चार महिनाको भत्ता ल्याउन चार दिन पैदल

चार महिनाको भत्ता ल्याउन चार दिन पैदल

बैतडी: बैतडीको सिगास गाउँपालिका वडा नं ५ ढुङ्गाडकी ६५ वर्षीया एकल महिला मुना लुहार दम र बाथरोगकी बिरामी हुन्। उनले नियमित औषधी खाइरहनुपर्छ। उनलाई जहिले पनि सामाजिक सुरक्षा भत्ता आउने बेला पीर पर्छ।

जिल्लाको सिगास गाउँपालिका-२ गाँजरीमा रहेको कृषि विकास बैंकमा पुग्न उनको घरबाट २ दिन लाग्छ। 'जाँदाआउँदा ४ दिन लाग्छ,' उनले भनिन, 'जान आउनका लागि सडक बाटो पनि छैन।' सामाजिक सुरक्षा भत्ता बुझ्न जहिले पनि समस्या हुने गरेको उनको गुनासो छ। 

सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती खेप्नुपरेको अर्का सेवाग्राही ७२ वर्षीय किस्ने कामीले बताए। उनले बुढेसकालमा वृद्धभत्ता बुझ्न आउन जान नै समस्या हुने गरेको बताए। बाटोमा बास मागेर बस्नुपर्ने उनको भनाइ छ। सडकको सुविधा नभएका कारण हिँडेरै आउनुपर्ने र बैंकमा पनि भीडभाड हुँदा निकै समस्या हुने गरेको कामीले बताए। 

बुढेसकालमा बैंकिङ प्रणालीले समस्या भएको अर्का सेवाग्राही दिलुवा लुहारले बताए। वृद्धभत्ता बुढेसकालको साहारा भएपनि दुर्गम क्षेत्रमा वृद्धवृद्धाले निकै सास्ती खेप्नु परेको उनले बताए। 

सामाजिक सुरक्षा भत्ता बुझ्न २ दिनको पैदलयात्रा गरेर बैंकको लाइन लागेका ७२ वर्षीय हरजित साउदको गत चैतमा लाइनमै बेहोस भएर मृत्यु भएको थियो। गत जेठ २७ गते सिगासको वडा नं ६ थलाकाडाका कले लुहार, महा लुहार र कालु लुहार चार दिनको पैदल यात्रा गरेर बृद्ध भत्ता नपाएपछि रित्तो हात फर्किएका थिए। 

जिल्लाको सिगासमा गाउँपलिकाको वडा नं १, २ र ३ का स्थानीयहरूलाई भौगोलिक रूपमा सहज हुने गरेको भएपनि अन्य वडाका स्थानीयहरुलाई भने समस्या हुने गरेको छ। वडा नं ४, ५, ६, ७, ८ र ९ का स्थानीहरूलाई बैंक पुग्न २ दिनको पैदलयात्रा गर्नुपर्छ। 

गाउँपालिकाको केन्द्र वडा नं ८ मा रहेको छ भने बैंक वडा २ मा रहेको छ। बैंकमा सेवा प्रवाह गर्न पनि समस्या रहेको छ।
 
सोलारको भरमा चल्ने गरेको बैंकको सेवा बादल लागेपछि अवरुद्ध हुन्छ। इन्टरनेटको पनि राम्रो सुविधा नभएकाले सेवा प्रवाहमा समस्या भएको कृषि विकास बैंक सिगासका प्रबन्ध निर्देशक शेर बहादुर साउदले बताए। 'सोलारबाट सेवा सुचारु छ, बादल लागेकोबेला सेवा प्रवाहमा समस्या हुन्छ, उनले भने, इन्टरनेटको पनि राम्रो पहुँच छैन।'

सामाजिक सुरक्षा भत्ता निकासा भएको बेला नै निकाल्नुपर्छ भन्ने मान्यता रहेका कारणले पनि बैंकमा भीडभाड हुने गरेको उनको भनाइ छ। 'पालिकाबाट सामाजिक सुरक्षा भत्ता निकासा भएपछि निकालीहाल्नुपर्छ, नत्र फिर्ता जान्छ भन्ने सोच छ,' प्रबन्धक साउदले भने,' निकासा भएको भोलिपल्ट सबै सेवाग्राही पुग्ने गरेकाले भीडभाड हुने गरेको हो।' 

सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई सहज बनाउने योजनामा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बन्द्रि ओझाले बताए। 'आगामी आर्थिक वर्षदेखि वडास्तरमा नै बैंकका कर्मचारीहरूलाई लगेर भएपनि भत्ता वितरण गर्ने योजनामा छौँ' उनले भने । 
 

केही पालिकामा वडामै भत्ताको व्यवस्था
जिल्लाको डिलाशैनी गाउँपालिकामा भने बैंकका पहुँचभन्दा टाढा रहेका वडाहरूमा सम्बन्धित वडामै गएर वितरण गरिँदैछ। वडा नं ५ मा कुमारी बैंकको शाखा रहेको छ। वडा नं १, २ र ३ का सेवाग्राहीहरूका लागि पैदल हिँडेर बैंकमा पुग्नै समस्या हुने गरेको छ।

बैंकबाट टाढा रहेका वडा कार्यालयमा बैंकका कर्मचारी र पञ्जीकरण कर्मचारीहरु लगेर समाजिक सुरक्षा भत्ताको व्यवस्था गरिन लागिएको डिलाशैनीका प्रवक्ता यज्ञ भट्टले बताए। जिल्लाको दशरथचन्द नगरपालिकाले पनि बैंकका पहुँचभन्दा टाढा रहेको वडाहरूमा सम्बन्धित वडा कार्यालयमा नै भत्ताको व्यवस्था गरिने निर्णय भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.