निजगढ विमानस्थल र फास्ट ट्रयाकको काम द्रूत गतिमा बढ्छ : वन मन्त्री यादव
वीरगन्ज : नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले औद्योगिक नगरी वीरगन्जलाइ हराभरा सहरका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
वीरगन्ज उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री यादवले वीरगन्जलाई उद्योग र व्यापारको नगरीको पहिचानसहित एउटा हराभरा सहरको रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताए।
त्यसका लागि वीरगन्ज महानगरपालिका र वीरगन्जका उद्योगी व्यपारीसँग आवश्यक समन्वय गर्न वन तथा वातावरण मन्त्रालय तयार रहेको उनले बताए।
वीरगन्जसँग प्रत्यक्ष सरोकार राख्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको निर्माण तथा पर्सा राष्ट्रिय निकुञ्जको विकास र प्रवर्द्धनका लागि पनि आफ्नो मन्त्रालयबाट हुने कामहरू द्रुतगतिमा अगाडि बढाइने उनले बताए।
'हुन त वन मन्त्रालय ताली भन्दा पनि बढी गाली खाने मन्त्रालय हो तर म आफनो छोटो कार्यकालमै यस्ता कामहरू गर्छु कि भोलीका दिनमा वनमन्त्रीको नाम आउँदा जनताले गाली होइन ताली बजाउनेछन्', उनले भने।
वनक्षेत्रमा राजनीतिक संरक्षणमा चलिरहेका अवैध क्रसर उद्योगलाई बन्द गरेर त्यसका सञ्चालकहरूलाई कानुनी कारबाहीको दायराभित्र ल्याउने उनले चेतावनी दिए।
चुरे क्षेत्र र मधेस एक अर्काको परिपूरक रहेको उनको भनाइ थियो। 'चुरे बाचे मात्र मधेस जोगिन्छ चुरे नाश भए मधेस पनि मरुभूमीकरण हुन्छ', उनले भने, त्यसैले चुरे क्षेत्रको संरक्षण पनि मेरो मुख्य प्राथमिकतामा रहनेछ।'
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, संघका पुर्व अध्यक्ष गोपाल केडिया , उद्योगपतिहरू गणेश लाठ, अशोक टेमानीलगायतको पनि सहभागिता थियो।