वीरगन्जमा जसपा उपेन्द्र यादव समूहको केन्द्रीय समिति बैठक सुरु
वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको बैठक सुरु भएको छ।
बुधबार पार्टी अध्यक्ष यादवले बैठक उद्घाटन गरेका हुन् । बैठकमा वरिष्ठ नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदीप यादव, लालबावु राउतलगायतको सहभागीता छ।
केन्द्रीय सदस्य एवं वनमन्त्री प्रदिप यादवका अनुसार बैठकमा ३२ कार्यकारिणी सदस्यमध्ये २४ जना र ४९९ केन्द्रीय सदस्यमध्ये ३५० भन्दा बढी सहभागी छन्। बैठक बिहीबारसम्म चल्नेछ।
पार्टी विभाजनको तयारीमा रहेका जसपाका दुई प्रमुख नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले छुट्टाछुट्टै बैठक र भेला सुरु गरेका छन्।
पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मंगलबार काठमाडौंमा आफू पक्षीय नेताहरुको विस्तारित बैठक बोलाएका थिए।
उनले बैठक वैधानिक र आधिकारिक भएको दावी गरेका थिए।
पार्टीमा उपेन्द्र यादवले एकलौटी गरेको र यादव पक्षकै कारण पार्टी संकटमा गएको बताएका थिए।
उनले वीरगन्जको बैठक स्थगन गर्न पनि यादवलाई सुझाव दिएका थिए। भट्टराई पक्षले आफ्नो साथमा ४ सय ९९ जनामध्ये २ सय ३० केन्द्रीय सदस्य रहेको दाबी गरेको छ।
पछिल्लो समय दुवै नेताबीच विवाद चर्किदै गएपछि पार्टी फुटको संघारमा पुगेको हो।