४६ वर्षपछि लालपुर्जा
धनकुटा : लालपुर्जा हातमा थाप्दा तुम्खाका बली याखाको अनुहारमा खुसीको सीमा थिएन। पहिलो पटक जग्गाको धनी बन्न पाउँदा उनको अनुहार हर्षित देखिथ्यो। धनीपुर्जा पाएपछि खुसी लागेको उनले प्रतिक्रिया दिए। जग्गा नहुँदा घर आफ्नो थिएन। उनले भने अब जग्गा पनि आफ्नो भएको छ। घर पनि आफ्नो भएको छ।
साँगुरीगढी गाउँपालिका–५ स्थित भानु माविको सभाहलमा शनिबार आयोजित गाउँब्लक क्षेत्रको जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रममा उनी सँगै २८ जनाले जग्गा धनीपुर्जाको रातो कार्ड पाएका छन्।
त्यस्तै ओख्रेका चन्द्र मगर पनि खुसी देखिन्थे। उनीहरूले मात्र होइन साँगुरीगढी गाउँपालिका–५ का ओख्रे र तुम्खा गरी दुई गाउँका २८ घरपरिवारले ४६ वर्षपछि लालपुर्जा पाएका छन्। २०३३ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँब्लकको नाममा परेपछि उनीहरूले लालपुर्जाविहीन थिए।
शनिबार डाँडाबजारमा नापी कार्यालय धनकुटाको आयोजनामा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ, मन्त्रालयका महाप्रवन्धक प्रकाश जोशी र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका थिए।
कार्यक्रममा नापी कार्यालय धनकुटाका प्रमुख मिथिलेस यादवले चौबिसे गाउँपालिका–२ मुढेवासका ५५ घरपरिवारलाई पनि सोही प्रकृतिको लालपुर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको बताए।
प्रतिक्रिया दिनुहोस !