नायिका बनाइदिने भन्दै बालिकालाई भारत लगेर बेच्ने २ जना पक्राउ
वीरगन्ज: भोजपुरी चलचित्रमा नायिका बनाइदिने प्रलोभन दिएर नेपालकी १५ वर्षीया बालिकालाई भारत लगेर बेच्ने एक महिला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरगन्जकी १५ वर्षिया बालिकालाइ भारतमा लगेर बेच्ने रौतहटको गौर नगरपालिका-२ घर भइ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा बस्दै आएकी ४० वर्षीया चमेली देवी र भारत बिहारको सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारीलाइ प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार १५ वर्षीया बालिकालाइ भोजपुरी सिनेमाको नायिका बनाइ दिने प्रलोभन दिएर चमेली देवी र रोशनले २०७८ फागुन १२ गते बिहारको पूर्वी चम्पारण, झिटकैया गाउँमा लगेर त्यहाँका एक भारतीय नागरिकलाई ३० हजार भारुमा बेचेर दुवै जना फरार भएका थिए।
भारतीय नागरिकले ती बालिकालाई विभिन्न कार्यक्रममा अश्लील नृत्य गर्न लगाउने, कसैसँग सम्पर्क गर्न नदिई शारीरिक र मानसिक यातना दिई राखेका थिए।
भारतीय नागरिकले बन्धक बनाएर राखेकै अवस्थामा पीडित बालिका मौका छोपी त्यहाँबाट भागेर अभिभावकको सम्पर्कमा आएको र घटनाबारे प्रहरीलाई जानकारी गराएपछि यही असार २३ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिकाका वडा नम्बर १६ बाट चमेली देवी र रोशनलाइ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीले जानकारी दिए।
बालिकालाइ खरिद गर्ने व्यक्ति अहिले फरार रहेकोले उनको खोजी भइरहेको उनले बताए।