दुई वर्षदेखि विद्युतका पोलमात्रै, भुक्तानी लिएर ठेकेदार फरार

दुई वर्षदेखि विद्युतका पोलमात्रै, भुक्तानी लिएर ठेकेदार फरार

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकामा विद्युत विस्तारको काम अलपत्र परेको छ। ठेकेदारको चरम लापरवाहीले विद्युतीकरणको काम अलपत्र परेको हो। वडा नं १, २, ३ र ४ मा विद्युत विस्तारको काम अहिले अलपत्र परेको हो। ठेकेदार सम्पर्क विहीन छन्।

२०७८ सालभित्रै निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको भए पनि विद्युतका समाग्रीहरु जताततै छरपस्ट छाडेर ठेकेदार बेपत्ता भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए। ‘प्रादेशिक बिद्युत प्राधिकरणसँगको सम्झौता हो, ठेकेदारले काम गरेको छैन, दुई वर्षदेखि बिद्युतका सामानहरु छरपस्ट छन्,’ उनले भने।

ठेकेदारले विद्युतीकरणको काम अलपत्र परेपछि उज्यालो पञ्चेश्वर अभियान पनि प्रभावित भएको उनले बताए। ४ वडाको लागि छुट्टै योजना कार्यान्वयनको चरणमा लगेको भए पनि ठेकेदारको लापरवाहीले काम सम्पन्न हुन नसकेको उनले बताए।

प्रादेशिक बिद्युत प्राधिकरणको कार्यालयले भुक्तानी दिएको भएपनि कामदारहरुले पारीश्रमिकसमेत नपाएको गुनासो गरेका छन्। तार तानेको र पोलहरु गाडेका कामदारहरुले पारिश्रमिक नपाएको स्थानीय दिपक बहादुर चन्दले बताए। ‘महिनौ लगाएर तार तथा पोलहरु ढुवानी गर्‍यौं, पोलहरु गाड्यौं, केही ठाउँमा तारहरु तानेर तयारी अवस्थामा राखिएको भए पनि पैसा पाएनौँ, बिजुली बलेन,’ चन्दले भने।

प्रादेशिक विद्युत प्राधिकरण र कुमार खड्का सञ्चालक रहेको न्यु सत्ताकृ कन्सट्रक्सन प्रालिसँग दुई वर्ष पहिले एक वर्षमै सक्नुपर्ने गरी सम्झौता भएको थियो। आवश्यक पर्ने निर्माण समाग्री प्रादेशिक बिद्युत प्राधिकरणले उपलब्ध गराउने र काम गराउनको लागि मात्रै एक करोड २ लाखमा सम्झौता भएको थियो।

प्रादेशिक कार्यालयमार्फत ठेकेदारले ७० प्रतिशत भुक्तानी लिइसकेका छन्। ठेकेदारले ७२ लाख भुक्तानी लगिसकेको प्रादेशिक विद्युत प्राधिकरणले जनाएको छ। कार्यालयकाअनुसार उनको ठेक्का सम्झौता तोडिएको छ। सम्झौताअनुसार काम नगरेर सम्पर्कविहीन भएपछि ठेक्का भंग भएको प्रादेशिक विद्युत प्राधिकरणका प्रमुख जंगबहादुर चन्दले जानकारी दिए।

सुदूरपश्चिममा दशैँ अगाडिसम्म अधिकांश ठाउँमा बिजुली बाल्ने लक्ष्य राखिएको प्रादेशिक विद्युत प्राधिकरणका सहायक निर्देशक मेघमणी गौतमले बताए। विद्युतीकरणको अभावमा पञ्चेश्वरमा समस्या हुँदै आएको छ।

विद्युतीकरणको अभावमा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाहमा पनि समस्या भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको कार्यालयमा पनि सोलारको माध्यमबाटै सेवा प्रवाह भइरहेको छ। वर्षातको समयमा सोलारले काम नगर्ने भएकाले, समस्या भएको गाउँपालिका अध्यक्ष चन्दले बताए।

पञ्चेश्वर गाउँपालिका भारतसँग सिमाना जोडिएको पालिका  हो। भारतीय भूमि लोहाघाट र आसपासका गाउँहरुमा बिजुली झलमल्ल बलीरहेको देखिन्छ। यहाँका नागरिकहरु भने बिजुली आउने आशामै बसिरहेका छन्। ‘भारततर्फ बिजुली झलमल्ल छ, वारीपट्टी अन्धकार,’ स्थानीय नरेश चन्दले भने, ‘बत्तीमुनिको अध्यारो जस्तै भएको छ।’

१८ हजारभन्दा बढी जनसंख्या रहेको पञ्चेश्वरमा विद्युतीकरणको अभावकै कारण प्रविधिको पहुँचमा आउन सकेका छैनन् भने सम्बन्धित कार्यालयबाट सेवा पाउन पनि सकस हुने गरेको छ। सोलारकै भरमा चल्दै आएका फोनलाइनका टावरहरु पनि घाम लागेको बेला मात्रै सञ्चालनमा आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.