भारतमा दुई अर्ब बढीले लगाए कोरोना खोप, मोदीले दिए बधाइ
नयाँ दिल्ली : भारतमा दुई अर्ब बढी मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन्।
कोरोनाबाट बच्न १८ जनवरी २०२१ बाट सुरु भएको खोप अभियानमा हालसम्म २ अर्ब बढी मानिसले खोप लगाइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
भारत खोप लगाउनेमा विश्वकै दोस्रो मुलुक बनेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यति ठूलो जनसंख्याले खोप लगाएको भन्दै नागरिकहरुलाई बधाइ दिएका छन्। भारतले फेरि इतिहास रचेको बताउँदै मोदीले दुई अर्ब खोपको अंक पार गरेकोमा सबै भारतीयहरूलाई बधाइ दिएका हुन्। उनले यसलाई अद्भूत उपलब्धी भनेका छन्।
'दुई अर्ब खोपको अंक पार गरेकोमा सबै भारतीयहरुलाई बधाइ छ। भारतको खोप अभियानलाई अद्वितीय बनाउन योगदान गर्नेहरूप्रति गर्व छ। यसले कोभिड-१९ विरुद्धको विश्वव्यापी लडाइलाई बलियो बनाएको छ,' प्रधानमन्त्री मोदीले ट्वीट गरेका छन्।
केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्दाभियाले यो देशका लागि गौरवको कुरा भएको र भारतले विश्वलाई कोरोनाबाट बाहिर निस्कने बाटो देखाएको बताएका छन्।
मण्डावियाले भारतले यो स्थान हाँसिल गर्नु गौरवको कुरा भन्दै १८ महिनामा लक्ष्य हाँसिल गरेकोमा खुशी व्यक्त गरेका छन्।
१६ जनवरी २०२१ मा अग्रपंक्तिमा काम गर्ने कामदार र वृद्धवृद्धाका लागि पहिलो खोप अभियान सुरु गरिएको थियो। अभियान हालसम्म जारी छ।
२१ अक्टुवर २०२१ मा भारतमा १ सय करोड मानिसले कोरोनाविरुद्धको खोप लगाएका थिए।