीन्न छुटहरुमा सामेल गरिदिऔं भनेर पनि प्रस्ताव गर्यौं । ’
औषधिको मूल्य समायोजनको प्रस्ताव स्वास्थ्य मन्त्रालयमा अड्किएको छ ।